Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरिणाम देखिने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

परिणाम देखिने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री केपी ओलीले सरकारका मन्त्री तथा सचिवहरूलाई आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालू आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनलगायतका विषयमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिए । अबका तीन महिनामा इतिहासका विगतमा भन्दा बढी मिहिनेतका साथ काम गरेर देखाउनुपर्ने समय आएको उनले बताए । ‘धेरै काम गर्दा समस्या आउँछन्, अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ । गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन’, उनले भने ।

यस्तै, उनले विकास खर्च शतप्रतिशत गर्न सक्नेगरी लाग्नुपर्ने बताए । विकास खर्च शतप्रतिशत भए मात्रै अर्थतन्त्र चलायमान बनाउन सकिने उनको भनाइ थियो । ‘हामी जागिर खाइरहेका छैनौँ । देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ । भावी सन्ततिका लागि काम गरिरहेका छौँ । यो सेवाको तुलना पारिश्रमिकसँग हुन सक्दैन’, उनले भने, ‘हाम्रो लक्ष्य निर्धारण काल्पनिक नभई वस्तुगत हुनुपर्छ । पूरा गर्न कठिन हुन्छ भनी कमजोर लक्ष्य राख्नुहुन्न ।’

प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावसायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोगमा ध्यान दिन निर्देशन दिए । साथै, उनले एउटा मन्त्रालयबाट अर्काे मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न निर्देशन दिए । साथै, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सिर्जनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रूपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन उनले सम्बन्धित मन्त्री र सचिवको ध्यानाकर्षण गराए ।

उक्त छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवको सहभागिता रहेको थियो । प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरूबीच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x