Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारशेख हसिनाविरुद्ध ३१ मुद्दा दर्ता

शेख हसिनाविरुद्ध ३१ मुद्दा दर्ता


ढाका । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध नयाँ सरकार गठन भएयता अहिलेसम्म ३१ वटा मुद्दा दर्ता भएका छन् । मंगलबार मात्रै नौवटा मुद्दा दायर भएको छ । जसमा २६ हत्या, चार नरसंहार र एक अपहरणका मुद्दा छन् ।

बंगाली अखबार डेली स्टारका अनुसार बंगलादेशको एक संगठन हेफाजत–ए–इस्लामका सचिव मुफ्ती हारुन इजहार चौधरीले हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा उजुरी दिएका छन् । उजुरीका अनुसार हेफाजत–ए–इस्लामका कार्यकर्ताहरूले सन् २०१३ मे ६ मा ढाकामा निन्दाविरुद्ध कानुनको माग गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । सो क्रममा प्रहरीले भीडमाथि बल प्रयोग गरेको थियो जुन हिंसात्मक बनेको थियो । यसमा २७ जनाको मृत्यु भएको थियो । यस मामिलामा ११ वर्षपछि हसिनाविरुद्ध नरसंहारको मुद्दा दर्ता भएको छ । यसमा हसिनाका छोरा सजीब वाजिद जोय, छोरी साइमा वाजिद पुतुल र बहिनी शेख रेहानालाई पनि आरोपी बनाइएको छ ।

यिनीहरूबाहेक अवामी लीगका महासचिव ओबैदुल कादर, पूर्वमन्त्री राशिद खान मेनन, पूर्वसेना प्रमुख अजिज अहमदलगायत हसिनाका नजिकका २३ जनाविरुद्ध उजुरी दर्ता गरिएको छ ।

हसिनाविरुद्ध हालसम्म न्यायाधिकरणमा चार मुद्दा दर्ता भएका छन् । यी चार घटनामध्ये तीनवटा घटना पछिल्लो समय विद्यार्थी आन्दोलनमा भएको हिंसासँग सम्बन्धित छन् । मोहम्मद अबुल हसन नामका एक व्यक्तिले हसिनाविरुद्ध सोमबार नरसंहारको उजुरी दिएका थिए । अबुल हसनका छोरा शहरयार हसन अल्वी विद्यार्थी आन्दोलनका क्रममा मारिएका थिए । यसअघि कक्षा ९ का विद्यार्थी आरिफ अहमदका बुबाले पनि हसिनाविरुद्ध न्यायाधिकरणमा उजुरी दिएका थिए । आरिफलाई साउन ५ गते प्रदर्शनका क्रममा प्रहरीले गोली हानेको थियो । दुई दिनपछि उनको मृत्यु भयो । ‘हामीले उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेका छौँ’, न्यायाधिकरणका अधिकारी अताउर रहमानले भने ।

शेख हसिनाले सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) स्थापना गरेकी थिइन् । यो न्यायाधिकरण सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x