नेपालमा काम गर्ने दक्ष विदेशी श्रमिकको संख्या १३ हजार नाघ्यो
काठमाडौं । नेपालमा विभिन्न परियोजनामा काम गर्ने दक्ष विदेशी श्रमिकको संख्या १३ हजार नाघेको छ । सन् २०१७ देखि हालसम्म ११ हजार नौ सय ७४ जना पुरुष र एक हजार पाँच सय ५२ जना महिला गरी कुल १३ हजार पाँच सय २६ जनाले नेपालमा श्रम स्वीकृति लिएर काम गर्दै आएका छन् ।
श्रम तथा व्यवसायजन्य विभागका अनुसार मुलुकमा सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएकोले नेपालमा काम गर्ने विदेशी दक्ष जनशक्तिको संख्या बढ्दै गएको छ । विभागले नै विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको छ । अहिले जलविद्युत्, सञ्चार, स्वास्थ्य, सडकलगायतका क्षेत्रमा करिब एक सयभन्दा बढी मुलुकका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक कार्यरत छन् । त्यसपछि बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको संख्या पनि उल्लेख्य छ । विभागका अनुसार सन् २०१७ देखि हालसम्म सबैभन्दा बढी नौ हजार छ सय जना चिनियाँ नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेका छन् । जसमध्ये श्रम स्वीकृति नवीकरण गर्ने तीन हजार तीन सय आठ जना र नयाँ श्रम स्वीकृति लिने छ हजार दुई सय ९२ जना छन् । नेपालमा आउने दक्ष श्रमिकहरू सार्क मुलुक, एसिया, युरोप, अमेरिका र अफ्रिका महादेशबाट आएको देखिन्छ ।
विभागको तथ्याङ्कलाई हेर्दा बेलायतका पाँच सय ८९ जना, अमेरिकाका चार सय २६ जना, दक्षिण कोरियाका तीन सय २३ जना, भारतका दुई सय ५८ जना, जापानका दुई सय ९३ जना, अष्ट्रेलियाका एक सय ५६ जना, श्रीलंकाका एक सय ३७ जना, जर्मनीका एक सय २२ जना, फ्रान्सका एक सय पाँच जना, इटालीका ९४ जना, फिलिपिन्सका एक सय दुई जना र बंगलादेशका ६८ जना श्रमिकले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, इटलीका ९४ जना क्यामरुनका ६४ जना, क्यानडाका ७७ जना, ब्राजिलका ३४ जना, फिनल्याण्डका ३१, घानाका ३२ जना, डेनमार्कका २१ जना, इजिप्टका २० जना, केनियाका सात जना, उत्तर कोरियाका आठ जना र काजकस्तानका एक जना श्रमिकले श्रम स्वीकृति लिएका छन् । बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी कामदार मात्र नेपाल आएको विभागका निर्देशक मणिनाथ गोपले जानकारी दिए । श्रम ऐन २०४८ (संशोधन २०५४)ले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ ।
श्रम ऐन, २०४८ को दफा ४ (क) मा कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ । गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नुपर्दछ । जसले गर्दा उनीहरू दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ ।
त्यस्तै, विभागका अनुसार समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या आठ हजार पाँच सय १२ जना र श्रम स्वीकृति नवीकरण गर्ने पाँच हजार १४ जना रहेका छन् ।
जसमा नयाँ श्रम स्वीकृति लिने पुरुषको संख्या सात हजार छ सय ४८ जना, आठ सय ६४ जना महिला र श्रम स्वीकृति नवीकरण गर्ने पुरुषको संख्या चार हजार तीन सय २६ जना र महिलाको संख्या छ सय ८८ जना जना छ । मुलुकमा सञ्चालन भएका विभिन्न परियोजनाका लागि स्वदेशमा दक्ष जनशक्ति नपाएसँगै ती परियोजनाहरूले विभिन्न मुलुकबाट नयाँ श्रम स्वीकृति र श्रम स्वीकृति नवीकरण गरी दक्ष व्यक्तिहरूको व्यवस्थापन गरेको प्रवक्ता गोपले बताए । ‘परियोजनाले आफ्नो आवश्यकताअनुरूप विश्वबजारमा दक्ष जनशक्तिको लागि विज्ञापन गर्दछ’, उनले भने, ‘रुचि हुनले नेपाल आउन चाहन्छन् र श्रम स्वीकृति लिई काम गर्ने गर्छन्, विशेषगरी जलविद्युत्, नागरिक उड्डयन, स्वास्थ्यलगायतका क्षेत्रका लागि आवश्यक जनशक्तिको विज्ञापन गर्नेगरेको पाइन्छ ।
विभागले विदेशी नागरिकको श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका–२०७५ अनुसार विदेशी श्रमिकलाई श्रम इजाजत दिँदै आएको छ । विभागका अनुसार नेपालमा काम गर्न आउने विदेशी श्रमिकलाई सम्बन्धित मन्त्रालयको सिफारिस र गृह मन्त्रालयका कार्य सहमतिका आधारमा मात्रै श्रम स्वीकृति दिँदै आइएको पाइन्छ । विभागले विदेशी श्रमिकलाई एक वर्षका लागि श्रम इजाजत दिनेगरेको छ । प्रत्येक वर्ष श्रम इजाजत नवीकरण गर्नुपर्छ । विशिष्ट दक्ष प्राविधिक श्रमिकको हकमा पटक–पटक गरी बढीमा पाँच वर्ष र अन्य विदेशी श्रमिकको हकमा पटक–पटक गरी बढीमा तीन वर्षका लागि श्रम इजाजत दिनेछ । छ महिनाको अवधिका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ र छ महिनाभन्दा बढी अवधिका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्देशिकामा उल्लेख छ । विदेशी श्रमिकको संख्या बढ्दा यसको आपूर्तिकर्ता समेत बढ्दै गएको विभागले जनाएको छ ।
विभागका अनुसार हालसम्म चार सय ३१ वटा आपूर्तिकर्ता संस्था रहेको छ । जसमा एक सय ४० वटाभन्दा बढी नयाँ र दुई सय ७६ वटा पुराना (नवीकरण) संस्थाहरू हुन् । ती संस्थाहरूले विदेशी श्रमिक ल्याउनका लागि सहजीकरणका साथै श्रम स्वीकृति, टिकट व्यवस्थापनलगायतका काम गर्दै आएका छन् । मुलुकको उद्योग, प्रतिष्ठान, व्यापारलगायतका क्षेत्रको उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले विदेशी श्रमिकलाई श्रम स्वीकृति दिँदै आएको पाइन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया