Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशनौ वर्षसम्म पनि सकिएन सम्पदा बस्तीको पुनर्निर्माण !

नौ वर्षसम्म पनि सकिएन सम्पदा बस्तीको पुनर्निर्माण !


दोलखा । भूकम्प गएको एक दशक पुग्न लाग्दा समेत दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित ऐतिहासिक सहर दोलखाको सम्पदा बस्तीको पुनर्निर्माण अझै सकिएको छैन । यहाँका करिब एक चौथाइ नागरिकले अझै निजी आवास निर्माण नगरेको पाइएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा कार्यविधि निर्माणमा ढिलाइ गरेकाले लाभग्राही सूचीमा रहेकामध्ये यहाँका एक सयभन्दा बढीले निजी आवास निर्माण नगरेको वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सम्पदा बस्तीमा लाभग्राही पाँच सय ५९ र सबलीकरण लाभग्राही २६ गरी कुल पाँच सय ८५ लाभग्राही रहेका छन् । यीमध्ये पाँच सय २३ ले पहिलो किस्ता, चार सय ५७ ले दोस्रो र तेस्रो किस्ता लिएका छन् । पहिलो किस्ता अनुदान बुझेर पनि घर निर्माण नगर्नेको संख्या एक सय २८ रहेको बुझिएको छ । हालसम्म उक्त बस्तीमा चार सय ५७ मात्र निजी आवास निर्माण भएका छन् । यस्तै, एक सय ३४ जनाको ५४ वटा बहुस्वामित्वका निजी आवास निर्माण भएका छन् ।

पूर्णरूपमा दक्ष कामदार नभए पनि स्थानीय दक्षताअनुसार ऐतिहासिक निजी आवास निर्माण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । ऐतिहासिक सहर भएकाले सम्पदा बस्तीमा चार जनासम्मको बहुस्वामित्व रहेको छ । प्राधिकरणले सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनर्निर्माणसम्बन्धी कार्यविधि २०७६ जारी गरेपछि मात्र भवन निर्माण हुन लागेका हुन् । यो कार्यविधिमा घरहरू प्रायः प्राचीन र कलात्मक शैलीका हुनुपर्ने, भारवहन गर्न सक्ने पर्खाल, कम्तीमा दुई आना दुई पैसा बराबरको जग्गामा घर बनाइनुपर्ने, घरको अघिल्लोपट्टिको भाग चम्किलो इँटाको पर्खाल हुनुपर्ने, टुँडाल–ट्वाकल राखिनुपर्ने समेत उल्लेख रहेको छ । निर्माण भएका घरहरू राणाकालीन घरमा प्रयोग भएजस्तो चुन प्लास्टर, स्टिल वा कङक्रिटको फ्रेम संरचनाजस्ता थुप्रै सर्त पूरा नगरे अनुदान नदिने पनि कार्यविधिमा उल्लेख रहेको छ ।

स्थानीयका अनुसार सकेसम्म आफ्नो घर सम्पदामैत्री बनाउन खोजे तापनि निर्माण सामग्री, दक्ष जनशक्ति अभावका कारण प्राधिकरणको असाध्यै झन्झटिलो कार्यविधि सर्त पूरा गर्न कठिन भएको हो । ऐतिहासिक सहर दोलखा यसअघि पनि सांस्कृतिक सहरका रूपमा चिनिएको छ । यहाँको आफ्नै मौलिकताले धर्म संस्कृतिसँग खास महत्व राख्ने भएकाले यो सहरलाई पुरातत्विक महत्व झल्कने गरी विकास गर्न खोजिएको भीमेश्वर नगरपालिका नगरप्रमुख ईश्वरनारायण मानन्धले बताए । झन्झटिलो कार्यविधिले सबैले पाएसरहको अनुदान पाउन नै मुस्किल भएको वडाध्यक्ष श्रेष्ठले बताए । पुरानै महत्व झल्किने गरी भूकम्पप्रतिरोधी कलात्मक शैलीमा घर निर्माण गर्नेलाई नगरले थप ५० हजार अनुदान र सम्पदा बस्ती कार्यविधिमा प्राधिकरणले पनि थप ५० हजार अनुदान दिने उल्लेख गरिएको भए पनि कागजमै सीमित रहेको छ । वडाध्यक्ष श्रेष्ठले थप पाउने भनिएको अनुदानको आशा मरिसकेको बताए । कतिपय लाभग्राहीले बस्ती छाडेर काठमाडौंलगायतका सहरमा बसोबास गर्ने हुँदा पनि पुनर्निर्माण नभएको बताए ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x