Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचितवनमा घर निर्माणसम्बन्धी परामर्श कार्यक्रम

चितवनमा घर निर्माणसम्बन्धी परामर्श कार्यक्रम


काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माणसम्बन्धी एक दिवसीय निःशुल्क प्राविधिक परामर्श सेवा दिने भएको छ । यही भदौ २९ गते शनिबार सिरेन बुटिक होटल चितवनमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो ।

घर निर्माण मात्र नभई समस्यारहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । परामर्शका लागि स्किल सेवाको प्रमुख कार्यालयबाट संस्थापन समूह नै चितवनमा हुनेछन् । चितवनमा बनेका प्रायः नयाँ घरहरूमा नै सिपेज, लिकेज र क्र्याकजस्ता समस्याहरू बढी देखिएकाले चितवन जिल्लामा यस कार्यक्रम आयोजना गरिएको चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताए । पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मानसम्मान, प्रतिष्ठा र शोखको विषय बनेको कम्पनीका चितवन शाखा प्रबन्धक सौगात तिवारीले बताए । जीवनभरको मेहनतको कमाइले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको पाँच महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कनेजस्ता विविध समस्या देखिने गरेका छन् । यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिनका लागि घरको डाक्टर उपनामले परिचित यस कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो ।

घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्नेछन् । घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू, घर निर्माण गर्दा हामीबाट हुने कमीकमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिँदा विभिन्न किसिमका जोखिमहरू आउने गरेका छन् । यसको लागि घर निर्माण गर्नुपूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाइ रहेको छ । जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तरजस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु आवश्यक हुने उनले बताए ।

‘यदि हामीले घर निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन सकेनौँ भने यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउने गर्छ । प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौँ साथसाथै प्रक्रियागत त्रुटिरहित हुने भएकाले समस्यारहित घर निर्माण गर्न सकिन्छ’, उनले भने । यसका अतिरिक्त प्राकृतिक विपद्, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्छ । विगत सात वर्षदेखि घरका विभिन्न समस्याको चेकजाँच र वारेन्टीसहित समाधान दिँदै आइरहेको कम्पनीले समस्यारहित घर निर्माणका लागि यस्ता निःशुल्क परामर्शहरू दिने गरेको छ ।

कम्पनीले ४० हजारभन्दा बढी घरहरूको चेकजाँच गरिसकको समेत संस्थापक महेश तिमिल्सिना बताउँछन् । परामर्श कार्यक्रमबाट घर बनाउँदै गरेका अथवा बनाउन लागेका सबै घरधनीहरूले प्रत्यक्ष लाभ लिन सक्नेछन् । यस कार्यक्रममा सुरूमा बुक गर्ने २५ जना मात्रै सहभागी हुन पाइने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x