Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघट्यो विश्वव्यापी प्रत्यक्ष विदेशी लगानी प्रवाह

घट्यो विश्वव्यापी प्रत्यक्ष विदेशी लगानी प्रवाह


विश्वव्यापीरूपमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह न्यून रूपमा घटेको छ । संयुक्त राष्ट्र संघ व्यापार र विकास सम्मेलन (यूएनसीटीएडी) विश्वव्यापी लगानी प्रतिवेदन २०२४ सार्वजनिक गर्दै विश्वव्यापीरूपमा विदेशी लगानी एक दशमलव आठ प्रतिशतले घटेको हो । सन् २०२३ मा विदेशी लगानी प्रवाह १३ खर्ब ३१ अर्ब रुपैयाँ छ । जुन अघिल्लो वर्षको तुलनामा एक दशमलव आठ प्रतिशत अर्थात् २४ अर्ब रुपैयाँले घटेको हो । सन् २०२२ मा विदेशी लगानी प्रवाह १३ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो । अघिल्लो वर्षहरूको तुलनामा भने विश्वव्यापी विदेशी लगानी प्रवाह भने ज्यादै घटेको देखिन्छ । विश्वव्यापी विदेशी लगानी प्रवाह सन् २०२० मा नौ खर्ब ८४ अर्ब रुपैयाँ, सन् २०२१ मा १६ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । विश्वव्यापी विदेशी लगानी प्रवाह सन् २०१८ मा १३ खर्ब ७६ अर्ब रुपैयाँ, सन् २०१९ मा १७ खर्ब २९ अर्ब रुपैयाँ थियो । साथै युरोपेयली मुलुकहरूमा पनि विदेशी लगानी प्रवाह १० प्रतिशतले घटेको बताइएको छ ।

प्रतिवेदनले विदेशी लगानी प्रवाह आउनुमा विविध समस्या रहेको र त्यसको निराकरण समेत गर्न सकिने बताइएको छ । विश्वव्यापी अर्थतन्त्रमा आएको सुस्तता र भू–राजनीति समस्यामा कारण विदेशी लगानी प्रवाह घटेको बताइएको छ । विश्वव्यापी र क्षेत्रीय सङ्कट, व्यापारमा समस्या र कडा वित्तीय अवस्थाले विदेशी लगानी प्रभावमा असर परेको छ । विदेशी लगानी प्रवाहमा आएको मन्दीले दिगो विकासका लक्ष्य (एसडीजी) समेत प्रभावित हुनेछ । दिगो विकास लक्ष्यहरूमध्ये विशेषगरी कृषि, खाद्यान्न र पानीमा १० प्रतिशतभन्दा बढी लगानी प्रवाह घटेको छ । जसले गर्दा सन् २०३० सम्म दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि बाधा सिर्जना भएको छ भने दिगो विकास वित्तलाई पुनः परिमार्जन गर्न तत्काल नीगित कार्यको लागि आह्वान गर्नु जरुरी छ ।

विश्वव्यापीरूपमा विदेशी लगानी प्रवाह कम हुँदा त्यसको असर एसियामा समेत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एसियामा विदेशी लगानी प्रवाह आठ दशमलव चार प्रतिशतले घटेको छ । सन् २०२४ मा एसियामा विदेशी लगानी प्रवाह छ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा आठ दशमलव चार प्रतिशतले कमी हो । सन् २०२२ मा एसियामा विदेशी लगानी प्रवाह छ खर्ब ७७ अर्ब रुपैयाँ थियो । एसियामा विदेशी लगानी प्रवाह सन् २०२० मा पाँच खर्ब १३ अर्ब रुपैयाँ र सन् २०२१ मा छ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो । एसियाको तुलनामा भने दक्षिण एसियामा सबैभन्दा धेरै विदेशी लगानीमा प्रवाहमा प्रभावित भएको देखिन्छ । दक्षिण एसियामा ३७ दशमलव पाँच प्रतिशतले घटेको छ । सन् २०२३ मा विदेशी लगानी प्रवाह ३६ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३७ दशमलव पाँच प्रतिशतले कमी आएको छ । सन् २०२२ मा दक्षिण एसियामा विदेशी लगानी प्रवाह ५७ खर्ब रुपैयाँ थियो । त्यस्तै दक्षिण एसियामा विदेशी लगानी प्रवाह सन् २०२० मा ७१ खर्ब र सन् २०२१ मा ५२ खर्ब रुपैयाँ थियो ।

विदेशी लगानी प्रवाह विश्वमा घट्दा, एसिया र दक्षिण एसियामा घट्दा यसको नकारात्मक प्रभाव नेपालमा समेत परेको छ । सन् २०२३ मा नेपालमा विदेशी लगानी प्रवाह छ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६६ दशमलव ६६ प्रतिशतले कमी हो । सन् २०२२ मा नेपालमा विदेशी लगानी प्रवाह १८ अर्ब रुपैयाँ थियो । विकसित विश्व अर्थात् विकसित मुलुकहरूमा नौ प्रतिशतले विदेशी लगानी प्रवाह बढ्दा विकासोन्मुख मुलुकहरूमा छ दशमलव सात प्रतिशतले घटेको छ । सन् २०२३ मा विकसित मुलुकमा चार खर्ब ६४ अर्ब रुपैयाँ विदेशी लगानी प्रवाह भएको छ । जुन अघिल्लो वर्षको तुलनामा नौ प्रतिशतले बढी हो । सन् २०२२ मा विकसित मुलुकमा चार खर्ब २६ अर्ब रुपैयाँ विदेशी लगानी प्रवाह भएको थियो । सन् २०२३ मा विकासोन्मुख मुलुकमा विदेशी लगानी प्रवाह आठ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा छ दशमलव सात प्रतिशतले कमी हो ।

सन् २०२२ मा विकासोन्मुख मुलुकमा नौ खर्ब २९ अर्ब रुपैयाँ विदेशी लगानी प्रवाह भएको थियो । नेपालको हकमा विदेशी लगानीका लागि आवश्यक नीतिगत, प्रक्रियागत र व्यवहारमा परिवर्तन नहुँदा परिणाम नआउने विज्ञहरू बताउँछन् । राजनीतिक अस्थिरताले गर्दा संसद् बस्न नसक्ने र संसद् बसे पनि सांसदहरूले आवश्यक कानुनका लागि प्रयास नगर्दा विदेशी लगानी भित्र्याउन समस्या भएको अर्थविद्हरू बताउँछन् । त्यसैले तुलनात्मक नेपालको भन्दा विदेशी लगानीका लािग लगानी गर्न र प्रतिफल लैजान सहज मुलुकमा लगानी प्रवाह भइरहेको विज्ञहरूको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x