Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारझण्डै साढे एक खर्ब बराबरको धितोपत्र सूचीकृत

झण्डै साढे एक खर्ब बराबरको धितोपत्र सूचीकृत


काठमाडौं । नेपाल धितोपत्र बोर्डमा गत आर्थिक वर्षमा करिब एक खर्ब रुपैयाँबराबरको धितोपत्र सूचीकृत भएको छ । बोर्डका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ३० अर्ब ४७ करोड रुपैयाँबराबरको धितोपत्र सूचीकृत भएको हो । गत आर्थिक वर्षमा ८६ अर्ब ८१ करोड रुपैयाँबराबरको साधारण सेयर, २१ अर्ब ९८ करोड रुपैयाँबराबरको हकप्रद सेयर, २१ अर्ब ६५ करोड रुपैयाँबराबरको बोनस सेयर र तीन करोड रुपैयाँबराबरको थप सार्वजनिक निष्काशन (एफपीओ) गरी कुल एक खर्ब ३० अर्ब ४७ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ७५ करोड रुपैयाँबराबरको साधारण सेयर, सात अर्ब ६५ करोड रुपैयाँबराबरको हकप्रद सेयर, छ अर्ब दुई करोड रुपैयाँबराबरको डिबेन्चर र चार अर्ब ७० करोड रुपैयाँबराबरको म्युचुअल फन्ड गरी कुल २९ अर्ब १२ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०८१ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या भने दुई सय ७० वटा पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ३२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ वटा जलविद्युत् कम्पनी, २२ वटा उत्पादन तथा प्रशोधन उद्योग, सातवटा होटल, सातवटा लगानी कम्पनी, चारवटा व्यापारिक संस्था र सातवटा अन्य समूहका रहेका छन् । २०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या भने दुई सय ५४ वटा थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८ दशमलव छ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५ दशमलव एक प्रतिशत, लगानी कम्पनीको हिस्सा सात दशमलव तीन प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा छ दशमलव चार प्रतिशत, होटेलको हिस्सा दुई दशमलव आठ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव पाँच प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा नौ दशमलव दुई प्रतिशत छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ असार मसान्तमा सूचीकृत आठ अर्ब ३२ करोड रुपैयाँ सेयरको चुक्ता मूल्य आठ खर्ब २५ अर्ब पाँच करोड रुपैयाँ छ । २०८० असार मसान्तमा दुई हजार ९७ दशमलव १० विन्दुमा रहेको नेप्से सूचकाङ्क २०८१ असार मसान्तमा दुई हजार दुई सय ४० दशमलव ४१ विन्दुमा कायम भएको छ । त्यस्तै पछिल्लो वर्ष धितोपत्र बजार पुँजीकरण चार खर्ब ७१ करोड १६ रुपैयाँले वृद्धि भएको छ । २०८१ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । २०८० असार मसान्तमा बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रुपैयाँ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x