उच्च शिक्षा प्रवेशमै रोक लगाउन खोजिएको हो ?
काठमाडौं । यसपटक नागरिकका लागि देशव्यापी प्रतीक्षाको विषय बन्ने माध्यमिक शिक्षा तहका दुई परीक्षाको परिणाम एकै महिनाको अन्तरमा प्रकाशित भए । यी परिणामहरू किन प्रतीक्षामा पर्छन् भने यिनले नै एउटा विद्यार्थीको मात्र होइन तिनका अभिभावकको सम्बन्धित विद्यालयको, त्यस विद्यालयका व्यवस्थापकको, विषयगत शिक्षकको र सरकारको तह–तहका सम्बन्धित निकायहरूको पनि परीक्षाको परिणाम हुने गर्छ । संसारभरकै प्रचलन हो यो । उल्लेखित तह शिक्षाको प्रवेशद्वार हो । त्यो पार नभई सम्बन्धित विद्यार्थीले त्यसमाथि उक्लिन पाउँदैन । त्यसकारण यी तहमा एउटा विद्यार्थी पास–फेल हुनुभनेको त्यो एउटा विद्यार्थीको मात्र सफलता–असफलता होइन । यसमा समग्र निकायको पनि परिणाम जोडिएको हुन्छ । तर हामी कहाँ एउटा विद्यार्थी यो तहमा सफल–असफल जे भयो त्यसको श्रेय र दोष त्यो विद्यार्थीमाथि मात्र खन्याइन्छ । यसले सफल भएका विद्यार्थीको बारेमा त त्योआफैँ त्यति नोक्सानदायी नहोला तर असफलतामा भने विद्यार्थीबाहेक सबैले मुक्ति पाउने हुन्छ । यो तहको शिक्षामा उत्तरदायी हुनुपर्नेहरूले यस प्रकारको उन्मुक्ति पाउँदा यो तहको परीक्षाको परिणाममा सुधार हुन नसकेको हुनुपर्छ ।
यो वर्ष राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्दा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थीले मात्रै यो तह उत्तीर्ण गरेको देखियो । यो भनेको ४७ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुनु हो । यसको केहीअघि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा झण्डै यति नै विद्यार्थी अनुत्तीर्ण भएका थिए । एसईईमा आधाभन्दा बढी फेल हुने र आधाभन्दा कमले पास गरेको अवस्थामा उच्च शिक्षाका लागि प्रवेश गर्ने ठाउँमा अर्को आधाभन्दा बढी संख्या यसरी नै रोकिँदा एक प्रकारले आमनागरिकका लागि उच्चशिक्षा प्रवेशको बाटो नै बन्द भएको अवस्था देखिन्छ । यी दुईवटा परीक्षाका परिणामले यो बेलासम्म दिएको सन्देश भनेको विद्यार्थी पढ्न इच्छुक भएको अभिभावक पनि पढाउन तयार नै रहेको अवस्थामा पनि करिब ७५ प्रतिशत संख्याले शिक्षाको अधकल्चो अवस्थामा नै रोकिन परेको देखाउँछ । माध्यमिक शिक्षा अर्थात् दश कक्षासम्मको पढाइ त उच्च माध्यमिकसम्म जानबाहेक अरू प्रयोजनमा आउन छाडेको छ । त्यही परीक्षा एसईईमा नै यसरी सहभागिता जनाएकामध्ये आधाभन्दा बढी अर्थात् वर्षको दुई÷तीन लाख विद्यार्थी रोकिन्छन् भने त्यसमा कतैनकतै नीतिगत त्रुटि देखिन्छ नै । त्यसमाथि यसरी असफल हुनेमध्ये सामुदायिक विद्यालयका विद्यार्थीको संख्या ८५ प्रतिशत रहेको भनेर विवरणहरू आएका छन् । यी विद्यालय पूराकापूरा सरकारी हुन् । यस्तो हुँदा पनि सरकारी निकायले विद्यार्थी किन फेल भए भनेर उत्तर दिनु परेको छैन । यो जतिको विडम्बनाको विषय अरू के होला ?
बोर्डका अनुसार कक्षा १२ को यो परीक्षामा सबैभन्दा बढी अंग्रेजी विषयमा विद्यार्थीहरू ननग्रेडेड भएको पाइयो । यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाममा पनि आधाभन्दा बढी विद्यार्थी यही अंग्रेजी विषयमा अनुत्तीर्ण भएका थिए । त्यसपछि यी दुवै तहमा अधिक असफल हुनेमा गणित पनि परेको देखाइएको छ । यसको अर्थ हो, यी दुवै विषयमा विद्यार्थीलाई तहगतरूपले पनि उचितरूपको पठनपाठन गराउन चुकिएको छ । अरू त अरू परीक्षाका दिनसम्म पाठ्यपुस्तक पु¥याउन नसक्दा समेत सरकारी अधिकारीहरूले जवाफदेही हुनुपरेको छैन । अहिले एउटै विषयमा यति धेरै विद्यार्थीहरू असफल हुँदा पनि त्यस्तै कसैसँग सामान्य प्रष्टीकरणसमेत सोधेको पाइएको छैन । ठूलो संख्याका विद्यार्थी यो ठाउँमा नै रोकिएको अवस्था विगतमा पनि प्रकट हुँदै आएका छन् । यसले उच्चशिक्षा प्रवेशमा योजनाबद्ध नियोजन गर्न खोजिएको हो कि भन्ने प्रश्न खडा गर्छ । यस्तो दुःखद् अवस्थाको छिटोभन्दा छिटो अन्त्य हुनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया