Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंमा कोरोना परीक्षण गर्न कडाइ, घरधनीलाई कारबाहीको चेतावनी

काठमाडौंमा कोरोना परीक्षण गर्न कडाइ, घरधनीलाई कारबाहीको चेतावनी


काठमाडौं, असार १०
सरकारले काठमाडौं उपत्यका प्रवेश गर्नेलाई कोरोना परीक्षण गर्न कडाइ गरेको छ । जेठ ३२ गतेदेखि घोषित लकडाउन सकिएपछि असार १ गतेबाट काठमाडौं उपत्यका प्रवेश गर्नेको संख्या बढेको छ । संख्या बढेसँगै कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु जानेको भीड लागेको छ ।

काठमाडौंका कतिपय घरधनीहरुले भाडामा बस्नेहरुलाई कोरोना परीक्षणको रिपोर्ट नलिई बस्न नदिने भनेपछि कतिपय गाउँमा रोकिएका छन् भने काठमाडौं प्रवेश गरेकाहरु टेकुमा परीक्षणका लागि धाउन थालेका छन् । टेकुमा परीक्षण गर्न जानेको भीड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसरी बस्दा लक्षण देखिए मात्र परीक्षण गर्ने जनाएको छ ।

अहिले लक्षण नदेखिए पनि कोरोना परीक्षणको लहर चलेको छ । त्यही भएर टेकुमा परीक्षण गर्नेको लाइन दिनहुँ बढ्दो छ । चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा बसेपछि मात्र परीक्षण गर्ने व्यवस्था गरी त्यसलाई कडाइका साथ पालना गराउन गृह मन्त्रालयलाई भनेको छ ।

स्वास्थ्य मन्त्रालयको पत्रअनुसार गृहले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई उक्त व्यवस्था लागू गराउन निर्देशन दिएको गृहका एक अधिकारीले जानकारी दिए । काठमाडौं बाहिरबाट आउनेहरु अब १४ दिन आफ्नै घर तथा कोठामा बस्नुपर्ने छ । त्यसपछि लक्षण देखिए मात्र परीक्षणका लागि सम्पर्कमा जानुपर्नेछ ।

काठमाडौंका घरधनीहरुले कोरोना परीक्षण गर्न कोठामा बसेकाहरुलाई दबाब दिएपछि स्वास्थ्य मन्त्रालयले त्यस्तो दबाब नदिन आग्रह गरेको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले घरधनीहरुलाई दबाब नदिने आग्रह गर्दैै दबाब दिएमा कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन् । घरधनीहरुले बस्न नदिएमा भाडामा बस्नेहरुले स्थानीय प्रहरी प्रशासनलाई खबर गरेमा प्रहरीले घरधनीलाई पक्राउ गरी कारबाही गर्नुपर्नेछ । गृहले पनि दबाब दिने घरधनीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको छ ।

नेपालमा कोरोना संक्रमित दश हजार नाघ्यो: नेपालमा कोरोना संक्रमितको संख्या दश हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप एकको मृत्यु र थप ५ सय ३८ सङ्क्रमित फेला परेका छन् । दैलेख दुल्ल नगरपालिका–३ घर भएका ४५ वर्षीय पुरुषको कोभिड–१९ को कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती व्यक्तिको सुर्खेतस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारको क्रममा असार ८ गते मृत्यु भएको हो । उनी क्षयरोग र दमका बिरामी रहेका थिए ।

दैलेखको दुल्लु अस्पतलामा उपचार नभएपछि यही असार ३ गते प्रादेशिक अस्पतालमा थप उपचारका लागि पठाइएको थियो । मृतक व्यक्तिको यही असार ३ गते स्वाब सङ्कलन गरी परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो । उनीसँगै अहिलेसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ४८ पुरुष र महिला ९० जनामा सङ्क्रमण देखिएका छ । सोमबार ५ सय ३५ जनामा सङ्क्रमण देखिएको थियो । थपिएका नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ । तीमध्ये महिला ९ सय ८४ र पुरुष नौ हजार १ सय १५ जना रहेका छन् ।

प्रवक्ता डा. गौतमले विभिन्न अस्पतालबाट ७६ जनालाई घर पठाइएको जानकारी दिए । आठ महिला र ६८ पुरुष मंगलबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेसँगै डिस्चार्जको सङ्ख्या दुई हजार १ सय २४ जना रहेका छन् । तीमध्ये दुई हजार ३५ पुरुष र १ सय ८९ जना महिला रहेका छन् । डिस्चार्ज हुनेमा गोठगाउँ आइसोलेसन झापा एक पुरुष, कोशी अस्पतालबाट झापाका एक महिला र तीन पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका एक पुरुष, उदयपुरका एक महिला र तीन पुरुष, मोरङका १४ पुरुष रहेका छन् । यस्तै रामेछाप अस्पताल रामेछापबाट १३ पुरुष, साइकृष्ण आइसोलेसनबाट सप्तरीका दुई महिला र तीन पुरुष, गण्डकी अस्पतालबाट पर्साका दुई महिला र नौ पुरुष, कोभिड–१९ अस्पताल बलम्बुबाट नवलपरासीका एक महिला पनि डिस्चार्ज भई घर फर्किएका छन् ।

यसैगरी बेनी अस्पताल म्याग्दीका दुई पुरुष र धौलागिरि अस्पतालबाट बाग्लुङका तीन पुरुष, स्याङ्जा अस्पतालबाट तीन पुरुष, गोरखा अस्पतालबाट सात पुरुष, जीपी कोइराला शुक्लागण्डकीबाट दुई पुरुष पनि डिस्चार्ज भई घर फर्किएका छन् । यसैगरी ह्याम्स अस्पताल काठमाडौँबाट कास्कीका एक पुरुष, कालिका अस्पताल भिरकोटबाट स्याङ्जाका एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लमजुङका एक पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्याङ्जाका एक महिला र कास्कीका तीन पुरुष पनि डिस्चार्ज भएका छन् ।

यसैगरी अहिलेसम्म एक लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर र दुई लाख ७१ हजार ५ सय ८४ जनाको आरडीटी परीक्षण गरिएको छ । विगत २४ घण्टामा चार हजार ९ सय ९५ पीसीआर र तीन हजार ४ सय ८१ आरडीटी गरिएको छ । अहिलेसम्म ८५ हजार ८ सय १३ जना क्वारेन्टाइन र सात हजार ८ सय ५१ जना आइसोलेसनमा रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x