Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकर्जाको औसत ब्याजदर एकल अङ्कमा झर्यो

कर्जाको औसत ब्याजदर एकल अङ्कमा झर्यो


काठमाडौं, बैंकहरूले दिने कर्जाको औसत ब्याजदर नौ दशमलव ९३ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार बैंकहरूले कर्जामा दिने औसत ब्याजदर एकल विन्दुमा झरेको छ ।निक्षेप बढ्दै गएको र कर्जा प्रवाह बढ्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । त्यसैले बैंकहरूको आधार दर नै कम छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको आधारदर गत असार मसान्तमा आठ प्रतिशतमा झरेको छ ।

आधारदर घटेका कारण कर्जाको ब्याजदर पनि सस्तो भएको छ । बैंकहरूले आधारदरमा दुई प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिइरहेका छन् । केही स्किममा एकल अङ्कको ब्याजदर अफर गरिरहेका छन् । अहिले पुरानो कर्जाकोे ब्याजदर पनि ११ प्रतिशतभन्दा तल झरिसकेको बैंकहरूले बताएका छन् । अहिले बैंकहरूले कोभिड–१९ संक्रमणपछिकै सस्तो ब्याजदरमा कर्जा अफर गरिरहेका छन् । एक वर्षअघिसम्म बैंकहरूको औसत ब्याजदर साढे १२ प्रतिशत थियो । अहिले वित्तीय प्रणालीमा निक्षेप बढिरहेको छ । यही कारण तरलता प्रशस्त छ । बैंकहरूसँग अहिले पनि छ खर्ब १५ अर्ब लगानीयोग्य पैसा छ । ब्याज लागत घटाउन बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । सोही कारण कर्जाको ब्याजदर पनि घट्दै गएको छ । ब्याजदर घटे पनि वास्तविक क्षेत्रमा अझै कर्जाको माग बढ्न सकेको छैन । बरु सेयरबजारमा कन्फिडेन्स बढेको छ । एक दिनमा करिब ३० अर्ब हाराहारी कारोबार हुनेगरेको छ ।

एक वर्षअघि कर्जाको ब्याजदर औसत १४ दशमलव १० प्रतिशत कायम गरेका विकास बैंकहरूको ब्याजदर अहिले ११ दशमलव ३४ प्रतिशतमा झरेको छ । त्यस्तै फाइनान्स कम्पनीहरूको औसत ब्याजदर १२ दशमलव ५५ प्रतिशत छ । गत असार मसान्तमा विकास बैंकहरूको औसत आधारदर नौ दशमलव ७१ प्रतिशत र फाइनान्स कम्पनीहरूको आधारदर ११ दशमलव २१ प्रतिशत कायम भएको छ । २०८० असारमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८६ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव १४ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ७९ प्रतिशत रहेकोमा २०८१ असारमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः पाँच दशमलव ७७ प्रतिशत, छ दशमलव ६३ प्रतिशत र सात दशमलव ९३ प्रतिशत कायम भएकोे छ ।

कर्जाको ब्याजदर अझै घट्ने देखिन्छ । बैंकहरूले साउन र भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । भदौमा ११ वटा वाणिज्य बैंकहरूले ब्याजदर घटाएका थिएन भने आठवटाले स्थिर राखेका छन् । एउटाले मात्रै ब्याजदर बढाएको छ । निक्षेपको ब्याजदर घट्दा बैंकहरूको ब्याजखर्च पनि घटेर जान्छ । निक्षेपको लागत घटाउँदा आधारदर पनि थप घट्न जान्छ । आधारदर घट्दा कर्जाको ब्याजदर पनि घट्छ । त्यसैले कर्जाको ब्याजदर थप सस्तो हुने बैंकहरूले बताएका छन् । बैंकहरूसँग प्रशस्तै लगानीयोग्य रकम रहेको र कर्जाकोे माग बढ्न नसकेको अवस्थामा लागत कम गर्न ब्याजदर घटेर जान्छ । अहिले बैंकहरूको सीडी रेसियो ७८ दशमलव ९८ प्रतिशत छ । बैंकहरूले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x