विद्युत् निर्यातका लागि कार्ययोजना तयार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् निर्यातका लागि मार्गचित्र तथा कार्ययोजना तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद नारायणप्रकाश साउदले साँधेको प्रश्नको जवाफ दिँदै उनले भारतमा विद्युत् निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार पारेको जानकारी दिएका हुन् ।
आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने उनले बताए । नेपाल र भारत अन्तरदेशीय विद्युत् प्रसारण लाइनबाट १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्न नेपालको आन्तरिक विद्युत् प्रसारण प्रणाली पनि सबल र सक्षम हुनुपर्ने उनले बताए । उनले आर्थिक वर्ष २०९१÷९२ सम्म करिब १३ हजार पाँच सय मेगावाट विद्युत् आन्तरिक खपत हुने उल्लेख गरे । सो अवधिमा करिब १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यात गरिने उनको भनाइ छ । साथै, सो अवधिसम्म नेपालको कुल विद्युत् उत्पादन क्षमता २८ हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य लिइएको छ । उक्त मार्गचित्र तथा कार्ययोजना मन्त्रिपरिषद्मा पेस भइसकेको बताए । उनका अनुसार हाल नेपालको कुल विद्युत् उत्पादन क्षमता करिब तीन हजार दुई सय ४० मेगावाट पुगेको छ । आव २०९०÷९१ सम्ममा करिब २६ हजार मेगावाट विद्युत् थप उत्पादन हुने प्रक्षेपणसहितको कार्ययोजना तयार भएको उनले बताए ।
कार्ययोजनामा विद्युत् खरिद सम्झौता सम्पन्न भएका आयोजनाबाट पाँच हजार आठ सय ७३ मेगावाट, विद्युत् खरिदको प्रक्रियामा रहेका आयोजनाबाट तीन हजार दुई सय पाँच मेगावाट, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाबाट तीन हजार एक सय आठ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ । त्यसैगरी कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाबाट पाँच हजार छ सय ४८ मेगावाट तथा नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीबाट अध्ययन सम्पन्न भएका ठूला प्रकृतिका तथा विद्युत् खरिद सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाबाट चार हजार चार सय ३१ मेगावाट र भारतीय कम्पनीबाट प्रवर्द्धन भइरहेका आयोजनाबाट तीन हजार छ सय ७९ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको प्रधानमन्त्रीले ओलीले बताए ।
भारतसँग विद्युत् व्यापारका लागि आवश्यक उच्च भोल्टेज स्तरका विभिन्न अन्तरदेशीय विद्युत् प्रसारण लाइन विकासका क्रममा रहेको उनले बताए । ढल्केबर–मुजफ्रपुर चार सय केभी क्षमताको पहिलो नेपाल–भारत अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०१६ देखि सञ्चालनमा छ । यस्तै, दुई हजार पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताको ढल्केबर–सीतामढी चार सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ । प्रधानमन्त्री ओलीले दुई हजार पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताको बुटवल–गोरखपुर चार सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०२५ सम्म सम्पन्न हुने बताए । त्यसैगरी, दुई पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताका थप दुई वटा चार सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन इनरुवा–पूर्णिया र लम्की–बरेली कार्यान्वयनका चरणमा छन् । यी अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी नेपाल र भारतबीच सहमति भएको उनले बताए ।
यस्तै, उनले हेटौडा–ढल्केबर–इनरुवा चार सय केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्डको निर्माण सम्पन्न भई सञ्चालनमा आएको र हेटौँडा–ढल्केबर खण्डको निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । लप्सेफेदी–रातामाटे–न्यू हेटौँडा र रातामाटे–न्यू दमौली–न्यू बुटवल चार सय केभी विद्युत् प्रसारण लाइन निर्माण कार्य छिट्टै सुरु गरिने उनले जानकारी दिए । यी प्रसारण लाइनका सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । साथै, खिम्ती–बाह्रबीसे–काठमाडौं चार सय केभी, मस्र्याङ्दी करिडोर दुई सय २० केभी र चिलिमे–त्रिशुली दुई सय २० केभी विद्युत् प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।
बुटवलबाट पश्चिम अत्तरियासम्म चार सय केभी विद्युत् प्रसारण लाइन र देशका प्रमुख लोड केन्द्र भएर जाने साउथ कोरिडोर विद्युत् प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइएको उनले बताए । यस्तै, उनले नेपालले भारतीय विद्युत् ग्रिड प्रयोग गरी बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न सम्झौता सम्पन्न गर्ने तयारी कार्य अन्तिम चरणमा रहेको पनि जानकारी दिए । गत साउन १३ गते नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीहरूको उपस्थितिमा काठमाडौंमा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभेलप्मेन्ट बोर्ड र भारतको एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेडबीच विद्युत् बिक्री सम्झौता (पीएसए) हस्ताक्षरको तयारी भए पनि बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण स्थगित भएको उनले बताए ।
बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमपछि भर्खरै अन्तरिम सरकार गठन भएको सन्दर्भमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उपर्युक्त सम्झौता यथाशक्य छिटो सम्पन्न गर्न पहल भइरहको उनले जानकारी दिए । निकट भविष्यमा उक्त समझदारीमा हस्ताक्षर भई नेपालबाट प्रथमपटक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात हुने र यो दक्षिण एसियामा उप–क्षेत्रीय ऊर्जा सहकार्यको रूपमा पहिलो महत्वपूर्ण उपलब्धि हुने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया