Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलङ्कामा ब्याजदर घट्यो

श्रीलङ्कामा ब्याजदर घट्यो


कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकले बुधबार ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको हो ।

श्रीलङ्काको केन्द्रीय बैंकले मुद्रास्फीतिअनुकूल वातावरणमा मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५ आधार अङ्कले घटाएको जनाएको छ । श्रीलङ्काले सामना गरिरहेको विदेशी मुद्रा सङ्कटको चरम अवस्थामा सन् २०२२ सेप्टेम्बरमा ७० प्रतिशतको उच्च मुद्रा स्फीतिको तुलनामा जुनसम्ममा मुद्रास्फीति एक दशमलव सात प्रतिशतमा सीमित भएको छ ।

केन्द्रीय बैंकले कठिन परिस्थितिमा आर्थिक गतिविधिको पुनरुत्थानसहित निरन्तरता दिँदै सहज मौद्रिक अवस्था जारी राख्न ब्याजदर घटाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । बैंकका अनुसार बुधबारको ब्याजदर कटौती मार्चमा ५० आधार बिन्दु कटौतीपछि आएको हो । सन् २०२२ को बाह्य ऋणको पुनः संरचना गर्ने अन्तिम चरणमा सरकारले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय निकायसँग पुनः भुक्तान सम्झौतालाई अन्तिम रूप दिएको थियो ।

गतवर्षको दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आएको बैंकले जनाएको छ । यसैगरी वर्षको पहिलो तीन महिनामा पाँच दशमलव चार प्रतिशतले आर्थिक वृद्धि भएको र दोस्रो त्रैमासिकमा बलियो विस्तार भएको जानकारी बैंकले दिएको छ । सन् २०२२ भएको सात दशमलव तीन प्रतिशतको ब्याज दर वृद्धिको रेकर्डपछि गतवर्ष अर्थतन्त्र दुई दशमलव तीन प्रतिशतले सङ्कुचित भएको थियो । महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई राजीनामा दिन बाध्य तुल्याएको थियो ।

उनका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दुई दशमलव नौ अर्ब डलरको सहयोग प्राप्त गरेपछि राजस्व बढाउन कर दोब्बर, उदार ऊर्जा अनुदान कटौती र आवश्यक वस्तुको मूल्य बढाएका थिए ।

श्रीलङ्काले सफलतापूर्वक आफ्नो विदेशी ऋणको पुनर्संरचना गरेपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारसहित श्रीलङ्कामा रोकिएका पूर्वाधार परियोजनाका लागि जापानले पुनः आर्थिक सहयोग सुरु गरेको छ । दुई वर्षअघि अभूतपूर्व आर्थिक सङ्कटका बेला श्रीलङ्काले ४६ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्दा जापानलगायत द्विपक्षीय ऋणदाताहरूले परियोजना कोषमा कटौती गरेका थिए ।

‘जापान निलम्बित परियोजनाहरूका लागि आर्थिक सहयोग पुनः सुरु गर्ने पहिलो मुलुक बनेको श्रीलङ्काका लागि जापानका राजदूत हिदेकी मिजुकोशीले जानकारी दिएका छन् ।

श्रीलङ्काको वित्त मन्त्रालयका एक अधिकारीका अनुसार जापानले आगामी साताहरूमा कोलम्बो विमानस्थलको विस्तारसहित कोलम्बोको सार्वभौम ‘डिफल्ट’पछि निलम्बित ११ परियोजनाहरूका लागि करिब सात करोड ५० लाख डलरको पहिलो किस्ता जारी गर्नेछ । श्रीलङ्कामा जापानी ऋणको पोर्टफोलियो दुई अर्ब ३० करोड अमेरिकी डलर पुगेको बताइएको छ । जापान श्रीलङ्काका लागि चीनपछि दोस्रो ठूलो द्विपक्षीय ऋणदाता हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x