काठमाडौं । मुलुकको अर्थतन्त्रमा छिमेकी मुलुकको कति ठूलो भूमिका रहेछ भन्ने नेपाल राष्ट्र बैकले हालै सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । देशमा वैदेशिक लगानीको अवस्था बारे गरिएको एउटा अध्ययन प्रतिवेदनले देशको कुल विकास खर्चकै हाराहारीमा विदेशी लगानी भएको देखाएको छ । यसमा सबैभन्दा बढी लगानी गर्नेमा छिमेकी देश भारत र चीन रहेछन् । यो अध्ययनले तीन खर्बको वैदेशिक लगानी भएको देखाउँछ । तीमध्ये नेपालको सन्दर्भमा बितेको दशकदेखि पुँजीगत खर्च अर्थात् विकासका लागि वार्षिकरूपमा विनियोजन हुँदै आउने गरेको रकम हो । यद्यपि यसबाट खर्च भने कमै हुने गरेको थियो । चालू वर्ष के होला त्यो अलग कुरा हो । तर विगतका वर्षहरूमा अपवादबाहेक विकास खर्च विनियोजन भएको आधारमा आधा मात्रै हुने गरेको अवस्था छ । त्यो हिसाबले त वैदेशिक लगानी दोब्बर बढी रहेको देखिन्छ । वैदेशिक लगानी जति बढी भयो त्यसले चौतर्फी प्रभाव पार्छ । रकमका साथै देशमा नयाँनयाँ प्रविधिको प्रवेश हुन्छ । त्यस पक्षबाट यस्तो लगानीलाई सकारात्मक मानिएको बुझ्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकले गएको हप्ताको अन्त्यतिर सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ मा तीन खर्ब (दुई खर्ब ९५ अर्ब) रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भएकोमा छिमेकी देश भारत सबैभन्दा ठूलो लगानीकर्तामा प्रकट भएको देखियो । प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्म नेपालमा ५८ वटा देशबाट उल्लेखित अंकमा हुनेगरी प्रत्यक्ष वैदेशिक लगानी आएको थियो । यसमध्ये छिमेकी मुलुक भारतबाट मात्रै एक खर्ब तीन अर्ब ४५ करोड रुपैयाँ लगानी आयो । यो भनेको ५८ वटा देशभरकै हिसाबमा भारत मात्रै ३५ प्रतिशत हो । दोस्रो स्थानमा चीन परेको छ । यद्यपि चीनबाट आएको लगानीको अंक भारतभन्दा तीन गुना कम छ । तर अरू देशभन्दा चीन पनि माथि नै छ । चीनबाट ३५ अर्ब ४६ करोड रुपैयाँ लगानी भएको छ । यो भनेको कुल लगानीको १२ प्रतिशत हो । यसरी नेपालका सीमाना जोडिएका दुई छिमेकी मुलुकहरू नै संसारभरबाट लगानी गर्ने मुलुकमा सबैभन्दा माथि देखिएका हुन् । यसले जेजस्तो भए पनि देशको अर्थतन्त्रलाई भरथेग गर्नेमा छिमेकी मुलुककै भूमिका महत्वपूर्ण रहेको बुझन सकिन्छ । वैदेशिक लगानी भित्र्याउन सरकारले विभिन्न समयमा गर्नेगरेका लगानी सम्मेलनहरूमा पनि छिमेकी यी दुई मुलुकको सहभागिता नै उच्च रहने गरेका थिए । चालू वर्षको प्रारम्भमा नै भएको त्यस्तो सम्मेलनमा पनि यही कुरा दोहोरिएको थियो । त्यस्तो सहभागिता नेपालका लागि निकै नै उपलब्धिमूलक पनि रहेछ भन्ने यी विवरणहरूले बुझाउँछन् ।
उल्लेखित अंकको लगानी आएकोमा तेस्रो ठाउँमा नेपालभन्दा निकै टाढाको देश आयरल्यान्ड परेको छ । यो देशबाट भएको नेपालमा लगानीको अंक २२ अर्ब ६२ करोड ४२ लाख रुपैयाँको छ । यो भनेको सात दशमलव सात प्रतिशत हो । अन्य देशबाट भएको लगानीमा अस्ट्रेलियाको छ दशमलव चार प्रतिशत अर्थात् १९ अर्ब पाँच करोड ६७ लाख, सिंगापुर छ दशमलव चार प्रतिशत अर्थात् १८ अर्ब ८० करोड ८४ लाख, वेस्टइन्डिज चार दशमलव नौ प्रतिशत अर्थात् १४ अर्ब ३९ करोड ५७ लाख, साउथ कोरिया चार दशमलव सात प्रतिशत अर्थात् १३ अर्ब ८७ करोड ७८ लाख, युनाइटेड अरब इमिरेट्स चार दशमलव दुई प्रतिशत अर्थात् १२ अर्ब २८ करोड ४१ लाख र अमेरिकाबाट चार दशमलव एक प्रतिशत अर्थात् १२ अर्ब २२ करोड ७८ लाख रुपैयाँ लगानी आएको छ । यी विवरणहरूले नेपाल वैदेशिक लगानीका लागि आकर्षक मुलुकमध्येमा नै पर्छ भन्ने बुझाउँछ । सरकारले यस्तो लगानीका लागि अझ राम्रो वातावरण बनाउन भने आवश्यक पर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया