Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसदीय समितिमा सांसद लामिछानेको नौ घण्टा बयान

संसदीय समितिमा सांसद लामिछानेको नौ घण्टा बयान


काठमाडौं । सहकारी ठगी प्रकरणमा सांसद रवि लामिछानेले शुक्रबार दिउँसो साढे चार बजेदेखि शनिबार बिहान १ बजेसम्म करिब नौ घण्टा संसदीय छानबिन समितिमा बयान दिएका छन् ।

प्रतिनिधिसभाले गठन गरेको सहकारी ठगीसम्बन्धी विशेष संसदीय छानबिन समितिले बोलाएपछि सांसद लामिछानेले त्यति लामो समय बयान दिएका हुन् । समितिले तथ्यगतरूपमा प्रश्न गरे पनि उनले अधिकांश प्रश्नको इन्कारी बयान दिएका थिए ।

समितिले पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट उनी एमडी भएको गोर्खा मिडिया नेटवर्कले रकम अपचलन गरेको विषयमा सोधपुछका लागि बोलाएको थियो । समितिसमक्ष सांसद लामिछानेले ४३ वटा प्रश्नको जवाफ दिएका थिए । समितिले नै उक्त प्रश्न तयार पारेको थियो । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रश्न गरेका थिए भने समिति सदस्य अन्य सांसदले पूरक प्रश्न लामिछानेलाई सोधेका थिए ।

पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीमा लामिछाने सदस्य रहेको र खाता नम्बरसमेत रहेको थियो । सोही विवरण देखाएर प्रश्न गर्दा पनि लामिछानेले आफू सूर्यदर्शन र सुप्रिम सहकारीको सदस्य नरहेको र त्यहाँ कसैलाई पनि नचिन्ने झुटो जवाफ दिएका थिए ।

समितिले गोर्खा मिडिया नेटवर्कमा उनको जिम्मेवारी, टीभीको अहिलेको अवस्था र जिबी राईसँगको चिनजानबारे पनि प्रश्न गरेको थियो । समितिले गोर्खा मिडियामा पैसा कहाँबाट आयो, सहकारीको पैसा जम्मा भएको हो कि होइन भन्ने प्रश्न गरेकामा उनले आफूलाई थाहा नभएको जवाफ दिएका थिए । लामिछानेले आफूले कतै पनि कागजात गरेर ऋण नलिएको भन्दै आफ्नो बचाउ गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x