Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदुर्घटना घटाउने उपाय खोज

दुर्घटना घटाउने उपाय खोज


काठमाडौं । धेरै ठूलो र विभत्स घटित भएको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकखण्डको दुर्घटनामा परेका दुईवटा बसको अहिलेसम्म चिनो समेत पाइएको छैन । ती दुई यात्रुबाहक बस एकैपटक एकै ठाउँबाट खसेर त्रिशुली नदीको भेलमा परेका थिए । यी दुई वटा बसमा ६५ जना यात्रु थिए । त्यसमध्ये तीनजना पौडिएर निस्किए भने बाँकी २५ जनाको शव भेटिएको छ । त्यसमध्ये १९ जनाको मात्र सनाखत भएको छ । बाँकी अहिलेसम्म बेपत्ता नै छन् । यतिका दिनसम्म त्यति ठूला बसहरूको अवशेष समेत भेटिएको छैन भने एउटा मान्छेको सास वा लास भेटिने सम्भावना अब छैन । विदेशबाट झिकाइएका गोताखोरहरू रित्तो हात फर्किएर गइसेका छन् भने नेपालीहरूले भने खोजी जारी राखेको बताइएको छ । फेला पर्ने अवस्था भने देखिँदैन । दुई वटा बस एकैचोटी र एउटै ठाउँबाट बगेको घटना सामान्य होइन । त्यतिठूला बस नै टुक्रिएर पानीमा विलीन भए भने मान्छेको शरीर सग्लो होला भन्नसक्ने अवस्था छैन ।

यसको केही दिनपछि मात्रै भदौ ७ मा पोखरा मुग्लिन सडकखण्डमा अर्को त्यतिकै ठूलो दुर्घटना भयो । ४३ जना यात्रु रहेको बसमा २७ जनाको शव भेटियो भने बाँकी १६ घाइते थिए । यद्यपि यसमा जीवित वा मृत जे भए पनि शरीरचाहिँ भेटियो । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदी किनारमा खसेर बस दुर्घटनामा परेको थियो । पोखराबाट पशुपतिनाथको दर्शनका लागि काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीकिनारमा खस्दा २७ जनाको मृत्यु भयो । ४३ जना सवारमध्ये २७ जनाको मृत्यु भनेको ठूलो घटना हो । यो बस पानीमा खसेको होइन, पाखैमा थियो । बस दुर्घटनापछि जीवित रहेकाहरूलाई भेट्न र मृतकहरूको शव आफ्नो देशमा लान भारतको केन्द्रीय सरकारकी एक राज्य मन्त्री आफैँ नेपाल आइन् । यो दुर्घटनाले भारतलाई नै तरंंगित पारेको बुझ्न सकिन्छ । यसले आउँदा भारतीय तीर्थयात्रुहरूको नेपाल भ्रमणमा असर पार्ने धेरैको ठम्याइ छ । यसमा सवार यात्रुहरू सबै भारतीय नै हुन् । मृतकहरूका नाम र थर हेर्दा यो दुर्घटनामा सीमित परिवारका आफन्तजन रहेको बुझ्न सकिन्छ । उनीहरू लुम्बिनीमा भगवान् बुद्धको दर्शनपछि पर्यटकीय क्षेत्र पोखरा हुँदै काठमाडौं आइरहेका थिए ।

सिमलताल र ऐना पहराका यी दुई वटा दुर्घटनाका समानता के देखियो भने चालकका चरम लापरबाही रह्यो । पछिल्लो दुर्घटनामा परेको बसका चालक भारतीय हुन् । यो दुर्घटना उक्त क्षेत्रको ठूलो घुम्ती कटेपछि भएको देखिएको बताइएको छ । यसको अर्थ हो सोझोबाटो ठानेर गति बढाइँदा नियन्त्रण गुम्यो । सिमलतालको दुर्घटना पनि प्रतिस्पर्धालाई तीव्रता दिएका कारण पहिरो गइरहेको ठाउँमा दुई विपरीत दिशाबाट आएका बसहरू एक ठाउँमा रोकिन गए । यहीबेला लेदोसहितको बाढीले बगाएर त्रिशुलीमा खसाली दियो । यसको अर्थ हो मानवीय कमजोरी । सडकदेखि हवाईसम्मका पछिल्ला समयका ठूलाठूला दुर्घटनाका कारण मानवीय कमजोरी नै देखिएका छन् । यस्तो बेला राज्यले यस्तो कमजोरी दोहोरिन नदिन गर्नुपर्ने प्रयास पर्याप्त मात्रामा नगरेको नै भन्नुपर्छ । राजधानीको गठ्ठाघरमा केही अघि भएको विभत्स प्रकारको दुर्घटना ट्राफिक प्रहरीले जथाभावी चेकिङ गर्दाको परिणाम भनिएको छ । अघिकांश दुघर्टनाका कारण तीव्र गति रहेको भनेर त सरकारी निकाय नै भनिरहेका छन् भने यसलाई नियन्त्रण गर्न सकिँदैन ? सरकार गम्भीर बनोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x