Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्राजिलमा विमान दुर्घटना ६१ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना ६१ जनाको मृत्यु


ब्राजिल । ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार ५७ जना यात्रु र चार चालक दलका सदस्य बोकेको एक विमान दुर्घटनामा परेको छ । विमानमा सवार सब ६१ जनाकोे मृत्यु भएको एयरलाइन्सले जनाएको छ ।

दक्षिणी राज्य परानाको क्यास्कावेलबाट साओ पाउलो सहरका लागि उडेको भोपास एयरलाइन्सद्वारा सञ्चालित एटीआर ७२–५०० विमान भिन्हेडो सहरमा दुर्घटनामा परेको हो । साओ पाउलोको ग्वारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको विमान दुर्घनाग्रस्त भएको भोपास एयरलाइन्सले जनाएको छ । दुर्घटना कसरी भयो भन्ने थाहा हुन सकेको छैन ।

लगभग ७६ हजार जनसंख्या रहेको भिन्हेडो सहर साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको तस्बिरमा उक्त जहाज आकाशमा चक्कर लगाउँदै खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिन्छ ।

विमान दुर्घटना हुनुभन्दा डेढ मिनेटअघि उचाइमा पुगेको देखिएको थियो । १७ हजार फिटको उचाइमा उडिरहेको जहाज १० सेकेन्डमा करिब दुई सय ५० फिट तल झरेको थियो । साओ पाउलो राज्यका गभर्नर टारसिसियो डे फ्रिटासले घटनास्थलमा पत्रकारहरूलाई भने, ‘पीडितको शव पहिचान प्रक्रिया सुरु भइसकेको छ र यो रातभरि जारी रहनेछ ।’

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस घटनाप्रति दुःख व्यक्त गर्दै राज्यमा तीन दिन शोकको घोषणा गरेका छन् । भोपासले पीडितका परिवारलाई पूर्ण सहयोग गरिरहेको र दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएको छ । ब्राजिलको सेनिपा उड्डयन दुर्घटना एजेन्सीले यस घटनाको अनुसन्धान सुरु गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x