Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशडाँडाखेत–राहुघाट प्रसारण लाइन सकिनुपर्ने समयमा आधा काम

डाँडाखेत–राहुघाट प्रसारण लाइन सकिनुपर्ने समयमा आधा काम


म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एन्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ ।

मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा २६ मिलियन डलरमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए । ‘तीस महिनामा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ’, उनले भने, ‘राहुघाटमा कमजोर भू–बनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माण अवधि लम्बिएको हो ।’

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माण गर्न लागिएको हो । एक सय ३२/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो । भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेसनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठदेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो ।

दुई सय २०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने जीआईएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामले बर्खायाममा पनि तीव्रता दिएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए । ‘पक्की नाला बनाएर भूमिगत र सतहको पानीलाई व्यवस्थापन गरेर सबस्टेसनको संरचना बनाउन थालिएको हो’, उनले भने, ‘सबस्टेसनमा जडान गर्ने उपकरण आयात भइसकेको छ ।’ अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।

एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ वटा टावरमध्ये हालसम्म ३० वटा निर्माण सकिएको र ४८ वटा निर्माणाधीन रहेका आयोजना प्रमुख अग्रवालले बताए । रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिका–९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x