Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआफ्नो बदमासी ढाकछोप गर्न कुलमानद्वारा आँसु चुहाएर सहानुभूति बटुल्ने प्रयास

आफ्नो बदमासी ढाकछोप गर्न कुलमानद्वारा आँसु चुहाएर सहानुभूति बटुल्ने प्रयास


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता असुलीमा हाकाहाकी बदमासी गरेका छन् । आफ्नो बदमासी लुकाएर सबै दोष सरकारमाथि थोपर्न अहिले घिसिङले ठाउँ न कुठाउँ आसुँ चुहाउँदै हिँडेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारसँगको मिलेमतोमा टीओडी मिटरको सबै तथ्याङ्क लुकाएका कुलमान अहिले त्यो विवरण छ भन्न थालेका छन् । यतिसम्म कि कुलमान नेतृत्वको प्राधिकरणले सुनसरी जिल्ला अदालत इनरुवा सुनसरीमा टीओडी मिटरको नयाँ डाटाले पुरानो डाटालाई प्रतिस्थापन गर्ने भएकाले पुरानो अवधिको डाउनलोड डाटा उपलब्ध गराउन नसकिने व्यहोरा प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरको इटहरी वितरण केन्द्रले गत २०८० साल असोज ११ गते पत्र पठाएको थियो ।

अदालतलाई समेत ढाँटछल गरेका कुलमान अहिले आफूले महसुल उठाउन प्रयास गरेको तर सरकारले नदिएको बताइरहेका छन् । यद्यपि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आफूले उपभोग गरेको बिजुलीको महसुल उठाउन हुँदैन भनेर कहिल्यै नभनेको तर प्रमाणको आधारमा मात्र महसुल तिराउनुपर्ने बताएका थिए । तर, कुलमान भने अहिले सरकारले महसुल छुट दिन लागेको र आफूले उठाउन लागेको दाबी गर्र्दैछन् । यद्यपि उनले टीओडी मिटरको तथ्याङ्क लुकाएर उद्योगी/व्यवसायीसँग पैसाको बार्गेनिङ गरिरहेका छन् ।

महालेखापरीक्षकको ६१औँ बार्षिक प्रतिवेदन २०८१ ले प्राधिकरणको बक्यौता ४४ अर्ब ३२ करोड पुगेको तथ्याङ्क प्रस्तुत गरेको छ । त्यसमध्ये ट्रंक तथा डेडिकेटेड फिडरको उपभोक्ताको बक्यौता २१ अर्ब ८८ करोड रुपैयाँ रहेको देखाएको छ । उक्त बक्यौता रकम प्राधिकरणको कुल बक्यौताको ४९ दशमलव ३६ प्रतिशत हो । तर, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानले भने ६१ वटा उद्योगहरुबाट उठाउनुपर्ने बक्यौता विल पठाएको दाबी गरेका छन् । महालेखाले औंल्याएको र प्राधिकरणले हिसाब बाँधेर नाफा गणना गरेको २२ अर्ब ८८ करोडमध्येको १५ अर्ब ४५ करोड रुपैयाँ हेर्दा हेर्दै आँखैअगाडि हराएको छ ।

उक्त रकम लुकाएर घिसिङ हाकाहाकी सबैलाई गुमराहमा पार्ने प्रयास गरेका छन् । संसदको सार्वजनिक लेखासमितिले घिसिङले गरेको बदमासी केलाउने प्रयास गरेपछि ठाउँ न कुठाउँ गोहीको आँसु चुहाउन पछि नपर्ने घिसिङले आफूले उद्योगीहरुलाई टीओडी मिटरअनुसारकै बिल थमाएको समितिमा हाकाहाकी झुट बोलेका छन् । तर, व्यवसायीहरुले भने टीओडी मिटरको तथ्याङ्क प्राधिकरणले दिएमा महसुल बुझाउन तयार रहेको जानकारी दिँदै आएका छन् । उनीहरुले हचुवाको भरमा यति रकम तिर भन्दैमा नतिर्ने बताउँदै आएका छन् ।

महालेखाले औँल्याएको बेरुज रकममध्ये १५ अर्ब ४५ करोड हाकाहाकी तलमाथि पार्न यसअघि मकवानपुर जिल्ला अदालत र सुनसरी जिल्ला अदालतलाई पठाएको जवाफमा प्राधिकरणसँग टीओडी डाटा नरहेको जवाफ दिएको छ । प्राधिकरणले सुनसरी जिल्ला अदालतलाई मात्र होइन मकवानपुर जिल्ला अदालतलाई समेत गत २०८० भदौ १८ गते जवाफ पठाएर नयाँ टीओडी तथ्याङ्कले पुरानो टीओडीको तथ्याङ्क प्रतिस्थापन गरेको जवाफ पठाएका थिए ।

स्रोतका अनुसार कुलमानले केही सीमित व्यवसायीसँगको सहमतिमै टीओडी मिटरको तथ्याङ्क लुकाएका थिए । अदालतलाई समेत पत्र लेखेर टीओडी मिटरको तथ्याङ्क नभएको जानकारी गराएको प्राधिकरणले अहिले टीओडीको तथ्याङ्क भन्दै संसद्को लेखा समितिमा विवरण बुझाएको छ । अब प्रश्न उठेको छ, कुलमानले अदालतलाई ढाँटेका हुन् कि संसद्को लेखा समितिलाई ? अदालतले विवरण माग गर्दा समेत छैन भनेर जवाफ दिएका कुलमानले अहिले टीओडीको प्रिन्ट तथ्याङ्क छ भनिरहेका छन् । उनले अदालतलाई उक्त प्रिन्ट टीओडी विवरण नपठाएर किन झुट पत्र पठाए भनेर प्रश्न उठेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानले अहिलेको ओली सरकारले ट्रंक तथा डेडिकेटेड फिडरबाट विद्युत् खपत गर्ने ग्राहकबाट महसुल लिन नचाहेको दाबी गरे पनि प्रचण्ड सरकारको गत २०८१ साल वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले भने सर्वोच्च अदालतमा मुद्दा परेको कारण २०७२ साल साउनदेखि २०७२ साल पुससम्मको लोडसेडिङ कायम रहेको अवधिको महसुल निर्धारण तत्कालीन महसुल निर्धारण आयोगले गरेको नदेखिएको र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतबाट अन्तिम फैसला भएबमोजिम हुने गरी हाललाई उक्त अवधिको डेडिकेटेड तथा ट्रंक लाइनवापतको थप महसुल नलिने निर्णय गरेको थियो । उक्त निर्णयको पत्र तत्कालीन मुख्य सचिव बैकुण्ठ अर्यालले २०८१ साल वैशाख २७ गते ऊर्जा सचिवलाई पठाएका थिए । यी सबै काम कुलमानको योजनाअनुसार तत्कालीन प्रचण्ड सरकारले गरेको थियो । त्यो निर्णय गरेबापत उद्योगी तथा व्यवसायीसँग कुलमानले प्रचण्डलाई आर्थिक सहयोग गराएको स्रोतको दाबी छ । अहिले तिनै कुलमान आफू महसुल उठाउने पक्षमा रहेको भनेर सहानुभूति बटुल्नका लागि आँसु चुहाउँदै हिँडेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x