Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाङ्ग्लादेशमा मोहम्मद युनुसको नेतृत्वमा सेना समर्थित अन्तरिम सरकार गठन

बाङ्ग्लादेशमा मोहम्मद युनुसको नेतृत्वमा सेना समर्थित अन्तरिम सरकार गठन


काठमाडौं,बाङ्ग्लादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ।प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारी विद्यार्थीहरूको मागबमोजिम ८४ वर्षीय प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको थियो। उनले देशका राष्ट्रपतिबाट बिहीवार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन्।

उनको मन्त्रिपरिषद्‌मा १६ जना सदस्यहरू हुनेछन्। त्यसमध्ये ढाकाबाहिर रहेका बाहेकको शपथग्रहण गराइएको थियो।

सेनाको समर्थनमा अस्थायी रूपमा सत्ताको नेतृत्व गर्ने जिम्मेवारी पाएका उनको काँधमा देशमा स्थिरता कायम गर्ने चुनौती छ।
ग्रामीण लघुकर्जामार्फत् गरिबहरूको जीवनस्तर उकास्न भूमिका खेलेकोमा संसारले प्रशंसा गरेका यी अर्थशास्त्रीलाई विगतको निरङ्कुश सरकारले राजनीतिक शत्रु करार गरेको थियो।युनुस बिहीवार नै स्वदेश फर्किएका थिए र लगत्तै उनले “गर्नुपर्ने काम धेरै भएको” टिप्पणी गरेका थिए।

“जनताहरू उत्साहित छन्,” फ्रान्सबाट ढाका पुगेको केही क्षणपछि युनुसले बीबीसीसँग भनेका थिए।यसैबीच बाङ्ग्लादेशको सेनाले एउटा सर्कुलरमार्फत आफ्नो सहयोगमा देशभरका सबै प्रहरी चौकीका गतिविधिहरू आगामी २४ घण्टामा सुरु हुने बताएको छ।

सेनाका प्रमुखसहित नवनियुक्त प्रहरी महानिरीक्षक र अन्य सुरक्षा अधिकारीहरूको बैठकपछि अराजकता, आगजनी, ध्वंस र विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चालिने निर्णय भएको जनाइएको छ।

सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्ध सुरु भएको विद्यार्थीहरूको असन्तुष्टिले हिंसक आन्दोलनको रूप लिएपछि निरन्तर १५ वर्ष सत्तामा बसेकी हसिना पदत्याग गर्दै विदेश पलायन भइन्।गत ज्यानुअरीमा भएको निर्वाचनपछि गठित संसद्‌बाट हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिइन्। शेख हसिनाको सत्ता ढलेपछि बाङ्ग्लादेशमा राजनीतिक शून्यता उत्पन्न भएको थियो।

यद्यपि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए। राष्ट्रपतिले संसद् पनि विघटन गरे।

हसिना अहिले भारतमा छिन्।

राष्ट्रपति मोहम्मद शाहबुद्दिन र वरिष्ठ सैन्य अधिकारीहरूले आन्दोलनकारी विद्यार्थीहरूसँग वार्ता गरेपछि मोहम्मदलाई अन्तरिम सरकारको नेता छान्ने निर्णय भएको थियो। विद्यार्थीहरूले सेनाले बनाएको सरकार अस्वीकार्य हुने घोषणा गरेका थिए।

युनुसको नेतृत्वमा बाङ्ग्लादेश अधिनायकवादी शासनबाट प्रजातान्त्रिक पद्धतिमा फर्किने अपेक्षा गरिएको छ।युनुसले के भने?
ढाका आइपुगेपछि उनले बाङ्ग्लादेशको पुनर्निर्माणका लागि “अनुशासन” आवश्यक भएकोमा जोड दिए।

“कडा परिश्रम र कार्य सम्पन्न,” विमानस्थलबाट हाँस्दै निस्किँदा युनुसले भने। “नयाँ अवसरहरू आएका छन्।”

“आज हाम्रा लागि गौरवको दिन हो,” उनले पछि संवाददाताहरूसँग भने।

बाङ्ग्लादेशले “दोस्रो पटक स्वतन्त्रता” प्राप्त गरे जस्तै भएको भन्दै उनले देशमा शान्तिसुव्यवस्था कायम गर्न आह्वान गरे।केही सातादेखि बाङ्ग्लादेश अशान्त रहँदै आएको छ। जुन महिनामा सरकारविरुद्ध आन्दोलन सुरु भएपछि ४०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

युनुसले मृतकहरूप्रति सम्मान प्रकट गर्दै उनीहरूले “देशको रक्षा गरेको” र हसिनाको शासनपछि बाङ्ग्लादेशलाई “नयाँ जीवन” प्रदान गरेको टिप्पणी गरे।

हसिनाले प्राध्यापक युनुसलाई “समाजको शत्रु” भन्दै आएकी थिइन्। आर्थिक अपचलनको अभियोगमा दोषी ठहर गर्दै अदालतले युनुसलाई छ महिनाको जेल सजाय पनि सुनाएको थियो। धरौटीमा छुटेका युनुसले उक्त सजायविरुद्ध पुनरावेदन गरेका छन्।

युनुस र उनका समर्थकहरूले राजनीतिक दुराशयबाट प्रेरित भएर मुद्दा चलाइएको दाबी गर्दै आएका छन्।उनले युवाहरूलाई देश पुनर्निमाणमा सहभागी हुन आह्वान गरे।

“बाङ्ग्लादेश सुन्दर देश बन्न सक्छ, तर हामीले ती सम्भावनाहरू भत्कायौँ,” उनले भने।

आफ्नो स्वागत गर्न आइपुगेका विद्यार्थीहरूतिर सङ्केत गर्द उनले भने, “हामीले फेरि ब्याड बनाउनुपर्छ, त्यो नयाँ ब्याड उनीहरूले बनाउने छन्।”

हसिना तेस्रो देश जान सक्ने अनुमान
हसिना भारतबाट तेस्रो मुलुक, सम्भवतः यूके, जान सक्ने अनुमान गरिएको छ। उनले यूकेमा राजनीतिक शरण माग्ने विवरण विभिन्न सञ्चारमाध्यमले प्रकशित गरेका छन्।

तर त्यसको पुष्टि हुन सकेको छैन।उनीसँगै ढाका छोडेकी उनकी बहिनी शेख रेहाना ब्रिटिश नागरिक हुन्। शेख रेहानाकी छोरी ट्यूलिप सिद्दिक अहिले ब्रिटेनको संसद्‌मा सदस्य छिन्।

हसिनाका सहयोगीहरूका अनुसार उनी राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन्। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन्।

हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताएका छन्।

हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि थिए।
(बीबीसी)


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x