Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअधिकांश स्थानीय तहले बजेट ल्याए

अधिकांश स्थानीय तहले बजेट ल्याए


काठमाडौं, असार ११
सात सय ५३ मध्ये अधिकांश स्थानीय तहले बिहीबार आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याएका छन् । संविधान अनुसार संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याएका थिए । स्थानीय तहले पनि असार १० गतेबाट बजेट ल्याउन थालेका हुन् ।

बजेटमा आफ्ना कुरा नपरेको भन्दै केही स्थानीय तहमा जनप्रतिनिधिबीच नै विवाद भएको छ । रौतहटको बृन्दावन नगरपालिकाकी उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिस्कार गरेकी छिन् । नगर प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले आफूसँग विना सल्लाह गरी बलपूर्वक नगरसभा गर्न लागेको भन्दै उनले नगरसभा बहिष्कार गरेकी हुन् । अन्य जिल्लामा पनि बजेटको विषयमा छिटफुट विवाद भने भएको छ ।

काठमाडौं उपत्यकामा सबै स्थानीय तहले बजेट ल्याएका छन् । महानगरपालिकामध्ये सबैभन्दा ठूलो अंकको बजेट काठमाडौं महानगरपालिकाले ल्याएको छ । अरुले चार अर्बको बजेट ल्याउँदा काठमाडौंले १४ अर्बको ल्याएको छ । अधिकांश स्थानीय तहको आम्दानीको स्रोत नै कमजोर रहेको कारण केन्द्र र संघबाट पाएको बजेटलाई मुख्य आधार मानेर बजेट बनाएका हुन् ।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अुनमानित बजेट ल्याएको छ । महानगरपालिकाले सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ५१ दशमलव ३४ प्रतिशत हो । महानगरपालिकाले सामाजिक विकासमा २ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै, महानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख तथा आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख विनियोजन गरेको छ । सशर्त अनुदानअन्तर्गत २ अर्ब ५७ करोड ५१ लाख पाँच हजार विनियोजन गरेको छ ।

कुल बजेटमध्ये महानगरले अन्तरिक स्रोतबाट छ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने अनुमान गरेको छ । यो कुल आम्दानीको ४१ प्रतिशत हो । त्यसैगरी बाह्य स्रोततर्फ निःशर्त अनुदानबाट एक अर्ब ४२ करोड ४८ लाख ९५ हजार, सशर्त अनुदानबाट दुई अर्ब ५७ करोड ५१ लाख पाँच हजार, सामाजिक सुरक्षाभत्ताबापत एक अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड आठ लाख २६ हजार गरी कुल छ अर्ब १६ करोड आठ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । कुल आम्दानीमा नपुग हुने रकम तीन अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने प्रस्तुत बजेटमा उल्लेख छ । महानगरपालिकाले आन्तरिक स्रोतबाट छ अर्ब ७६ करोड ६५ लाख, व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट छ करोड र शुल्क आयबाट एक अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ ।

पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७/७८ का लागि छ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा चालू खर्चतर्फ तीन अर्ब २० करोड ८४ लाख र पुँजीगत खर्चतर्फ दुई अर्ब ९८ करोड ८८ लाख रहेको छ । रौतहटको आठ नगरपालिका र दुई गाउँपालिकाको नगरसभा तथा गाउँसभा सम्पन्न भएको छ । जिल्लाको १८ स्थानीय तहमध्ये आठ नगरपालिका र दुई गाउँपालिका गरी १० वटा स्थानीयतहको नगर तथा गाउँसभा सम्पन्न भएको हो ।

धनगढी उपमहानगरपालिकाको पाँचौँ नगरसभाले उपमहानगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट तथा नीति कार्यक्रम नगरसभामा प्रस्तुत भएको छ । चालू खर्चतर्फ ८५ करोड र पुँजीगत खर्चतर्फ ७८ करोड ८२ लाख रहेको जनाइएको छ ।

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८को लागि चार अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ को बजेट प्रस्तुत गरेको छ । १० वटा वडालाई कृषि पकेट क्षेत्रका रुपमा घोषणा गर्ने भएको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आज आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं १८, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा उक्त पकेट क्षेत्र घोषणा गर्ने जानकारी गराए ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट ल्याएको छ । पुँजीगततर्फ नगर, वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि एक अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ ६६ करोड २० लाख ६४ हजार विनियोजन गरिएको छ । पुँजीगतर्फ ७२ प्रतिशत र चालुतर्फ २८ प्रतिशत विनियोजन गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x