रोल्पाको ‘चतुर्भुज’ र आन्तरिक पर्यटन
काठमाडौं । रोल्पाको प्रवेशद्वारको रूपमा चिनिने खुङ्ग्रीस्थित चतुर्भुजको बारेमा साविक राप्ती अञ्चलभित्रका धेरैजसोलाई जानकारी छ । यसले विस्तारै देशव्यापी प्रचार पाउने सम्भावना बढ्दै गएको छ । यहाँ शिव प्रतिमा निर्माण समितिको सक्रियतामा भगवान् शिवको विशाल मूर्ति निर्माण गर्ने काम धमाधम भइरहेको छ । मूर्तिको प्राण प्रतिष्ठापश्चात् आगामी शिवरात्रिदेखि सार्वजनिकरूपमा खुला गरिने भनिएको सो मूर्ति निर्माणका लागि विभिन्न क्षेत्रका ब्यक्तिहरूको आर्थिक योगदान रहेको छ ।
शिव मूर्ति निर्माण समितिका अध्यक्ष एवं स्थानीय युवा रोशन गिरीका अनुसार मूर्ति एक मात्र ढुंगाबाट तयार पारिएको बताइएको छ । मूर्ति जमिनदेखि १८ फिट उचाइको छ भने मूर्तिको उचाइ १२ दशमलव पाँच फिट अग्लो छ । सो कार्यका लागि हालसम्म कुनै पनि स्थानीय निकाय वा सरकारको सहयोग नभई चन्दादाताहरूबाट स्वतःस्फूर्तरूपमा खडा भएको कोषबाट निर्माण भएको बताइन्छ । मूर्ति निर्माणका लागि धेरैजसो आर्थिक सहयोग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आप्रवासी अर्थात् वैदेशिक रोजगारमा गएका नेपालीहरूबाट प्राप्त भएको छ भने कतिपय सहयोग स्थानीय बुद्धिजीवी र समाजसेवीबाट प्राप्त भएको छ । मूर्ति निर्माणका लागि कसैकसैबाट भौतिक सहयोग पनि प्राप्त भएको छ । यस मूर्ति सार्वजनिकरूपमा खुला गरिएपछि आन्तरिक पर्यटक र तीर्थयात्रीहरूको संख्या बढ्नेमा विश्वास गरिएको छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका साहित्य, ऐतिहासिक स्थल र धार्मिकस्थलमा धनी छ । त्यसमा पनि वडा नं २ अर्थात् खुङ्ग्री गाउँ अग्रणीमा पर्छ । खुङ्ग्रीकै एकजना लेखक–साहित्यकारले अहिले राष्ट्रियस्तरमै कीर्तिमानी कायम गर्दै आउनुभएको छ । गजुलकोट दरबार र खुङ्ग्रीकोट दरबारको मर्मत र जिर्णोद्दार भएमा रोल्पामा पर्यटकहरूको संख्या अझै बढ्ने सम्भावना देखिन्छ । ४९औँ शक्तिपीठको रूपमा रहेको खुङ्ग्रीको त्रिपुरासुन्दरी देवी मन्दिरमा पनि भक्तजनहरूको संख्या बढ्दै गइरहेको पाइन्छ ।
पहिलैदेखि नै चतुर्भुजधामको महिमा उल्लेखनीय र महत्वपूर्ण पनि छ । सुवर्णावती गंगा र चित्रावती गंगाको संगमस्थलमा रहेको चतुर्भुजमा परापूर्वकालमा ब्रह्माजीको ब्रतबन्ध भएको हो भन्ने जनश्रुति पाइन्छ । सदियौँअगाडि चतुर्भुजमा उन्मत्तेश्वर महादेवको मन्दिर रहेको र धर्मशाला पनि भएको अग्रजहरूको भनाइबाट स्पष्ट हुन्छ । चतुर्भुजभन्दा माथि उकालोमा एउटा ओडार छ, जहाँ एक जना बाबा बस्थे । ती बाबा कहिले बाघ, कहिले भेँडा, कहिले नन्दी भएर हिँड्थे अर्थात् पदयात्रा गर्ने गर्थे भन्ने भनाइ पनि रहेको छ ।
यस ठाउँमा पहिले पहिले मकर संक्रान्ति, बसन्त पञ्चमी र शिवरात्रीमा ठूलो मेला लाग्थ्यो । हाल बसन्त पञ्चमीमा मात्र ठूलो मेला लागेको देखिन्छ । चतुर्भुजमा रहेको लुङ्ग्री–माडीको संगमस्थलमा माघे संक्रान्ति नुहाउन जाने र शिवरात्रिका दिन शिवपाञ्चायन मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गर्छ । श्रीपञ्चमीको मेला भर्न रोल्पाको बाइसखुवा, कालाशेष तथा प्युठानको माडीखोला भेग र आसपासबाट धेरै मानिसहरू आउने गर्छन् । यो लेखकले २०४० सालअघि थाहा पाएसम्म श्रीपञ्चमी मेलामा घिउमा तयार गरिएको जलेबीको स्वाद अहिले पनि भुलेको छैन । आजकल भने हानिकारक रङ मिसाइएका र शंकास्पद अनेक तेलमा बनाइएको जलेबी विक्री गरिन्छ । त्यतिबेला बर्फी, बतासालगायतका मिठाइहरू पनि मेलामा उपलब्ध हुन्थे । आजकल समयले कोल्टे फेरेसँगै मेलाको रौनक पनि बदलिएको पाइन्छ । मेलामा अनेक किसिमका वस्तुहरूको खरिद बिक्री हुन्छ । यदाकदा श्रीपञ्चमी मेलामा महोत्सवहरू पनि नगरिएका भने होइनन् । महोत्सवमा जादू, सर्कस देखाइनुका साथै विभिन्न खेलहरू पनि खेलाइन्छ । चर्चित वा ख्यातिप्राप्त कलाकार तथा गायकहरू पनि सहभागी हुने महोत्सव हेर्न दर्शकहरूको घुइँचो पनि लाग्छ ।
लुङ्गी अर्थात् सुवर्णावती र माडी अर्थात् चित्रावतीको संगमस्थलमा स्नान, दान र शिवको दर्शन गरेमा मनले चिताएको फल प्राप्त हुन्छ भन्ने भनाइ पनि छ । चतुर्भुजधाममा मन्दिर व्यवस्थापन समिति गठन भएको भए पनि समितिले त्यति सक्रियताका साथ चतुर्भुजको प्रचार–प्रसार र तीर्थालु तथा पर्यटक भित्र्याउने पहल गरेको देखिँदैन ।
यहाँ रोल्पा जिल्लाका खुङ्ग्री, घोडागाउँ, महेन्द्री, हरिगाउँ, थुम्पाकी, हिले, गोगनपानी, मिझिङ, सुलिचौर, वडाचौरलगायतका ठाउँहरूका बासिन्दा र प्युठानका सारी, भिंग्री, बाँझीपुर, गोठीबाङ, देवीस्थान, उदयपुर आदि ठाउँका बासिन्दा तथा दाङबासीहरू समेत यस तीर्थस्थलको बारेमा अनभिज्ञ त छैनन् । तर नजिकको तीर्थ हेला भनेझैँ यस क्षेत्रलाई खासै चासो नदिएको हुनाले ओझेलमा पर्दै आएको छ । सबै क्षेत्रहरूबाट यसलाई नियाल्न खोजिएमा अवश्य पनि यसको महत्व अझ उजागर हुने थियो । चारैतिरबाट अग्लाअग्ला पहाडहरूले घेरिएको यस स्थानका बारेमा हिमवत्खण्ड, शिवपुराणमा र गंगा महिमामा समेत वर्णन गरिएको छ । जसअनुसार यहाँ धनञ्जय नाम गरेका ऋषिले धमसीकुना भन्ने गुफामा धनञ्जय आश्रम बनाएर बसी तपस्या गरेका थिए ।
चतुर्भुजको छेउँ भएर बग्ने लुङ्ग्री नदी सुनछहरी झरना मिसिएर बग्ने हुँदा लुङ्ग्री वा सुवर्णावती नदी छेउछाउमा रहेको बालुवा चालेर कसैकसैले सुन संकलन गर्ने गरेका छन् । यो पेसा सदियौँदेखि चलिआएको छ । सुनछहरी आसपासमा रहेका ढुङ्गाहरूमा टल्किने धातुहरू स्पष्टरूपमा देख्न सकिन्छ । यो लेखकले २०३४ सालमा तत्कालीन श्री त्रिपुरेश्वरी निमावि खुङ्ग्रीबाट शैक्षिक भ्रमणको क्रममा त्यहाँ पुग्दा यी दृश्यहरू प्रत्यक्ष देखेको पनि हो । एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लुथर्न नेपालले पनि २÷३ किलो सुन संकलन गरेर लगेको कुरा पनि समाचारमा नआएको होइन । सुनछहरी नजिकका भित्ताहरूबाट पहेँलो लेदो बगेको पनि देखिन्छ ।
यस्तो पवित्र सुनछहरीको पानी मिसिएर बग्ने सुवर्णावती गंगा र चित्रावती गंगाको संगमस्थल चतुर्भुजधामको महत्व बेग्लै छ । यस्ता स्थानमा देवी देवताको बास हुन्छ भन्ने कुरा धार्मिक अध्येयताहरूको भनाइ छ । श्री स्वर्गद्वारी आश्रमका प्रभुमहाराजजीले त्यस संगमस्थल चतुर्भुजमा गुप्तरूपले गुफामा निस्कनु गई त्यहाँको पानी चढाउनुहुन्थ्यो भन्ने जनश्रुति पनि छ । यसैगरी संगममा स्नान गरी त्रिपुरासुन्दरीदेवी भगवती माईको मन्दिरमा पनि यहाँको जल चढाउने र दर्शन गर्ने तथा पूजाआजा गरेमा आफूले चिताएको फल माग्दा पूर्ण हुन्छ भन्ने जनविश्वास पनि छ ।
चतुर्भुजमा शिव पाञ्चायन मन्दिर पुनर्निर्माण गर्नका लागि २०३९ सालमा गजुलका राजनीतिज्ञ तथा समाजसेवी खडानन्द सुवेदी, खुङ्ग्रीका तेजप्रसाद अधिकारी, मुक्त गिरि, प्रेमिसंह भारती, परमानन्द पुरी, सारीका हरिप्रसाद सुवेदी, टीकाराम खनाल, घोडागाउँका गोपालचन्द्र पोखरेल, भरत शाह, भिङ्ग्रीका शेरबहादुर रोकाय, होम बहादुर रोकायलगायतका समाजसेवीहरू मिलेर कसैले स्थानीय स्रोत जम्मा गरेर तथा खडानन्द सुवेदी र तेज प्रसाद अधिकारीलगायतका अग्रजहरू मिलेर भारतका विभिन्न सहरमा गएर त्यहाँ नोकरी गर्ने व्यक्तिहरूबाट शिव पाञ्चायन मन्दिरको निर्माणको लागि आर्थिक सहयोग तथा चन्दा संकलन गरेर पक्की मन्दिर बनाइयो । शिव मन्दिरका साथै चतुर्भुजधाम परिसरमा राधाकृष्ण मन्दिर, विष्णु मन्दिर, देवी मन्दिर, सरस्वती मन्दिर, गणेश मन्दिर र सूर्यको मन्दिर समेत निर्माण भइसकेको छ । साथै, हवन कुण्ड सरस्वती मन्दिर तयार भई पूजापाठहरू सुचारुरूपले चलिरहेको पाइन्छ ।
उहिले परापूर्व कालमा दुई गंगाको संगमस्थल भएकोले योगीहरू आई यस ठाउँमा बसेर स्नान गरी परमात्मामा अभिछिन्नरूपले साक्षात्कार गरी आफ्नो स्वरूपमा निमग्न रहनका लागि यो ठाउँ अतिउत्तम भएकाले धेरै योगी अर्थात् सन्यासीहरू यस ठाउँमा आउने, बस्ने, सिद्धि प्राप्त गर्ने र आफ्नो स्वरूपमा अडेर साक्षात्कार गर्ने भएका कारणबाट सिद्धबाबाको प्रवलता भएको देखिन्छ भन्ने जनश्रुति पनि छ । पछि गएर कुनै बाबा, योगीहरू लामो समय यतै बस्ने विचार गरेर गृहस्थाश्रमको थालनी गरी बस्न थाले । त्यसैले खुङ्ग्रीमा गिरि, पुरी, भारतीहरूको बाहुल्यता देखिन्छ । यद्यपि ब्राह्मण, क्षत्री, ठकुरी, मगर र दलित जातिहरूको सन्तुलित आवासीय भेग पनि हो खुङ्ग्री भन्नुमा कुनै अत्युक्ति हुने छैन ।
चतुर्भुजमा आउन जान पहिलेजस्तो कठिन छैन । अहिले काठमाडौंबाट रोल्पा जाने बसहरू पनि छन् र दिउँसो चल्ने माइक्रो पनि पाइन्छ । पूर्वदेखि पश्चिमसम्मका तीर्थालुहरूलाई चतुर्भुजमा आउन सजिलो छ । महेन्द्र राजमार्गअन्तर्गत पर्ने भालुबाङबाट रोल्पा जाने आउने गाडीहरू पर्याप्त पाइन्छन् । स्वर्गद्वारी दर्शन गर्न जाने तीर्थयात्रीहरू भिङ्ग्री झरेर छ किलोमिटरको दूरीमा रहेको खुङ्ग्रीस्थित शिव पाञ्चायन मन्दिरको पनि दर्शन गरेर पुण्य कमाउन सकिन्छ । साथै, चतुर्भुजबाट करिब डेढ किलोमिटर नजिकै रहेको नेपालको ४९औँ शक्तिपीठको रूपमा रहेको श्री त्रिपुरासुन्दरी देवीको दर्शन गर्न पनि त्यति कठिन छैन । हाल खुङ्ग्रीमा पनि होटल तथा लजहरू पनि छन् ।
रोल्पाको सदरमुकाम लिबाङलाई रोल्पाको दार्जिलिङ भने पनि केही फरक पर्दैन । रोल्पा टेकिसकेपछि एकपटक लिबाङमा पनि पुग्दा राम्रै हुन्छ । लिबाडमा पनि सुविधा सम्पन्न होटेलहरू छन् । रोल्पाका धेरै ठाउँहरूमा यातायातको सुविधा पनि छ । राजधानीका मानिसहरूले सोचेजस्तो विकट छैन रोल्पा । प्राकृतिक सुन्दरताले भरिपूर्ण छ रोल्पा । सुनछहरीको सुन्दरताले पनि रोल्पाको महत्व अझ बढाइदिएको छ । अर्को तीर्थस्थल जलजला पनि हो । रोल्पाकै घोडागाउँको रातोमाटो र प्युठानको स्वर्गद्वारी नपा वडा नं ५ सारीको आकर्षक भू–वनोटलाई पनि प्रचारप्रसार गर्नु आवश्यक ठानिएको छ ।
अन्त्यमा, स्वर्गद्वारी दर्शनका लागि आउनुहुने तीर्थयात्रीहरू चतुर्भुजस्थित शिवपाञ्चायन मन्दिर, नवनिर्मित शिव प्रतिमा र त्यस नजिक पर्ने त्रिपुरासुन्दरीदेवीको पनि दर्शन गरेमा थप पुण्य प्राप्त हुनेमा कुनै सन्देह छैन । सम्बन्धित जिल्लास्तरीय निकायहरू र स्थानीय निकायबाट पनि चतुर्भुजको संरक्षण तथा संवर्द्धनका लागि योजना र बजेटको ब्यवस्था हुनुपर्छ । किनकि देश विकासको आधार पर्यटन र तीर्थाटन पनि हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया