राहुघाट जलविद्युत् आयोजनाः मुख्य सुरुङको ‘ब्रेक थ्रु’
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको छ हजार दुई सय ७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको हो ।
रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । सो सुरुङमार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) खण्डीकृत गरी ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ । रघुुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अघेरीखोलाको अडिट नं २ जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमा संयुक्तरूपमा ‘स्विच’ थिचेर बिस्फोट गराई ‘ब्रेक थ्रु’ गरेका हुन् । अडिट १ बाट आठ सय ७५ र अडिट २ बाट एक हजार चार सय ५८ मिटर सुरुङ निर्माण भएको हो । गत फागुनमै जोडिएको तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नं अडिटको सुरुङलाई लाइनिङ (प्लास्टर) गर्ने काम भइरहेको छ । गाउँपालिका अध्यक्ष भण्डारीले राहुघाटको मुख्य काम सुरुङ निर्माण भएकामा खुसी व्यक्त गर्दै आयोजना निर्माणमा सहजीकरण एवं समन्वय गरेको बताए ।
रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिमविन्दु)देखि तिल्केनीचौरमा निर्माणाधीन विद्युत् गृहमा पानी खसाल्ने पाइपलाइन राख्ने एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट सुरुङ गत जेठ महिनामा जोडिएको थियो । मुख्य सुरुङबाट आउने पानीलाई विद्युत् गृहमा लैजाने पाइपलाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण सकिएको छ । जलविद्युत् आयोजनामा सुरुङ निर्माण कार्यलाई प्राविधिकहरूले प्रमुख उपलब्धिका रूपमा लिने गर्छन् । सुरुङ ब्रेक थ्रु भएकोमा प्राधिकरण, प्रवर्द्धन, निर्माण कम्पनी, परामर्शदाता तथा जनप्रतिनिधिहरूले खुसियाली व्यक्त गरेको छन् । यसरी सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै सिभिलतर्फ आयोजनाको ६० प्रतिशत काम सम्पन्न आयोजना प्रमुख राजबहादुर विष्टले जानकारी दिए ।
सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७६ असार ८ गते पिप्लेस्थित अडिट नं ३ बाट सुरुङ निर्माण थालेको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी–पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको थियो । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाएको छ । सो आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ २५ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी)बमोजिम राहुघाट जलविद्युत् आयोजना निर्माणअघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना २०७० सालमा सम्पन्न हुनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएको सो जलविद्युत् आयोजनालाई आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ । उक्त गाउँपालिका–४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण भइरहेको छ ।
बेनी–जोमसोम–कोरला सडकको घुमाउने तालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत् गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । सिभिल ठेकेदार जेपीका आयोजना प्रमुख हरिश अग्रवालले अब एक वर्षभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको बताए ।
क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया