Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसलह नेपाल पस्यो

सलह नेपाल पस्यो


काठमाडौं, असार १४
केही समयअगाडि भारतीय किसानको टाउको दुःखाइ बनेको सलह हूल शनिबार नेपालका विभिन्न जिल्लामा देखिएका छन् । सरकारले सलह नेपाल पस्ने सम्भावना टरेको केही समयअघि मात्रै बताएको थियो तर शनिबार प्रदेश २ र प्रदेश ५ मा सलह भेटिएपछि धान रोप्ने तरखरमा लागेका किसानलाई समस्या थपिएको छ । बारा, पर्सा, सिन्धुली, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा सलह भेटिएका हुन् ।

यसअघि भारतका विभिन्न राज्यमा सलह देखिए पनि नेपालसँग सीमा जोडिएका राज्यमा सलह भेटिएको थिएन । तर एक्कासि सलह आएको पुष्टि भएपछि बाली कसरी जोगाउने चिन्ता थपिएको छ । पूर्वी अफ्रिकाबाट इरान, पाकिस्तान हुँदै सलह नेपालसम्म आइपुगेको हो । यसैबीच, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ ।

नेपालमा मनसुन सुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा मौसममा आएको परिवर्तन (खासगरी हावाको दिशा र गतिमा अचानक आएको परिवर्तन)ले सलहको सानो झुण्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको हो ।

यस विषयमा जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराको सम्भावित प्रवेशको सम्बन्धमा अनुगमन गरिरहेको मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ । सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।

मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी तयार पारी प्रकाशन गरिएको र विभिन्न सञ्चारमाध्यामबाट प्रचारप्रसार गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित भइसकेको जनाएको छ । सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएका छन् । मन्त्रालयले प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x