Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, नौ महिना कैद सजाय

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, नौ महिना कैद सजाय


सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चले जोशीलाई दोषी ठहर गर्दै ६९ लाख १५ हजार रुपैयाँ जरिबाना र नौ महिना कैद सजाय तोकेको छ । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उक्त फैसला गरेको हो । न्यायधीशद्वय शर्मा र ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि साउन १३ गते फैसला सुनाउने समय तोकिएको थियो । मुद्दामा ४८औँ पेसीपछि आइतबार फैसला भएको हो ।

यसअघि विशेष अदालतले जोशीविरुद्ध दुई करोड १६ लाख १४ हजार तीन सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरी बिगो र जरिबानाले हुने यसको दोब्बर रकम असुल गर्नुपर्ने र डेढ वर्ष कैद सजायको फैसला गरेको थियो । सर्वोच्चले विशेषको सजायमा केही उल्ट्याउँदै जरिबाना र सजाय कम गरेको छ । जोशीले विशेषको फैसलाविरुद्ध, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । उनले पदमा रहँदा पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेकोमा अहिले सर्वोच्चले पनि विशेषको फैसलालालई नै निरन्तरता दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले २०६० पुस १८ मा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जोशीका साथै उनका परिवारका सदस्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

सुरुमा जोशीलाई विशेष अदालतले हदम्याद कटाएर ढिलो गरी मुद्दा दायर गरेको भन्दै सफाइ दिएको थियो । मुद्दाको तथ्यमै प्रवेश नगरी प्राविधिक आधारमा सफाइ दिने विशेषको फैसला नमिलेको भन्दै सर्वोच्चले पुनः फाइल हेर्न भनी फर्काइदिएको थियो । त्यसपछि अदालतको मुद्दाको तथ्यभित्र रही बहस गर्दै जाने क्रममा उनलाई भ्रष्टाचार दोषी ठहर गरी जरिबाना र कैद तोकेको थियो । जोशी २०४८ सालेदखि २०५९ सालसम्म विभिन्न सरकारी÷सार्वजनिक पदमा रहँदा स्रोत खुल्न नसकेको दुई करोड १६ लाख रुपैयाँबराबरको सम्पत्ति आर्जन गरेका थिए । विभिन्न उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न भन्दै तत्कालीन सरकारले सर्वोच्च अदालतका न्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा आयोग गठन गरेको थियो ।

सो आयोगले जोशीलगायतका सम्पत्तिमाथि विस्तृत अनुसन्धान गर्नुपर्ने प्रतिवेदन तत्कालीन सरकारलाई दिएको थियो । सोही प्रतिवदेनमा आधारमा अख्तियारले जोशीको सम्पत्तिको अनुसन्धान थालेको हो । अख्तियारले गरेको अनुसन्धानबाट उनले गैरकानुनी तवरबाट अकुत सम्पत्ति आर्जन गरेको खुल्न आएको थियो । जोशीको मुद्दामा प्रतिवादी बनाइएका ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका छन् । विशेष अदातले पाण्डे र पन्तलाई छ÷छ महिना कैद सजाय सुनाएको थियो भने दुवैजनाबाट ६६ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । विशेष अदालतमा फैसला गर्दा अध्यक्षमा न्यायाधीश गौरबहादुर कार्की र सदस्यमा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x