शिवपुरीको सौन्दर्यशास्त्र र आन्तरिक पर्यटन
काठमाडौं,असार १२
लक्ष्मण सिटौला
कोरोनाको विश्वव्यापी महामारीपछि अबको केही वर्षसम्म नेपालमा अन्तर्राष्ट्रिय पर्यटक घुम्न आउने सम्भावना ज्यादै न्यून छ । यो अवस्थामा पर्यटन क्षेत्रसँग सम्बन्धित हाम्रा अन्तर्राष्ट्रिय हवाइ सेवा कम्पनीहरू, विभिन्न तारे होटेलहरू, सामान्य होटेल रिसोर्ट र होमस्टेहरूले भारीरूपमा नोक्सानी बेहोर्नु पर्ने बाध्यता छ । नेपालले इतिहासमा यति धेरै नोक्सान झेल्नुपरेको यो नै पहिलो घटना होला । यो नोक्सानी अझै लम्बिने निश्चित छ, त्यसैले ती संस्थाहरूले नोक्सानी कसरी कम गर्न सकिन्छ भनेर योजना बनाउनुको विकल्प छैन । अझै कोरोनाको प्रभाव लम्बिने निश्चित छ । अरु देशमा कोरोना निको भएर पनि फेरि यसले मुन्टो उठाउन थालेको उदाहरणहरू फेरि देखिन थालेका छन् । चाइनाका कतिपय सहरमा कोरोना निको भएर पनि पुनः ती स्थानमा लकडाउन सुरु हुन थालेका छन् । दक्षिण कोरिया र अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना पुनः सकृय हुन थालेको छ । छिमेकी देश भारतमा कोरोनाको महामारी फैलिने क्रममा छ । यो अझै भयावहको स्थितिमा पुग्दै छ । त्यसैको असर अहिले नेपालले पनि भोगिरहेको छ । भ्याक्सिन आउन अझै समय लाग्ने भएकोले यो विश्वव्यापी महामारीको छिटो अन्त हुने सम्भावना न्यून हुँदै गएको छ । अब कोरिनासँगै र कोरोनालाई साथमै लिएर जीवनका व्यवहारहरूलार्ई व्यावस्थापन गर्नुको विकल्प छैन । एक्कासौँ सताब्दीको अभिशप्त समय भोगिरहेको छ आजको विश्वले । यो श्रापित अन्धकार हट्नको लागि विश्व एक हुनुपर्छ । अनुसन्धान र खोजी व्यापक बनाउनुपर्छ र कुनै न कुनै दिन यो भाइरसलार्ई विश्व मानवले जित्नेछ, बल्ल जीवन सहज होला । अब यही आशाले बाँच्नुपर्ने बाध्यता छ सम्पूर्ण मानवजतिमा ।
हाम्रो आम्दानीका स्रोतहरू सुकेका छन् । रेमिट्यान्स र पर्यटन कर्मबाट चलेको नेपालको अर्थव्यवस्था धराशायी बनेको छ । आज ठमेलको चहलपहल सुस्ताएको छ । ठमेल हुँदै चितवनको सौराहादेखि पोखरा अन्नपूर्णको वरिपरि घलेगाउँ अनि लुक्ला सोलु सल्लेरिका पाखामा छाउने ती अन्तर्राष्ट्रिय पर्यटकस्थल आज शून्य छन् । ठमेलको सडक, चोक, गल्ली, होटेल, रेस्टुरेन्ट, पब, कफी हाउस, मनि चेन्जर, ट्राभल एजेन्सी, दोहोरी, डान्सबार सब बन्द छन् । यो शून्य अवस्थालार्ई मध्यनजर राखेर नेपालले अब आन्तरिक पर्यटन प्रवद्र्धनका उपायहरू सोच्नु जरुरी छ । आर्थिक चलायमान हुनका लागि पर्यटन उद्योग एउटा महत्वपूर्ण आधार हो त्यस्का लागि कतिपय देशहरूले आन्तरिक पर्यटन पूर्वाधारका क्षेत्रमा प्रशस्त काम गरिरहेका पनि छन् । ठूला देशहरू चाइना भारत अमेरिका क्यानडा र युरोपेली कतिपय मुलुकहरूले अन्तर्राष्ट्रिय पर्यटनलार्ई भन्दा पनि अन्तरदेशीय पर्यटन प्रवद्र्धनलार्ई महत्व दिन्छन्् र यसबाट राज्यको सम्पत्तिको ठूलो हिस्सा बाहिरिनबाट पनि जोगिन्छ पनि । हामी नेपालीले आफ्नै देशका धेरै भू–भाग घुमेका छैनौँ अनि थाइल्यान्डको पतायाको धक्कु लाएर कसरी हुन्छ । अब आफ्नै देश दर्शनको लागि राज्यले र निजि व्यवसायहरूले योजना बनाउनेतर्फ सोच्नुपर्ने बेला आएको छ ।
हामीले सन २०२० वर्षलार्ई भिजिट नेपाल वर्षको रूपमा मनाउने घोषणा गरेको थियौ तर दुर्भाग्यवश हाम्रो यो सपनालार्ई पूरा हुन दिएन । समय कसैको पनि वशमा छैन । अब नेपालीले आ–आफ्ना उद्देश्य, व्यवहार, जीवनशैली, आम्दानीको स्रोत र जीवन जिउने कलामा नै व्यापक परिवर्तन ल्याउनु जरुरी छ । समय जुन गतिमा बग्छ मानव जाति पनि त्यही गतिमा समाहित हुन सकेन वा जानेन भने उसले सोचेको प्रगतिशीलता चाहेको जस्तो हासिल गर्न सक्तैन । परिवर्तन हुन सिक्नुको विकल्प छैन । यो नै मानव जातिको जीवन यात्राका लागि एउटा शिक्षा पनि हो । त्यसैले पनि कम्तीमा वर्षको एकपटक विदेश होइन आफ्नै देश घुमौँ । आफ्नो गक्ष र हैसियतअनुसारले खर्च गरु र अर्थ व्यवस्थालाई गतिशील र चलायमान बनाऔँ । विदेशको यात्रा अब केही वर्ष जोखिमपूर्ण छ त्यसैले अबको पर्यटन आन्तरिक पर्यटन । अबको तिर्थ नेपालको गाउँ । अबको पर्यटन निकुञ्ज ताल तलैया हरियाली र हाम्रा आफ्नै सुदूरपूर्व र पश्चिमका गाउँ तराई पहाड हिमाल हुन् । यो लेखमा मैले पर्यटनको दृष्टिकोणले अत्यन्तै उपयुक्त मानिएको उपत्यकासँग जोडिएको शिवपुरी पर्वतको बारेमा केही प्रकाश पार्न गइरहेको छु ।
हामीसँग चढ्नको लागि हिमाल हेर्नको लागि पहाड र वनजङ्गल प्रशस्त छन् । विविध समावेशी सांस्कृतिक लोक परम्पराको आदीय भूमी पनि हो नेपाल । नेपाल धेरै रहस्यले भरिएको हिमालयको काखमा अव्यवस्थित एउटा सुन्दर सजिव देश हो । काठमाडौँ उपत्यकाको वरिपरि चारैतिर पर्वत शृंखलाहरू छन् । दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरी पहाड, थानकोट, नागर्जुन तारेकेश्वर हुँदै उत्तरी मोहडामा उभिएको एउटा आदिम पहाड हो शिवपुरी । हिन्दु आदिग्रन्थ स्कन्दपुराणको अठाराँै अध्यायमा शिवपुरी पर्वतको महिमाबारे बयान गरिएको छ । यो हिमवतखण्डअन्तर्गत रहेको पवित्र वाग्मती नदीको मुहानको रूपमा पनि सुपरिचित छ । शिवपुरी वाग्मती नदिसँग सम्बन्धित छ । वाग्मती नदी उपत्यकाका बासिन्दाहरूको धार्मिक आस्थासँग सम्बन्धित छ किनभने यसै नदीको किनारमा हिन्दू मात्रको आराध्यदेव भगवान श्री पशुपतिनाथको मन्दिर छ । उपत्यकासँग जोडिएका सबै पर्वत शृंखलाहरू यस्तो देखिन्छन् कि यो कान्तिपुरी नगरीको ठूलो पर्खाल हो । उपत्यकाको सुरक्षागार्डका रूपमा अनादिदेखि उभिएर बसेका ती शोभनीय पहाडमध्ये शिवपुरीको विशेष महिमा र महत्व छ । आन्तरिक पर्यटनको दृष्टिले एउटा ठूलो सम्भाव्यता बोकेको शिवपुरी पर्वत अनन्तदेखि हामीले उत्तरतर्फ देख्दै आएको छौँ तर वास्ता गरेको छैनौं ।
सत्यम् शिवम् र सुन्दरम्को आलोक हो शिवपुरी
पहिला सरकारले गरेको नामाकरण ‘शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्षण कोष’ हो अहिले नागर्जुन पनि गाभिएको छ । शिवपुरी नुवाकोट र कान्तिपुरी महानगरीको उत्तरी सीमामा पर्छ । शिवपुरी पूर्वमा सुन्दरीजल चिसापानी, पश्चिममा धादिङ, उत्तरमा नुवाकोट समुन्द्रादेवी र दक्षिणमा कान्तिपुर सहरसम्म फैलिएको छ । शिवपुरीको पश्चिम भागमा रानीपौवा ककनी काउले हुँदै सुइरेचौर गुर्जेभन्ज्याङ, बुढानीलकण्ठमाथि नारायण डाँडा हुँदै तारेभिरसम्म फैलिएको छ । ककनीदेखि पार्टीस्वारासम्मको पर्वतीय सौन्दर्य अत्यन्तै मनमोहक छ । शिवपुरी पर्वतको बारेमा अझै गहिराइमा गएर अध्ययन गर्ने हो भने हाम्रो धार्मिक आध्यात्मिक प्राचीन पौराणिक हिन्दु धर्मग्रन्थमाला वेद पुराण उपनिषद्कालीन समयसम्म विचरण गर्नुपर्ने हुन्छ । शिव र पुरीको द्वैध नामबाट निर्मित शिवपुरी शब्द उत्पत्ति अर्थात् निर्माणसँग सम्बन्धित छ । पुरी भनेको पहाडको शिर पहाड वा स्थललाई जनाउँछ । जस्तो अलकापुरी, देवपुरी, इन्द्रपुरी कान्तिपुरी आदि ।
शिवपुरीको पर्वतीय सौन्दर्य शास्त्र
गोंगबु बसपार्क सामाखुसी चोकबाट शिवपुरीको शिरमा पुग्न जम्मा १३ किलोमीटरको दूरी पार गर्नुपर्ने हुन्छ । सामाखुसी चोकबाट ग्राण्डी हस्पिटल टोखा सपनतिर्थ हुँदै झोर महांकाल जगातको उकालो सक्किएपछि शिवपुरीको पर्वतीय सौन्दर्य सुरु हुन्छ । सहरको कोलाहलमय वातावरणलार्ई छोडेर पर्वतीय शान्ति प्राप्तिका लागि अहिले धेरै मानिसहरूको रोजाइमा परेको छ शिवपुरी । सामाखुशी चोकदेखि सुरु भएको दुई लेनको बाटो जगात, गुर्जेभन्ज्याङ, आर्मिक्याम्प, गुर्जे, गुरुङ गाउँ, थानापती, छहरे, थान्सिङ्फाट, चौघडा हुँदै त्रिसुलीसम्म जोडिएको छ । यो बाटोको निर्माणरेखा २०४२ सालमा डाक्टर प्रकाशचन्द्र लोहनीको अर्थमन्त्रीय कार्यकालमा सुरु भएको हो । शिवपुरीलार्ई पर्यटन हबको रूपमा विकास गर्ने हो भने यो बाटोको सुधार पहिलो आवश्यकता हो र अहिले व्यापकरूपमा बाटो निर्माणको काम पनि भैरहेको छ । अबको केही महिनाभित्र बाटो पूर्ण भई सहज पहुँचको वातावरण सिर्जना हुने नै छ । शिवपुरी पवित्र पहाड हो । यहाँभित्र शिवपुरीबाबाको आश्रयस्थल छ । वाग्मती नदीको मुहान वागद्वारमा आजभन्दा करिब पचास वर्ष अगाडि भारतबाट गोबिन्दानन्दन भारती नाम गरेका तपस्वी शिवपुरीमा आई तपस्या गरी बसे यति मात्रै नभई उनी उपत्यकाको नागर्जुन नगरकोट चन्द्रागिरी आदि पहाडसँग अत्यन्तै रमाउँथे भन्ने कुरा सुनिन्छ । इस्वी संवत १८२६ दक्षिण भारतमा जन्मेका बाबा संसार घुमेर नेपाल आउँदा उहाँको उमेर सय वर्ष पुगिसकेको थियो रे । उनी १९२६ मा नेपाल आई शिवपुरीमा आश्रम बनाई बसे । १३७ वर्ष आयु बाँचेर जिन्दगीका अन्तिम पलहरू उनले पावन पर्वत शिवपुरीमा बिताए । बाबा स्वयंले भनेका थिए ‘संसारमा बस्नलायक सर्वोत्कृष्ट स्थान यदि कहीँ छ भने त्यो शिवपुरी वन हो ।’ आज पनि उनी विद्वान धर्मपरायण साधुका रूपमा हिन्दु धार्मिक सम्प्रदायमा परिचित छन् । १३७ वर्षको आयु भोग गरेका शिवपुरी बाबाले अलबर्ट आइस्टाइनदेखि विश्व जगतका ख्यातिप्राप्त व्यक्तिहरूलाई समेत दर्शन दिएका थिए । शिवपुरी बाबाको आयुबारे अझै रहस्य छ । कोही भन्छन् उनी दुई सय वर्ष बाँचे । उनी केवल दूध मात्रै पिउँथे रे ! योग, ध्यान र समाधिका कारण उनीभित्र अद्भुत शक्ति थियो । उनको बारेमा थुप्रै धार्मिक किंवदन्ती पाइन्छ । शिवपुरी पर्वत आफैँ रहस्यले भरिएको छ त्यसमाथि त्यहीँ योग ध्यान गरेर १३७ वर्षको आयु बाँचेका बाबाको आश्रम हुँदा यो स्थान अझै रहस्यपूर्ण छ ।
शिवपुरी पर्वत यिनै तपस्वी साधुका नामबाट पनि अझै परिचित हुन पुग्यो । उनले ध्यान गरेको स्थान अझैसम्म संरक्षित छ । उनको देहावसानपछि पशुपति वस्थलीमा समाधि बनाइयो । यसै शिवपुरी आश्रममा अहिले पनि भारत दिल्लीबाट आएका साधु महात्मा श्री टोड्के बाब बस्नुहुन्छ । साधु सन्तहरूले योग ध्यान तपस्या गरेर बस्ने प्रकृतिको अनुपम उपहार विविध जैविकताले भरिपूर्ण धराको सुन्दर स्वरूप नै शिवपुरीको सौन्दर्य शास्त्र हो । यहाँभित्र अनेकौं जातिका प्राकृतिक जडीबुटी पाइन्छन् । भरपुर मात्रामा प्राकृतिक अक्सिजन पाइने हुनाले शिवपुरी उपत्यकाबासीहरूको कैलाश पर्वत नै हो । सृष्टिका सबै चिज सुन्दर स्वरूप लिएर नजन्मिन पनि सक्छन् तर धरती मात्र एउटा यस्तो सुन्दर मुहार हो जो कहिले पनि असुन्दर हुनै सक्तैन । शिवपुरी यही सौन्दर्यको बिहानी लिएर जन्मिएको शिवस्थल हो ।
कुनै पनि पर्वत आफैँमा केही होइन यो सिर्फ काँचो माटोको थुप्रो मात्रै हो । तर जब यो माटोको थुप्रोमा, यसका वरिपरि हरियाली हुन्छ त्यो हरियालीभित्र विविध प्राकृतिक जैविकता हुन्छ । चराचुरुङ्गीको बासस्थान हुन्छ, कन्चन पानीको मुहान हुन्छ, कुवाका मुल हुन्छन्, सानातिना ताल हुन्छन्, सिमसार हुन्छ जडीबुटीको स्रोत हुन्छ अनि त्यो पहाड केवल पहाड मात्रै नभएर कैलाश पर्वत बन्छ । त्यहाँ मानिसहरूलार्ई एकप्रकारको शान्ति मिल्छ । वास्तवमा हाम्रो हिन्दु ग्रन्थमा वानप्रस्थाश्रमको वर्ण व्यवस्थापनको कुरा यतिकै उठेको होइन । यो परम्पराको ठूलो महिमा र महत्व छ । ऋषिहरूले जङ्गलमै बसेर योग ध्यान गर्थे र आज जुन धर्मग्रन्थहरू हामीले पढ्न पाइरहेका छौँ ती ग्रन्थहरू कुनै घरमा बसेर लेखिएका होइनन् । ती त अरण्ड्य वनको शैलछायामा बसेर लेखिए ।
शिवपुरीमा पर्यटनको व्यापकता
शिवपुरी पर्वत आफैँमा एउटा अदभूत सिर्जना हो प्रकृतिको । यहाँभित्र अनेकौं किंवदन्ती र रहस्यहरू छन् । पर्यटनको हिसाबमा यो पर्वतले धेरै सम्भावना बोकेको छ । सहरको कोलाहलबाट यति नजिकै रहेको शान्तिस्थल सायद अन्यत्र पनि होला तर यसको गुरुत्वता असाध्य छ । काठमाडाँैका जनतालाई मानसिक शान्ति दिने स्थान भनेकै शिवपुरी हो । हरेक दिन कंक्रिटको जङलबाट मानिसले उत्तरी भेगमा आफ्ना आँखा घुमाउँदा देखिने धरतीको एउटा मीठो कविता नै हो शिवपुरी पहाड । त्यहाँ सधावहार हरियो देखिने रुखहरूको आफ्नै शालीन बैंश छ । वास्तवमा यो नै यसको सौन्दर्यताको राज हो । सबै याममा फुलिरहने जङ्गली फूलहरूको अस्लेष भण्डार हो शिवपुरी । यहाँका बोट बिरुवा कसैले सारेको होइनन् । जति पनि हरिया बिरुवा छन् ती सबै प्राकृतिक रूपबाट नै मौलाएका छन् । शिवपुरीभित्र प्राकृतिक कुवा र अविरल रूपमा बगिरहेका जीवन दायिनी धाराहरू छन् । यहाँभित्र खेलिरहेका मृगशावकहरू यसै धाराबाट बगिरहेको कुवामा नुहाउँछन् । शिवपुरी बुद्धमार्गीहरूको पनि योग भूमी हो । यहाँभित्र बुद्धमार्गमा लाग्नेहरूका लागि विविध गुम्बाहरू पनि छन् । शिवपुरी ॐकार जगतका लागि मात्रै नभएर यो समस्थ मानवीय जिन्दगीमा शान्ति ल्याउने शान्तिबाटीका हो । शिवपुरी जङलभित्र बाघ, भालु, हरिण, मृग, लेकाली, गाई, चितुवा, बाँदर, स्याललगायत अनेकौं पशुपन्छी बसोबास गर्छन् । जब शिवपुरीमा श्री सूर्यको प्रथम किरण पर्छ यसको सौन्दर्य अझै निखारिन्छ । पदयात्रीका लागि निश्चित बाटो अझैसम्म तयार नभएकोले शिवपुरी अझैसम्म चोखो छ । यस्को शालीनतालाई नष्ट पनि गर्नुहुँदैन र यो जोगाउनु हाम्रो कर्तव्य पनि हो ।
प्राकृतिक जैविक विविधतालाई नबिथोली स्थानीयहरूको आर्थिक उन्नतिका लागि पर्यटन, सामाजिक उत्थान र त्यहाँको जैवीय वातावरणलार्ई अझै समुन्नत पार्ने भ्रमण आबको आवश्यकता हो । जङल, पर्वत कुवा र पहाडी मुहारमा कुनै धब्बा नलाग्ने गरि यात्रा गर्नु जरुरी हुन्छ । अहिले संसारका मानिसहरू वातावरणप्रति अत्यन्तै संवेदनशील छन् । हाम्रो चेतनाको स्तर वृद्धिकै कारण पनि प्रकृतिको सुन्दरतालार्ई अब जोगाउनु पर्छ भन्ने मान्यता सुरु भैसकेको छ । कुनै व्यवसाय सुरु गर्नुपूर्व पनि यसबाट वातावरणलार्ई कुनै हानी पुग्छ कि भन्ने अध्ययन हुन्छ अनि मात्रै त्यो उद्योगधन्दा उत्पादनका लागि स्वीकृत हुन्छ । अहिले हरेक कुरामा वातावरणमैत्रीका कुरा आइरहेका छन् । भ्रमणमा पनि यही कुरा लागू हुन्छ । शिवपुरीको प्राकृतिक जैविकताको सुरक्षाको साथै शिवपुरीलार्ई पर्यटन हबका रूपमा विकास गर्न सक्छौँ हामी ।
शिवपुरी वरिपरि रहेका स्थानीय गाउँहरूको विकासका लागि पनि इको टुरिज्म आवश्यक छ । अहिले गुर्जे भञ्ज्याङ, पार्टीस्वारा र सूर्यचौरमा होटेलहरू निर्माण भैरहेका छन् तर कोरोनाका कारण मानिसहरूको आवत जावतमा शून्यता छाइरहेको अवस्था छ । सूर्यचौरबाट देखिने उपत्यकाको मनोरम दृश्यले पर्यटकलाई मोहित बनाउँछ । सूर्यचौरबाट उपत्यका मात्रै होइन नुवाकोटको पृथ्वीनारायण शाहकालीन दरबार, थान्सिङ फाँट अनि पूर्वको चिसापानी सुन्दरीजल र नुवाकोट जिल्लाको बैसठ्ठी गाउँपालिका देख्न सकिन्छ । शिवपुरी भिलेज नामक रिसोर्टहरू सञ्चालित छन् । करिब दुई करोडको लगानीमा शिवपुरी फन्ड रिसोर्ट एण्ड होलिडे क्याम्प निर्माण हुँदै छ । गुर्जेमा अब बिस्तारै होमस्टेहरू पनि सन्चालन गर्दै जाने कार्यक्रम छ । गुर्जेभन्ज्याङभन्दा ४ किलोमिटर तल फेदिगाउ र सुनखानीबीच रहेको अधँेरी खोलामा करिब १२ करोडको लगानीमा बन्जिजम्प निर्माणको योजना छ त्यसका लागि शिवपुरी गाउँपालिकाबाट थोरै बजेट पनि बिनियोजन भएको छ । बन्जिजम्पका एक स्थानीय सञ्चालकका अनुसार सर्भेको सबै काम सकेर निर्माणको पहिलो चरणमा नै कोरोनाको महामारीका कारण कामहरू रोकिएका छन् । सूर्यचौरबाट प्याराग्लाइडिङ काम पनि सञ्चालन भैसकेको छ । गएको हिउँदमा थुप्रैपटक उडान भएको थियो । छहरे टोखा बाटोको धमाधम स्तरोन्नति गर्ने काम भैरहेको छ । झोर महान्कालको जगातबाट सिमेन्ट ढलान गरी बाटोलार्ई अझै मजबुत बनाउने काम हुँदै छ । शिवपुरीमा पर्यटन प्रवद्र्धन गर्न स्थानीय युवाहरू पनि लागिरहेका छन् । शिवपुरीमा पाइने प्राकृतिक जैविक विविधीकरणका कारण पनि पर्यटनका हिसाबले यो स्थानले आफ्नै महत्व राखेको छ । पर्यटनलार्ई चाहिने चार आधारभूत कुराहरू बाटो, बास, सुरक्षा र प्राकृतिक जैविक विविधता यी सबै कुराहरू यहाँ छन् ।
केवलकार सञ्चालनको अवधारणा
एक वर्ष अगाडि पत्रपत्रिकामा एउटा सनसनीपूर्ण खबर छापिएको थियो कि शिवपुरीमा पर्यटन प्रवद्र्धनका हिसाबले केवलकार सञ्चालन गर्ने कुरा । भोलिपल्टदेखि नै विरोध र समर्थनका कुराहरूले बजार ततायो । छापाहरूमा शिवपुरीसँग जोडिएका थुप्रै कुराहरू आए । प्रकृति मान्छेको लागि हो । यसको उपयोग मानिसको जीवन रक्षा र आत्मारन्जका लागि हुनुपर्छ ।
शिवपुरीको जैविकता नबिगारिकन केवलकार सञ्चालन गर्न कुनै हानी नोक्सानी छैन बरु यसले अझै शिवपुरीको महत्वमाथि सहयोग पु¥याउने छ । जङलका रुखहरू रातारात फँडानी गरेर काठ तस्करी गरे पो हानि हुने हो । केवलकार चढेर शिवपुरीको शिरको दर्शन गरेर पहाड हेरेर अनि उत्तरतर्फका गणेश हिमाल र गोसाइँकुण्ड हेरेर केवलकारमै फर्किँदा कसरी बिग्रन्छ शिवपुरीको जैविकता ? केवलकार सञ्चालन गर्दा जैविकता बिग्रने होइन काठ तस्करी गर्दा पो बिग्रेर जाने हो जैविकता । केवलकारले शिवपुरीको प्राकृतिक सुन्दरतामा कुनै हानि नोक्सानी पु¥याउने सम्भावना छैन बरु यो कामले आन्तरिक पर्यटन वृद्धि भै राज्यको राजस्वमा पनि व्यापक वृद्धि हुन जानेछ । हो बरु केवलकारको अन्तिम गन्तव्य बागद्वार धामवरिपरि निश्चित पर्खाल लगाएर पर्यटकलाई अनधिकृत रूपैयाँ जङ्गल पस्न भने दिनु हुँदैन । निश्चित पर्खालको घेराभित्र बसेर निश्चित समयभित्र केवलकारबाट मात्रै फर्कने व्यावस्थापन गर्दा शिवपुरीको प्राकृतिक जैविकतामा कुनै प्रकारको हानि हुने छैन ।
शिवपुरीमा केवलकार सञ्चालन गर्दा उपत्यकाबासीले खाइरहेको पानीको मुहान सुक्छ भन्ने कुरा पनि आयो । रुख बिनास गरियो भने शिवपुरीभित्र रहेको सिमसार मासिन्छ अनि पानीका मुहानहरू सुक्न सक्छन् । मानिसहरू केवलकार चढेर प्रकृतिको आनन्द लिन जाने हुन वन फाँड्न जाने होइनन् । जैविकता नासिन्छ भनेर सगरमाथा चढ्न पनि बन्द गर्नुपर्ने हुन्छ । तर्क जसरी गरे पनि हुन्छ । मानिस प्रकृतिको लागि र प्रकृति मानिसको लागि हो । दुवैले एकले आर्काको सुरक्षा गरे मात्रै एउटा प्राकृतिक सन्तुलन कायम रहन सक्छ । प्रकृति जोगाउनु भनेको मानिस आफैँ जोगिनु पनि हो । प्रकृति छैन भने मानिस आफू स्वयम छैन यदि यो कुराको ख्याल राख्ने हो भने पृथ्वीसँगै मान्छे स्वयंको आयु वृद्धि हुनेछ । अहिलेका २१आँै शताब्दीका मानिसहरूले प्रकृति जोगाउनु पर्छ भन्ने कुरा बुझिसकेको छन् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया