Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारब्याजदर सस्तिए पनि बढेन कर्जा प्रवाह

ब्याजदर सस्तिए पनि बढेन कर्जा प्रवाह


बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि अहिले वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वित्तीय प्रणालीमा अहिले छ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न मिल्ने पैसा छ । ब्याजदर सस्तिएको छ, बैंकहरुले कर्जामा एकल विन्दुको ब्याजदर अफर गरिरहेका छन् । तर पनि बजारमा कर्जाको माग बढेको छैन । कुनै बेला ब्याजदर महँगो भएकाले कर्जा लिन नसकेको बताउने उद्योगी व्यवसायीले ब्याजदर सस्तो हुँदा पनि कर्जाको माग गरेका छैनन् । यसको एउटै कारण हो, बजारमा उपभोग बढ्न नसक्नु । वस्तु तथा सेवाको माग न्यून हुँदा उद्योगी व्यवसायीले बैंकबाट ऋण लिएर उत्पादन बढाउने काम गरेका छैनन् । यसैको असर बैंकहरुले प्रवाह गर्ने ऋणमा परेको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले विभिन्न समयमा निक्षेप सङ्कलन उपकरण बिक्री गरी बजारबाट तरलता प्रशोचन गर्दै आएको छ । बुधबार पनि वित्तीय प्रणालीबाट ४० अर्ब तान्नको लागि सूचना जारी गरेको थियो । तर, बैंकहरुले ३७ अर्ब ८० करोड रुपैयाँ राख्न निवेदन दिए । राष्ट्र बैंकले ३७ अर्ब ६० करोड रुपैयाँ प्रशोचन ग¥यो । बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले पटक—पटक प्रणालीबाट पैसा तानेर अधिक तरलता व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुले अहिलेसम्म गरेको निक्षेप सङ्कलन कुल ६४ खर्ब ६३ अर्ब रुपैयाँ छ । यसमध्ये ५१ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

 

वाणिज्य बैंकहरुले सङ्कलन गरेको निक्षेप ५७ खर्ब ३७ अर्ब रुपैयाँ छ । यसबाट ४५ खर्ब ९७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले कुल सात खर्ब २५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । यसमध्ये पाँच खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेर लगानी गर्न पाउँछन् । तर, अहिले बैंक तथा वित्तीय संस्थाले जम्मा ७८ दशमलव ९९ प्रतिशत लगानी गरेको देखिन्छ । यस आधारमा वित्तीय प्रणालीमा अहिले छ खर्ब २० अर्ब ७० करोड रुपैयाँ अधिक तरलता छ ।

निक्षेप संकलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x