Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगतीजमा हुर्कियोस् संस्कृतिको बीज

तीजमा हुर्कियोस् संस्कृतिको बीज


काठमाडौं । जतिखेर ब्रह्माण्डको सृष्टि हुँदै थियो ठीक तेतिखेर ब्रह्मलोकमा भगवान् ब्रह्माले धेरै कुराको सृष्टि गरिसकेका थिए । उक्त नवीन लोकमा नारीको पनि महत्वपूर्ण र गहन जिम्मेवारी थियो । उस बखतका त्रिलोकेश्वर/अन्तरयामी भगवान् ब्रह्मालाई आर्किटेक्चर इन्जिनियरको रूपमा भौतिक पूर्वाधारको जिम्मेवारी दिइएको छ । त्यहीबेला अहिलेको मन्त्रालयको जस्तो हिसाबले हेर्दा अर्थ, रक्षा र शिक्षाको जिम्मेवारी बाँडफाट गर्दै अर्थ मामला लक्ष्मी मातालाई, रक्षा माता दुर्गा र शिक्षाको मामला माता सरस्वतीले सम्हालेका थिए । तीज प्रारम्भको मान्यता त्यतिबेलालाई मानियो जतिखेर ब्रह्मा पिताको मनलाई पगाल्न, आफूले चाहेको महादेव पति प्राप्तिका लागि हिमालयकी पुत्री पार्वतीले संयमताका साथ मौन निराहार व्रत बसिन् । यो पार्वतीको आफ्नो माग पूरा गर्ने सत्याग्रह थियो, जुन कुरा बीपीको समाजवादसँग मेल खाएको छ । त्यो शान्तिपूर्ण आन्दोलन थियो । यो मार्क्सवादको जस्तो बलपूर्वक वर्ग सङ्घर्ष नगरी, ब्रेन र चेतनालाई प्रयोग गरी पार्वतीले पिताको मनलाई आफूले मन पराएको पतिलाई पिताले ज्वाइँको रूपमा स्वीकार्न बाध्य बनाएकी थिइन् ।

विशेषगरी, हिन्दु नारीले धार्मिकरूपमा र गैरहिन्दु नारीले सामाजिकरूपमा मनाइने यो पर्व तिथिअनुसार भाद्र शुक्ल द्वितीयाबाट सुरु भएर पञ्चमीको दिन ब्रतालु दिदीबहिनीले खोलामा स्नान गरेर सप्तऋषिको पूजा गरी सकेपछि सम्पन्न हुने गर्दछ ।

देवी देवताताको पालादेखि अहिलेका रोबर्ट युगसम्म आइ्पुग्दा हामीले आफ्नो परम्परा संस्कार र संस्कृतिलाई मानव जीवन दर्शनको एक अभिन्न अङ्ग बनाएर ल्याउने गरेको हाम्रो अभ्यास छ । यसको निरन्तरताका लागि धर्मगुरुको( पण्डित) प्रवचन सुनेर, घरका ठूलाठालुले गरेको क्रियाकलापबाट सिकेर, धार्मिक ग्रन्थ पुराणमा रहेका महानवाणी र सन्देशलाई अँगालेर मान्दै मनाउँदै गरेको तीजको नेपाली समाजमा छुट्टै मौलिक महत्व रहेको छ । चाडपर्व त्यसै पनि आफन्त, मान्यजन, इस्टमित्र, साथीसँगीसँग भेटघाट गर्ने, मीठोमसिनो जुटाएर खाने, सधैँको कामलाई छोडेर आराम गर्ने, धार्मिक धरातलमा टेकेर पाठपूजा, ध्यान दर्शन सबै पर्वमा हुने गर्छ ।

तीज पनि यस्तै एउटा मान्यता बोकेको पर्व हो । यसमा विशेष गरी अविवाहित महिला दिदीबहिनीले आफूले मन पराएको मान्छेलाई पतिको रूपमा प्राप्त गर्न सकूँ र विवाहित दिदीबहिनीले आफ्नो पतिको दीर्घायु, सु–स्वास्थ्यको कामना गर्दै निराहार व्रत बस्ने गर्छन् । त्यो व्रत आजको सन्दर्भमा आमरण अनसन थियो जुन अनसनले कुनै तत्व, व्यक्ति, वस्तु, प्राप्तिको आफ्नो लक्ष्य प्राप्तिको लागि गरिने एक खाले सङ्घर्षको रूपमा रह्यो । यसले आफ्नो लक्ष्य हासिल गर्नका लागि गर्नुपर्ने निरन्तर लगन र मेहनत अनि ध्यानले उद्देश्य प्राप्ति हुन्छ भन्ने एउटा सिकाइ पनि हो । भक्तालु महिलाहरू पूजा पाठको लागि मठ मन्दिर जाने गर्छन् भने पूजा गर्ने, दर खाने, रमाइलो गर्ने, लामो समयपछि भेट भएका साथी सँगीसँग मनका वह बिसाउने पनि गर्छन् । यी र यस्ता आत्मीय पवित्र क्रियाकलापले पतिपत्नी बीचको माया प्रगाढ र कसिलो हुन आफ्नो परिवारमा सद्भाव माया बढ्ने, लामो समयदेखि गुम्सिएर रहेका मनका भावनालाई पोखाउने थलो र अवसर पाउँदा मानसिकरूपमा स्वास्थ्य हुने, पोखाएका मनका वहले विकास निर्माण, विसङ्गति विकृतिविरुद्ध आवाज उठाउँदा कहिलेकाहीँ व्यवस्था परिवर्तनमा समेत तीजको गीतले योगदान गरेको पाइन्छ । तीजका गीतमार्फत ग्रामीण समुदायमा सचेतना फैलाउने र जनतालाई सचेत र संगठित गर्ने कार्यहरू हुँदै आएका थिए । त्यसो त दैनिकीको खानपानमा थप केही मीठोमसिनो खाने कुराको व्यवस्थापन हुने भएकोले पौष्टिक आहारमार्फत पोषणमा पनि राम्रै सहयोग मिलेको पाइन्छ । व्रतको समापनमा ऋषिहरूको पूजा गर्नु, पहिला खोलामा गएर स्नान गर्नुले पनि सरसफाइमा समेत ध्यान दिएको हुँदा स्वस्थ शरीरले भित्री मनदेखि सबै पक्षलाई सफा गराएको देखिन्छ ।पुजा पाठ गर्नु पहिला शरीरको स्नान गर्नु अनिवार्य छ भन्ने सन्देश समेत दिएको स्पष्ट देखिन्छ ।

चाडपर्व समय सापेक्ष हुनुपर्छ । रमाइलोसँगै एक अर्कामा खुसी साटासाट गर्ने माध्यम नै चाडपर्वहरू हुन् । बाटोमा, घर आगनमा हर्षोल्लासका साथ मान्छेको भिडभाड देखियो भने पनि चाडवाड मेलाजात्राको झल्को दिन्छ । हामीलाई जुन खानेकुरा मीठो लाग्छ त्यही खाने त्यही अनुकूलको क्रियाकलाप गर्ने नै हो । जति बेला जे कुराको अनुकूल हुन्छ त्यही गर्ने हाम्रो लागि नौलो कुरा होइन । त्यसैले नै हिजोको खानपान र आजको खानपानमा फरक छ । चाडपर्व मान्ने मनाउने तरिकाले पनि फरक मोड लिएको छ ।

हाम्रो नेपाली समाजको कुरा गर्दा १२ महिनामा १२ वटै चाडपर्व मनाइरहेको पाइए पनि भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्मको दिनलाई तीज मानिने पर्वलाई आजभोलि विभिन्न व्यक्ति, सङ्घसंस्था, समूहले महिनौ दिन अगाडिदेखि दर खाने नाचगान गर्ने भेटघाट गर्ने गरेको सामान्य भइसकेको छ । धार्मिक हिसाबले हेर्दा व्रत बस्ने कार्यचाहिँ त्यही तिथिमा मात्रै बस्ने गरेको हुन्छ । चाडपर्वको कार्यक्रम गर्दा धेरै पक्षलाई फाइदा नै गरेको देखिन्छ । एउटा पार्टी प्यालेसमा कार्यक्रम गर्दा सामाजिक हिसाबले हेर्दा लामो समय भेटघाट नभएका साथीभाइ इष्टमित्र एकै ठाउँमा एकैपटक देखिने भेटघाट हुने हुँदा सामाजिक सद्भाव बढ्ने गर्दछ । व्यावसायिकरूपमा पनि खानपिन गर्ने मान्छे एकै ठाउँमा धेरै जना हुँदा व्यापारीको उपभोक्ताहरू बढेसँगै खाद्यान्न सामग्रीको बिक्रीवितरण हुँदा व्यापार बढ्ने हुन्छ । महिनौँ दिनसम्म चुल्होमा काम गर्ने कामदारदेखि, मञ्च सजाउनेसम्मले रोजगारी पाउँछन् । नयाँ साडी चोलीदेखि शृङ्गारका सामग्री सुनदेखि सौन्दर्य सिङ्गारकर्मीको राम्रै व्यवसाय फस्टाएको देखिन्छ । पार्टी प्यालेसमा गरेको कार्यक्रमले गलाको कला भएको कलाकारले पनि राम्रो अवसर पाएको हुन्छ ।

पहिले–पहिले दिदीबहिनीले आफ्नै आवाजमा मनका पीडा वेदना पोखाउँथे भने आजकल गायकले नै दिदीबहिनीको मनका व्यथालाई गीतको माध्यमबाट व्यक्त गर्ने गरेको पाइन्छ । गीतमा सामाजिक र पारिवारिक नाता सम्बन्धको कुरालाई पीडाको भाकामा व्यक्त गरेर आगामी दिनमा त्यसो नगर्न आग्रहसहित बिन्ती गरेको देखिन्छ । तीज गीतका सुमधुर शब्दले पारिवारिक पुनःमिलनदेखि महिला जागरण, सशक्तीकरणसँगै व्यवस्था परिवर्तनमा एउटा बुलन्द आवाज बनेको उदाहरण धेरै पाइन्छ ।

त्यसो त हरेक कुराको सुधार गर्नुपर्ने पक्ष पनि नभएको हुँदैन । त्यस्तैगरी हामीले पर्व मनाउने अनि संस्कारलाई निरन्तरता दिने नाममा केही विकृति विसङ्गति भने पक्कै भित्रिएको नदेखेको होइन । आजको गीत सङ्गीतले अभद्र पहिरनसँगै उस्तै उत्ताउला हाउभाका साथ नाचगान गर्दै गाएका ‘बालेन शाहजस्तो पाए पोइला गइदिन्छु’ भन्नेजस्ता शब्द चयनले त्यो बेलाको पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्तिका लागि निराहार व्रत बसेर गरेको आराध्य आराधनालाई के सन्देश देला ? हुनेखानेले महँगा गरगहना र झिलिमिली सजिसजाउ गरेर, पैसा उठाएर पार्टी प्यालेसमा नाचगान गर्दै विदेशी ब्रान्डले भुइँमा खुट्टा सिधा टेक्न नसकिने गरी गरेको रमाइलो तीज हुँदाखानेको लागि भद्दा मजाक हैन र ? कतिपय ठाउँमा तीजको कार्यक्रममा सजिएका ती दिदीबहिनीको गरगहना लुटपाट चोरी हुँदा धनजनको नास अनि क्षति भएको घटनाहरू भइरहेको सुनिन्छ र देखिन्छ । श्रीमान्को दीर्घायुको लागि गर्भवती दिदीबहिनीले व्रत बस्दा गर्वमा रहेका शिशुलाई भोकै राखी आफैं बेहोश भएको र गर्वका सन्तानलाई समेत पोषणको अभाव बनाउनु पनि ठीक होइन । रोगी, शारीरिकरूपमा कमजोरी रहेको दिदीबहिनीले र व्रत बसेकै कारण पतिको दीर्घायुभन्दा आफूलाई बिरामी बनाएर पतिलाई पनि हस्पिटल बास गराएर निन्द हराम, खानपानमा ठेगान नहुनेदेखि मानसिक, शारीरिक, थकानले बिरामी बनाएको पनि नदेखेको होइन । त्यसो त श्रीमतीले व्रत बस्दा पतिको दीर्घायु हुन्छ भन्ने कुरामा कुनै सत्यता र वैज्ञानिक कारण देखिँदैन ।

भड्किलो भद्दा कार्यक्रम गरेर यो महँगी मन्दीको बेला चाडपर्वको नाममा अरूलाई समस्या र अप्ठ्यारो नबनाउने हो कि ? त्यसो त सुख दुःख मान्छेको एउटा बाँच्ने बहाना हो भने चाडपर्व खाने बहाना हो । यसलाई आफ्नो धर्म संस्कारको मूल्य र मान्यतालाई जोगाउँदै अभद्र उच्छृङ्खल नभई भद्र, भलादमी, सालिन र सभ्य तरिकाले सबैलाई सहज हुने गरी सर्वसुलभ बनाउँदै आफ्नो धर्मकर्म, मर्म र सर्मलाई नछोडी मनाउनु नै वास्तवमै परम्परा र संस्कृति अनि संस्कारको जगेर्ना हो ।

अन्त्यमा, तीजले माइती चेलिको अजम्बरी साइनोलाई अझ बलियो बनाउने छ । देखासेखी गर्नुभन्दा भावनात्मकरूपमा एकता, मनका पिर व्यथा भुलेर गीत नृत्यमा झुलेर आत्मिक आनन्द लिनुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x