उपभोक्ताले अपनाउनुपर्ने सजगता
काठमाडौं । ‘नेपालको कानुन दैवले जानून्‘ भन्ने उखान अर्थात् भनाइ धेरै पहिलेदेखि नै प्रचलनमा छ । नेपालीहरू कानुन उल्लङ्घन गर्नेमा विश्वमा कतिऔँ नम्बरमा पर्छन्, त्यो त यकिनका साथ भन्न सकिँदैन । ट्राफिक चोक आउनैलाग्दा सवारी चालकले हत्तपत्त सिटबेल्ट लगाइहाल्ने र ट्राफिक चोक पार भइसकेपछि फेरि बेल्ट फुकाल्ने गरेको त हामीहरूले धेरैपटक देखेका छौँ । यो एउटा ज्वलन्त उदाहरण मात्र हो नियम, कानुन उल्लङ्घनको । यहाँ गाडीवाला व्यवसायी र यात्रुहरू उपभोक्ता हुन् भन्दा पनि फरक पर्दैन । देशमा अवैध किसिमबाट विभिन्न व्यवसायहरू पनि चलेकै छन् यहाँ । प्रबन्धपत्रमा उल्लेख नभएका कामहरू गर्ने कम्पनीहरूको पनि कमी छैन नेपालमा । शैक्षिक परामर्श दिनका लागि दर्ता भएका एजुकेसनल कन्सल्टेन्सीहरूले म्यानपावरको काम गरिरहेका प्रशस्त उदाहरणहरू भेटिन्छन् । स्कुटरको ब्रेकसुमा र भेपमा सुन ल्याउने काम भइरहन्छन् । तस्कर, भन्सारका कर्मचारी र एजेन्टहरूको मिलेमतोमा अनेक तरिका र विधि अपनाएर त्यस्ता तस्करीका कामहरू कति हुन्छन् कति । कुरा नमिल्दा मात्र छताछुल्ल हुने गरेको पाइन्छ ।
सरकारले खडा गरेको अनुगमन निकायको नजर नपरेका अवैध व्यावसायिक गतिविधिहरू गर्ने संस्था तथा व्यक्तिहरू हाम्रो मुलुकमा धेरै छन् । यसको एउटा ज्वलन्त उदाहरण हो व्यवसायीहरूले म्याद नाघेका उपभोग्य सामानहरू उपभोक्तालाई भिडाउनु । संघीय राजधानी काठमाडौंमै म्याद नाघेका कतिपय सामग्रीहरू उपभोक्तालाई बिक्री वितरण गर्ने गरेको पाइन्छ भने राजधानीबाहिर के हालत होला ? यसरी म्याद नाघेका सामानहरू बिक्री गर्नुभनेको कानुन उल्लङ्घन गर्नु र उपभोक्ता हक हितमा प्रहार गर्नु हो । उत्पादन मिति र उपभोग सीमा मिति उल्लेख नभएका कैयन उपभोग्य वस्तुहरू सहर बजारका पसलहरूबाट बिक्री हुँदै आएको पाइन्छ । आँखा चिम्लेर किनिहाल्ने बानी नेपाली उपभोक्ताहरूमा अझै पनि कायम छ । समय परिवर्तनसँगै चेतनास्तर बढ्नुपर्नेमा नेपालीहरूमा त्यस्तो भएको पाइँदैन । सुपर मार्केटमा बिक्री नभएर म्याद नाघेका सामग्रीहरू रातारात बाहिरिने र पुनः प्याकिङ गरेर नयाँ मिति राखेर साना पसलहरूमा पठाइने गरेको समाचार सञ्चारमाध्यमहरूबाट नआएका पनि होइनन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरेर अस्पतालकै सामुन्नेको ठूलै आकारको एउटा औषधि पसलबाट औषधि किन्दा यो लेखकको हातमा म्याद सकिनै लागेको औषधिहरू हातमा परेको थियो । मैले तुरुन्तै सञ्चालकलाई प्रतिक्रिया जनाएपछि सो औषधि तत्कालै डस्टबिनमा फालिएको थियो । स्नातकोत्तरसम्म अध्ययन गरेको र सरकारी कार्यालयको प्रमुख समेत भइसकेको एक सचेत नागरिक तथा विकृति, विसंगतिको विरुद्धमा कलम चलाउने एक लेखकको हातमा त यस्ता म्याद नाघेका औषधि पर्छन् भने अरू सर्वसाधारण उपभोक्ताहरूको त झन् के कुरा गर्नु र ? नेपालकै ठूलो विश्वविद्यालयले सञ्चालन गरेको देशकै एउटा ख्यातिप्राप्त अस्पताल छेउछाउमा रहेका औषधि व्यवसायीको त यस्तो लापरवाही गरेको देखिन्छ भने काठमाडौंबाहिरका साना सहरहरूमा सञ्चालित औषधि पसलहरूका सञ्चालकहरूले के गर्लान् ? जिल्ला सदरमुकाम तथा साना बजारहरूमा सञ्चालित औषधि पसलेहरूले अझ के गर्लान् ?
जिल्लामा सञ्चालित औषधि पसलवालाले छोटो अवधिमै करोडौंको सम्पत्ति जोडेका उदाहरण धेरै भेटिने गरेका छन् । म्याद नाघेका औषधि र अनावश्यक शक्तिवद्र्धक सामानहरू पनि उपभोक्ता अर्थात् बिरामीहरूलाई भिडाउने सिलसिला रोकिने छाँटकाँट देखिँदैन । किनकि निरीक्षण र अनुगमन गर्ने हाम्रो देशको संयन्त्र निकै फितलो र कमजोर छ । औषधि पसल दर्ता हुँदाका बखत प्रबन्धपत्रमा उल्लेख नभएका कार्यहरू समेत गर्नेगरेको पाइन्छ । कतिपय बिरामीहरू राजधानीमा आएर थोरै खर्चमा स्तरीय उपचार गराउन चाहन्नन्, पायक पर्ने साना सहरहरूमा नै अल्मलिने गरेको पाइन्छ । राजधानी काठमाडौंमै नक्कली डाक्टरहरू समातिने गरेका छन् भने काठमाडौंबाहिर के होला ? यसतर्फ सरकारले निरीक्षण र अनुगमनको दायरालाई फराकिलो बनाई जनस्वास्थ्यका लागि ध्यान दिनु आवश्यक छ ।
बसपार्क, कलंकी, नागढुंगामा झोले व्यापारीहरूले बसको झ्यालबाटै वा बसको ढोकाबाट भित्र छिरेर बिक्री गर्ने गरेका पुष्टकारी, गुँदपाक, दालमोठ, कुरकुरेलगायतका खाद्य सामग्रीहरू बिक्री गर्ने काम वर्षौंअघिदेखिको हो । यस्ता वस्तुहरू सचेत नागरिक वा यात्रुहरूले सितिमिति खरिद गर्दैनन् । तैपनि बिक्री भइरहेको पाइन्छ । उनीहरूको व्यापार निर्वाधरूपमा चलिरहेको हुन्छ । त्यस्ता खाद्यवस्तुहरूको प्याकेटमा उत्पादित मिति र उपभोग गर्न सकिने मितिको सीमा उल्लेख छ÷छैन हेरिँदैन । यसतर्फ कतिपय उपभोक्ताहरको ध्यान जानेगरेको पाइँदैन । सहर बजारका कतिपय पसलहरूमा समेत म्याद नहेरि सामान खरिद गर्ने बानी बसेको छ हामी उपभोक्ताहरूको ।
अहिले गाउँगाउँमा पनि जंकफुडको चलन आएको छ । गाउँमा रहेका साना बजारमा पनि फास्टफुड, रेस्टुरेन्टका साइनबोर्डहरू पनि देखिन्छन् । घरमा बनेको रोटीमा भन्दा उपभोक्ताहरूको ध्यान त्यस्तै पसलहरूमा बनेका परिकारहरूमा जानेगरेको पाइन्छ । पसलमा चटपटे र पानीपुरी पाएपछि बालबालिकाहरू घरमा बनेका रोटी र मकै एवं भटमासतिर ध्यान जानछोडेको छ । जुन दुःखको कुरा पनि हो । किनकि आफ्नै बारीको उत्पादनलाई बेवास्ता गरेर स्वास्थ्यका लागि खासै लाभदायक नभएका खाद्यवस्तु उपभोग गर्नु उपयुक्त हुँदैन ।
अहिले सहरका घरका दैलोदैलोमा पुगेर भर्खरका किशोर÷किशोरीहरूले आयुर्वेदिक सामग्रीहरू बिक्री गर्नेगरेको पाइन्छ । महंगो खालका लाग्ने ती वस्तुहरूको गुणस्तरका बारेमा उपभोक्ताहरूलाई खासै जानकारी हुँदैन । आयुर्वेदिक भनेपछि विश्वास गरिहाल्ने बानी नेपालीहरूमा विद्यमान छ । ती किशोर किशोरीहरूले कम्पनीले ती किशोर÷किशोरीहरूलाई ‘कम्पनीले हामीलाई मूल्याङ्कन नम्बर थपिदिने हुँदा हामीलाई सहयोग गरिदिनुस्’ बिक्री गर्न लगाएको देखिन्छ । त्यसैले उनीहरूले ढोकाढोकामा सामान बेच्ने गरेको पाइन्छ । उनीहरूले सामान बिक्री गरेबापत बिल दिन्छन् । बिलमा स्थायी लेखा नम्बर पनि देखिन्छ । सामानको प्याकेट पनि आकर्षक नै देखिन्छन् । तर त्यस्ता वस्तुहरूको गुणस्तरमा हामीले ध्यान दिँदैनौँ । उत्पादक कम्पनीको वैधानिकतामाथि प्रश्न पनि उठाउँदैनौँ, सामान किनेर उपभोग गर्नेतिर लाग्छौँ ।
बजारमा पाइने बेसारमा काठको धुलो मिसाइने कुरा पनि बेलाबेलामा समाचार नआएका होइनन्, त्यस्तै तयारी मसलाहरूमा के–के मिसाइएको हुन्छ र ? थाहा हुँदैन । त्यस्ता मसलाहरू स्वास्थ्यका लागि लाभदायक हुन्छन् भन्नेमा शंका नै हुन्छ । घरमा आफैँ मसला बनाउने झन्झटले गर्दा कतिपय उपभोक्ताहरूले सजिलोका लागि तयारी मसलाहरू किन्नेगरेको पाइन्छ ।
ब्रान्डेड मदिराको नक्कल गरेर बजारमा बिक्री गर्ने गरेको समाचार पनि बेलाबेलामा नआएका होइनन् । मदिरा आफैँमा स्वास्थ्यका लागि त हानिकारक छँदैछ, त्यसमाथि नक्कली पर्यो भने उपभोक्ताको स्वास्थ्यमा के असर पर्ला ? सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ यसतर्फ उपभोक्ता पनि सजग रहनुपर्छ । भोक लाग्यो भन्दैमा किन्नेबित्तिकै मिति नै नहेरी हतार गरेर बिस्कुटलगायतका खाद्यवस्तुका प्याकेटहरू खोलेर मुखमा हाल्नु चेतनशील उपभोक्ताको काम हुन सक्दैन । उपभोक्ताहरूले चाउचाउ, बिस्कुट, दालमोठ, चकलेट, आइसक्रिम, पाउरोटी, दूध, दही, घिउको बट्टा वा प्याकेटबाहिर उल्लेख भएको उत्पादित मिति र उपभोग गर्न सकिने गरी तोकिएको मिति अवश्य पनि हेर्नुपर्छ र यकिन गरेर मात्र उपभोग गर्नुपर्छ ।
सहर बजारमा पाइने पानीका जारहरूमा भरेर बिक्री गरिने पिउने पानीका उद्योगहरूमा नियामक निकायले बेलाबेलामा जाँच गर्ने, कैफियत देखिएमा सिल गर्ने, चेतावनी दिने, जरिवाना गर्ने काम नियमितरूपमा गर्नुपर्छ । कहिलेकाहीँ मात्र अनुगमन र निरीक्षणका काम गर्ने काम गैरजिम्मेवारी काम हो । सरकारले उपभोक्ताको हितमा जोड दिनु जरुरी हुन्छ । त्यसका लागि कर्मचारीहरूबाट झारा टार्ने काम गरिनुहुँदैन । विश्वास गरिएको र नाम चलेको सरकारी संस्थान दुग्ध विकास संस्थानमा समेत बेलाबेलामा कैफियत देखिने गर्छ । संस्थानको मात्र होइन निजी डेरीका उत्पादनहरूमा समेत सरकारले बेलाबेलामा ध्यान दिनु, परीक्षण गर्नु, कैफियत देखिएमा चेतावनी दिनु, जरिवाना गर्नु आवश्यक छ । किनकि सरकारले आँखा चिम्लिदिँदा कतिपय व्यवसायीहरूले जानाजान लापरवाही गर्दै उपभोक्ताहरूको स्वास्थ्यमा खेलवाड गर्नसक्छन् । पैसा नै सबथोक होइन भन्ने कुरा मनन् गर्नु कुनै पनि कम्पनी, उद्योग र व्यवसाय सञ्चालन गर्ने सञ्चालक, व्यवस्थापक, प्रबन्धक र कर्मचारीहरूको दायित्व हुन आउँछ ।
अन्त्यमा उद्योगी, कम्पनी सञ्चालक र व्यवसायीहरूले जनस्वास्थ्यलाई हानि हुने किसिमका गतिविधिहरू गर्नुहुँदैन । सरकारले पनि समयसमयमा यस्ता उद्योगी, कम्पनी सञ्चालक र ब्यवसायीहरूलाई सम्झाउनु र उनीहरूसँग समय–समयमा अन्तक्र्रिया गर्नु जरुरी छ । सरकारले नेपाल उद्योग वाणिज्य संघ र अन्य संघसंस्थाहरूसँग समन्वय गरेर उपभोक्ताको हितमा कामहरू गर्नुपर्छ । निम्नस्तरका उत्पादनहरू सस्तो भए पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यो कुरा उपभोक्ता स्वयंले पनि जान्नु र बुझ्नुपर्छ । गुणस्तरहीन खाद्यवस्तु उपभोगका कारण उपभोक्ताहरू बिरामी परेमा अस्पताल धाउनु, रोग निदानका लागि प्रयोगशालामा थप रकम व्यहोर्नु र औषधिका लागि खर्च गर्नु राम्रो कुरा होइन । उपभोक्ता पनि आफू सजग रहनुपर्छ, सरकारको मात्र भर परेर हुँदैन । तसर्थ गुणस्तरीय वस्तु उपभोग गरौँ, मिति हेरेर मात्र सामानहरू खरिद गरौँ, उपभोग्य सामग्रीहरूलाई धेरै समयसम्म भण्डारण नगरौँ, तोकिएको मितिभित्र उपभोग्य वस्तु प्रयोग गरौँ, सजगता नअपनाउँदा र सस्तो हो भन्दैमा गुणस्तरहीन सामग्री खरिद नगरौँ । त्यस्ता वस्तुहरूले प्रयोगले स्वास्थ्यमा हानि हुन्छ । भनिन्छ– ‘सस्तो बेसाले पेट दुख्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया