सहुलियतपूर्ण कर्जा वितरण सरलीकृत बनाउन आग्रह
काठमाडौं, असार १६
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सहुलियत पूर्ण कर्जा प्रवाहमा समस्या देखिएकाले कर्जा वितरणमा सरलीकृत गर्न आग्रह गरेका छ । उनले युवाहरुलाई स्वरोजगार बन्न दिइने सहुलियतपूर्ण कर्जा बैंकले सरल तरिकाले प्रवाह गर्नुपर्ने बताए ।
राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको ‘युवा उद्यमशीलता विकासका लागि सहुलियतपूर्ण कर्जा प्रभावकारी कार्यन्वयन’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहुलियतपूर्ण कर्जा स्वरोजगार हुन चाहने युवाले कानुनी प्रक्रियाका कारण न्यून सङ्ख्याले मात्र पाएको बताए । उनले कर्जा प्रवाहको प्रभावकारी कार्यान्वयन नहुँदा युवा उद्यमशीलता बन्न नसकेको भन्दै कानुनमा समस्या देखिएकोले त्यसलाई सुधार गर्दैै लैजानुपर्ने बताए । सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले २०७५ कात्तिक २० गतेदेखि कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्याएको छ ।
‘कार्यविधिअनुसार प्रक्रिया पु¥याएर उद्यम गर्न चाहने युवालाई कर्जा प्रवाह गर्नुपर्दछ’, उनले भने, ‘कर्जा प्रवाहमा गर्न केही कानुनी समस्या छन् भने त्यसलाई संशोधन गर्नुपर्दछ ।’ उनले परिषद्ले सहुलियतपूर्ण कर्जा लिन चाहने युवालाई सहजीकरण गर्दै आइरहेको भन्दै अब त्यस्ता युवालाई लक्षित गरी गुनासो सुन्ने कक्षसमेत स्थापना गरिने बताए । परिषद्का उपाध्यक्ष ढुंगेलले कर्जा प्रवाह गर्नका लागि मध्यस्थता गर्न वा अन्य नीतिगत कानुनी वा व्यावहारिक समस्याको समाधान गरी थप समन्वय र सहजीकरण गर्न परिषद् तयार रहेको बताए ।
कार्यक्रममा सरोकारवाला निकायहरुले युवालाई स्वरोजगार बनाउनका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा प्रवाहलाई सरलकृत बनाइने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली युवा र राज्यले अपेक्षा गरेबमोजिमको कर्जा प्रवाह गर्न नसकिएको भन्दै आगामी दिनमा कर्जा प्रवाहको प्रक्रियालाई थप सरलीकरण बनाउने बताए । उनले कर्जा प्रवाहमा, नीतिगत कानुनी जनशक्ति र मानवीय स्वभावसमेत जिम्मेवार रहेको उल्लेख गरे ।
उनले आफ्नो बैंकको कूल कर्जाको न्यूनतम एक प्रतिशत कर्जा प्रवाह गर्ने नीति लिइएको भन्दै आफ्ना देशभरका सबै शाखालाई कर्जा दिन अनिवार्य गर्न थप उत्प्रेरित गरिने बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सेवाग्राहीको गुनासो सुनुवाइ र समाधान गर्ने प्रक्रियालाई प्राथमिकतामा राख्ने र सहजीकरण गरिने बताए । उनले कुनै कर्जा प्रवाह हुन नसकेको अवस्थामा आफ्ना बैंकका शाखालाई लिखितरुपमा नै जानकारी दिन लगाउने जानकारी दिए । उनले आफ्नो बैंकले कृषिलाई प्राथमिकतामा राखेको हुनाले युवालाई कृषि व्यवसायतिर आकर्षित गराउने बताए ।
परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले कर्जा प्रवाहमा समस्या देखिएको बताए । उनका अनुसार अहिलेसम्म उक्त कार्यविधिअनुसार २८ हजार ६ सय ८७ जनाले मात्रै कर्जा लिएका छन् । उनीहरुलाई बैंकले छ अर्ब एक करोड २९ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । कूल कर्जामध्ये ९४ करोड अनुदान रकम (ब्याज र बीमा)मा रहेको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए । रिटर्नि माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले कार्यविधिअनुसार कर्जा नपाइएको बताए । उनले झन्झटिलो प्रक्रियाका कारण विदेशबाट फर्किएका युवाले अझै कर्जा नपाएको बताए ।
उक्त कार्यविधिअनुसार व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक शिक्षा कर्जा, भूकम्पपीडित निजी आवास निर्माण कर्जा, कपडा उद्योग स्थापनाका लागि कर्जा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट मान्यताप्राप्त तालिमका लागि कर्जा गरी नौ प्रकारका कर्जा वितरण गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया