फोहोरलाई मोहोरमा बदल्ने तरिका
काठमाडौं । फोहोर, फोहोर मात्र होइन, जानेको खण्डमा यो मोहोर हो । साँच्चै नै फोहोरलाई मोहोरको रूपमा रूपान्तरण गर्ने हो भने यसको लागि व्यवस्थापन कार्य सही हुनुपर्छ । सहीरूपमा फोहोरलाई व्यवस्थापन गर्नसके वरपरको वातावरण त सफा हुने नै भयो, यसमा संलग्न व्यक्ति तथा संस्थाहरूको लागि दिगो आम्दानीको स्रोत पनि बन्न सक्छन् ।
अहिले प्रत्येक टोल, वडा, नगर र महानगरहरूमा फोहोर संकलन तथा व्यवस्थापन गर्नका लागि विभिन्न संघसंस्थाका प्रतिनिधिहरू खटिएका छन् । तर उनीहरूको कार्य भनेको फोहोर संकलन गरेबापत मासिकरूपमा रकम उठाउने र संकलन गरेको फोहोर कुनै क्षेत्रमा लगेर पुर्ने अथवा अन्य कुनै माध्यमबाट व्यवस्थापन गर्ने मात्र रहेको छ । आजको दिनसम्म पनि फोहोर व्यवस्थापन कार्यमा संलग्न रहेका विभिन्न संघसंस्थाहरूले प्रभावकारीरूपमा फोहोरको व्यवस्थापन गर्न सकेका छैनन् । अर्थात् भनौँ फोहोरलाई सहीरूपमा मोहोरमा रूपान्तरण गर्न सकेका छैनन् । जसले गर्दा उपत्यकाको फोहोर व्यवस्थापन कार्य दिन दुई गुणा रात चौगुणा जटिल बन्दै गएको छ । अहिले फोहोर व्यवस्थान गर्नेभन्दा पनि फोहोरको नाममा राजनीति गर्ने एउटा समूह अर्थात् भनौँ एउटा तप्का हाबी हुँदै गएको छ । त्यो समूहले समुदायको नाम दिएर फोहोरमा नै राजनीति गरी आफ्नो स्वार्थ सिद्ध गर्दै आएको छ ।
नेपालमा फोहोरलाई दुई भागमा छुट्याइने गरेको छ । त्यसअन्तर्गत जैविक फोहोर भन्नाले कुहिने गल्ने काम नलाग्ने फोहोरहरू यसअन्तर्गत पर्छन् भने अजैविक फोहोरअन्तर्गत नकुहिने नगल्ने नसड्ने र काम नलाग्ने फोहोरहरू आउने गर्छन् ।फोहोरमैला व्यवस्थापन ऐन २०६८ मा उल्लेख गरिएअनुसार घरेलु फोहोरमैला औद्योगिक फोहोरमैला, रासायनिक फोहोरमैला, स्वास्थ्यसंस्थाजन्य फोहोरमैला, हानिकारक फोहोरमैलाजस्ता विभिन्न प्रकारका फोहोरमैलाहरूको वर्गीकरण गरिएका छन् । सहरी क्षेत्रहरूमा फोहोरमैलाको राम्रोसँग व्यवस्थापन नगरिनाले सूक्ष्म प्रकारका हानिकारक जीवहरूको वृद्धि, लामखुट्टे, झिंगा र मुसाको संख्यामा वृद्धि, खानेपानी प्रदूषण, वायुप्रदूषण, नदी खोलानाला, तालतलैया प्रदूषित हुनु जल प्रदूषण, भूमि प्रदूषण, मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्छन् ।यसका साथसाथै सरुवा रोगहरूको फैलावट प्राकृतिक सुन्दरता नष्ट हुनु, प्राणी जगतको स्वास्थ्यमा नकारात्मक असर पार्नु, वातावरणीय प्रदूषण बढ्दै जानु, जीव तथा वन्यजन्तु समेत लोप हुँदै जान्छन् । त्यसकारण सहरी क्षेत्रहरूमा जम्मा हुने फोहोरमैलाहरूको उचित तरिका तथा दिगोरूपले निराकरण गरिनु अतिनै आवश्यक रहेकोछ । हाम्रो वरपररहेका प्राण वायुमा एक वा एकभन्दा बढी तत्वहरूजस्तै हानिकारक ग्यासहरू, रासायनिक ग्यासहरू र सूक्ष्म कर्णहरू मिसिन गई मानव स्वास्थ्यमा नकारात्मक असर पार्नेगरी हुने प्रदूषणलाई हामी वायु प्रदूषण भन्दछौँ । हामी करिब ९० प्रतिशत समय घर, गाडी वा कार्यालयभित्र बिताउँछौँ वायु प्रदूषणका कारण विश्वमा करिब ४० लाख मानिसले ज्यान गमाउने गर्छन् । विश्व स्वास्थ्य संगठनको निर्देशिकाभन्दा हाम्रो घर–अफिस वरपर र आकाशको वायु प्रदूषण धेरै गुणाले बढी छ ।
नेपालमा फोहोरमैला व्यवस्थापन गर्दा फोहोरमैला संकलन प्रक्रिया अपनाउने, फोहोरमैला ढुवानी गर्ने फोहोरमैलाको प्रयोग, पुनः चक्रीय प्रयोग वा पूरा प्रशोधन गर्ने, फोहोरमैला विसर्जन र व्यवस्थापन गर्ने, फोहोरमैला न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने, फोहोरमैला व्यवस्थापनमा संलग्न निकायहरू र नागरिक समाजबीच उचित समन्वय हुनुपर्छ । विभिन्न स्रोतहरूबाट थुपारिएको फोहोरलाई उचित समयमा र स्थानमा थन्काउने कार्यालयलाई फोहोर व्यवस्थापन गर्नुपर्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय निकायलाई दिए पनि ती निकायहरूले जिम्मेवारी पूरा नगरेकाले उनीहरूलाई नै पूरा जिम्मेवारी तथा उत्तरदायित्व बहन गराउने वातावरण तयार गरिनुपर्छ । फोहोरमैलालाई संकलन, स्थानान्तरण र प्रबन्ध व्यवस्थित किसिमबाट गर्नुको साथै फोहोरमैला उत्पादन हुने ठाउँमा नै कुहिने नै कुहिने र घातुगत गरी छुटयाई संलग्न गर्नुपर्छ । पुनः प्रयोगमा ल्याउन सक्ने वस्तुको प्रशोधन गरी प्रयोगमा ल्याउनुको साथै प्लास्टिक पोलिथिनका सामानलाई संकलन गरी कच्चा पदार्थको रूपमा प्रयोग गर्नु आवश्यक छ ।
फोहोरमैलाबाट मल निर्माण गर्न गाई वस्तुको मलमूत्र र जैविक फोहोरमैला मिलाई प्राङ्गारिक मल बनाउनका साथै यस्तो मल खेतीबालीमा प्रयोग गर्न लगाएमा राम्रो हुनेछ । यसको साथसाथै समय–समयमा फोहोर राख्ने भाँडाकुडा सफा गर्ने र ठाउँठाउँमा फोहोर राख्ने बाकसहरूको समेत व्यवस्था गर्नुपर्छ । अर्को कुरा तरल पदार्थ करेसाबारीमा प्रयोग गर्ने खाल्टो खनेर पुर्ने आगोमा डढाउने, सेफ्टी ट्याङ्कीको व्यवस्था गर्ने दण्ड जरिवानलाई उचित किसिमले कार्यान्वयन गर्नेजस्ता कार्यहरू पनि गर्न गराउनु आवश्यक भएको छ ।
फोहोरमैला संकलन गरिएका भाडाहरू विभिन्न चराचुरुङ्गी तथा जनावरबाट सुरक्षित राख्नुको साथै संकलित फोहोरमैलालाई सजिलै यताउता सार्न सकिने र व्यवस्थागर्ने फोहोरमैलालाई निश्चित स्थानमा फाल्ने व्यवस्थागर्ने, फोहोरमैलालाई जैविक र अजैविक गरी छुट्याउने व्यवस्था मिलाउने कार्यहरू गरिनु आवश्यक छ । फोहोरमैलाबाट जनस्वास्थ्यमा पर्ने असरबारे जनचेतना जगाउनुपर्छ । सहरीकरणलाई व्यवस्थित गरी ढल, फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्ने फोहोरमैला व्यवस्थापन सम्बन्धमा भएका ऐन, नियम अन्तर्राष्ट्रिय महासन्धिको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने ऐन नियमअनुसार नगर्नेलाई कारबाही गर्नुपर्छ । यसका साथै घरेलु भान्साको फोहोरबाट घरघरमा मल उत्पादन गर्ने, जल्ने फोहोरलाई सुरक्षित ठाउँमा जलाउने, कौसी खेतीलाई प्राथमिकता दिनेजस्ता कार्यहरू सम्पादन गरिनु आवश्यक छ ।
ढल निकास र त्यसको प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुको साथै फोहोरमैला व्यवस्थापनको जिम्मा नगरपालिकाको मात्र हो भन्ने गलत सोचाइमा परिवर्तन ल्याई निजी क्षेत्र समेतको संलग्नतामा फोहोरमैलाको उचित व्यवस्थापन गरिनुपर्छ । अर्को कुरा उचित स्थानमा पूर्वाधारसहितको ल्यान्डफिल्ड साइटको व्यवस्था गरिनुको साथै उपयोग, कलकारखाना तथा अस्पतालबाट निस्कने फोहोर जथाभावी नफ्याँकी प्रशोधनपश्चात् मात्र डम्पिङ गरिएमा अझ राम्रो हुनेछ । फोहोरमैला व्यवस्थापनमा राजनीतिक प्रतिबद्धता हुनुका साथै फोहोरलाई मोहोरमा रुपान्तरण गर्नका लागि जनचेतनाको अभिवृद्धि गर्नुपर्छ । फोहोरको प्रकृतिअनुसार फोहोर वर्गीकरण गरी प्रशोधन तथा पुनः प्रयोग गरिनुपर्छ । फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गर्ने निकायलाई पुरस्कृत गरी हेलचेक्र्याइँ गर्नेलाई कारबाही गरिनु आवश्यक छ । सहरी क्षेत्रहरूको ठाउँठाउँमा सार्वजनिक शौचालयको व्यवस्था गरिनुपर्छ र फोहोरमैला व्यवस्थापनसम्बन्धी पूर्णरूपले कानुनको पालना गराउनुपनि नगरपालिका र स्थानीय निकायको महत्वपूर्ण जिम्मा लिनुपर्छ ।
नेपालको संविधान २०७२ ले अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने तथा योजनाबद्ध र व्यवस्थित बस्ती विकास गर्ने नीतिगत व्यवस्था गरेको छ । सहरमा सेवा, सुविधा र अवसरहरू बढी हुने भएकाले मानिसहरूको स्वाभाविक आकर्षण सहरतर्पm हुनेगर्छ । यसको परिणामस्वरूप सहरमा उपलब्ध सीमित आर्थिक–सामाजिक र भौतिक पूर्वाधार सेवाहरूमा अतिरिक्त चाप पर्न गएको छ । सहरको भौगोलिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक, आर्थिक पक्षहरू विश्लेषण गरी सबल पक्षलाई ठम्याई ‘एक सहर, एक पहिचान’को अवधारणामा सहर सुहाउँदो मौलिक पहिचान झल्कने हिसाबले पहिचानसहितको सहरी विकास योजनाबद्ध ढङ्गले गर्न सकेमा सहरले तुलनात्मकरूपमा बढी लाभ प्राप्त गरी मौलिक किसिमले सहरी विकास अगाडि बढ्नसक्ने देखिन्छ । तसर्थ, योजनाबद्ध सहरी विकासमार्फत् स्वच्छ, सुरक्षित र समृद्ध पहिचानमय सहरहरूको विकास गरी मागअनुसार नागरिकहरूलाई सर्वसुलभ र भरपर्दो तरिकाले गुणस्तरीय सहरी सेवा तथा सुविधा उपलब्ध गराई सहरी बासिन्दाको जीवनस्तरमा सुधार ल्याउनु अति आवश्यक भएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया