निगमको नयाँ भण्डारणको लागि जग्गा व्यवस्था
काठमाडौं । रुपन्देहीको भैरहवास्थित रोहिणी खोलाको किनारमा नेपाल आयल निगमको नयाँ भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमामा करिब १५ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ ।
पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्यांक निर्माण गरिने परियोजना संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए । पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुनसक्ने क्षति रोक्न ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएको छ । निगमले तीनवटा ठेकेदारमार्फत गत जेठ १८ गतेदेखि भण्डारण गृहको जग्गा व्यवस्थापनका काम गरिरहेको छ ।
भण्डारण गृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन सम्याउने कार्य गत असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा र रोहिणी खोलामा आएको बाढीले केही समय ढिला भएको साइट इन्जिनियर अङ्कित रिमालले बताए ।
‘बर्खायाममा रोहिणी खोलामा पानीको सतह बढेको तथा ढुङ्गाको सहज उपलब्धता नहुँदा पहिलो प्याकेजमा केही ढिलाइ भएको हो’, रिमालले भने, ‘अन्य प्याकेजका काम अन्तिम चरणमा छन्, अबको एक महिनाभित्र पहिलो चरणका सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।’
रोहिणी खोलाको समानान्तर छ मिटर अग्लो छ सय २० मिटर ग्याबिन र जग्गाको उत्तरतर्फ चार दशमलव दुई मिटर अग्लो एक सय ५० मिटर लामो रिटेनिङ पर्खाल लगाइएको छ । भण्डारणस्थल प्रस्तावित जग्गालाई रोहिणी खोलामा आउने बाढीबाट सुरक्षित बनाउन परियोजनास्थलभन्दा माथि करिब एक सय ८० मिटर अर्को ग्याबिन पर्खालसमेत लगाइएको छ । रोहिणी खोलामा पछिल्लो ५० वर्षमा आएको बाढीको अवस्थालाई आकलन गरेर तटबन्ध निर्माण गरिएको निगमले जनाएको छ ।
ग्याबिन पर्खालका लागि छ र जग्गा पुर्नका लागि एक गरी सातवटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको थियो । सातवटा प्याकेज आठ करोडमा ठेक्का लागेको थियो । प्याकेज नं ७ अन्तर्गत जग्गा पुर्ने तथा सम्याउने कार्य लगभग सम्पन्न भएको छ ।
प्याकेज नं ४, ५ र ६ मा ग्याबिन पर्खाल लगाउने काम सम्पन्न भइसकेका छन् । प्याजेक नं ३ अन्तर्गत करिब ७० प्रतिशत काम सकिएको छ । काठमाडौँस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगन्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चारवटा प्याकेजमा काम गरिरहेको छ ।
अबको एक महिनाभित्र जग्गाको सुरक्षाका लागि पर्खाल लगाउने र सम्याउने काम सम्पन्न गरी ‘कम्पाउन्ड’ निर्माणको काम थालिने इन्जिनियर रिमालको भनाइ छ ।
रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता न्यून तथा घनाबस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । उक्त भण्डारण निर्माण भएसँगै लुम्बिनी प्रदेशका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ । सो भण्डारणले लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ ।
निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा नयाँ भण्डारण गृह निर्माण तथा क्षमता विस्तार गर्दै आइरहेको छ । रोहिणी क्षेत्रमा करिब तीन अर्ब रुपैयाँ लागतमा नयाँ भण्डारण गृह निर्माण गरिने परियोजना संयोजक यादवले जानकारी दिए । सो स्थानमा डिजेल भण्डारणका लागि २१ सय किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि १६ सय किलोलिटर दुई र मट्टीतेल भण्डारणका लागि ७० किलोलिटरका तीनवटा ट्यांक निर्माण गरिनेछ ।
भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ । असोजभित्र परियोजनाको डिजाइन सम्पन्न हुने निगमले जनाएको छ । परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गरिरहेको छ । आगामी मंसिरमा भण्डारण गृह निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया