Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशमधेश प्रदेशका छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

मधेश प्रदेशका छ हजार हेक्टर वनक्षेत्र अतिक्रमित


जनकपुरधाम । मधेश प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्याङ्कमा प्रदेशका वन क्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टरभन्दा बढी वन अतिक्रमण भएको जनाइएको छ । वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको लापरबाही तथा कमीकमजोरीका कारण मधेश प्रदेशमा वन अतिक्रमण बढेको उल्लेख छ ।

वन कर्मचारीले सुविधा तथा लाभ लिने स्थान मात्र रोज्ने कारण वन अतिक्रमण बढेको जनगुनासो समेत छ । मधेश प्रदेश वन मन्त्रालयबाट प्राप्त विवरणअनुसार प्रदेशमा करिब दुई लाख दुर्ई हजार दुई सय हेक्टर जमिन वनजंगलले ढाकेको छ । तर संरक्षण नहँुदा पाँच हजार छ सय ९२ हेक्टर वनको जमिन अतिक्रमण भएको जनाइएको छ । प्राप्त विवरणमा सप्तरीमा सात दशमलव २५ हेक्टर, सिरहामा नौ सय ९३ दशमलव एक सय ४० हेक्टर, धनुषामा आठ सय ७२ हेक्टर, महोत्तरीमा तीन सय २९ दशमलव ८० हेक्टर, सर्लाहीमा एक सय ६४ दशमलव ७८ हेक्टर, रौतहटमा तीन हजार एक सय ९० दशमलव ५४ हेक्टर, बारामा शून्य दशमवल ३४ हेक्टर तथा पर्सामा एक सय ३४ दशमलव ३२ हेक्टर वन अतिक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशको कुल क्षेत्रफलको २२ दशमलव आठ प्रतिशत वनको क्षेत्रफल रहेको छ । कुल वन क्षेत्रमध्ये ७१ हजार तीन सय ६९ हेक्टर वनको क्षेत्र पाँच सय चार वटा सामुदायिक वनका रूपमा व्यवस्थापन हुँदै आएको छ । ४० लाख नौ सय १२ दशमलव ३३ हेक्टर वन १६ साझेदारी वनका रूपमा व्यवस्थापन भइरहेको छ । नेपालमा पूर्णरूपमा वन क्षेत्र नभएका एक सय पाँच स्थानीय तह छन् । जसमध्ये करिब ८० प्रतिशत मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशका एक सय ३६ स्थानीय तहमध्ये ८९ मा वन क्षेत्र छैन । वन क्षेत्र भएका स्थानीय तहमध्ये पनि करिब तीन चौथाइ स्थानीयतहमा शून्य दशमलव पाँच प्रतिशतभन्दा कम वन क्षेत्र रहेको विवरणमा उल्लेख छ ।

वन संरक्षण तथा अतिक्रमणका सम्बन्धमा भए÷गरेका विभिन्न अध्ययनमा पहाड, तराई तथा भित्री मधेशका जिल्लामा विभिन्न राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, संरक्षित वन क्षेत्रका जमिन अतिक्रमण भएको बताइएको छ । नेपाल सरकारद्वारा व्यवस्थापन गरिएको वनमा संरक्षणको काम मात्र गर्ने गरिएको, संरक्षणका नाममा वृक्षारोपण गरिएको भए पनि काठको अवैध वन कटानी, काठ दाउरा चोरी र वन डढेलो र चोरी शिकारी रोक्ने कार्यतर्फ ध्यान नदिएको विश्लेषकको भनाइ छ । वनको सुरक्षाका लागि वन सुरक्षा निकाय भए पनि उनीहरू आफ्नो कार्यक्षेत्रमा नगएको वनका कर्मचारी बताउँछन् ।

मधेश प्रदेश वन निर्देशनालयका प्रमुख जगन्नाथप्रसाद जयसवालले वन अतिक्रमण हटाउने कार्य योजनाबद्धरूपमा अगाडि बढेको जानकारी दिए । वन अतिक्रमण हटाउने सम्बन्धमा जिल्लामा सूचना जारी समेत गरिएको बताउँदै यसमा राजनीतिक सहयोग तथा प्रतिबद्धताको खाँचो औँल्याए । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वन अतिक्रमण हटाउने विषयमा सम्बन्धित जिल्लाका वन प्रमुखहरूलाई निर्देशन समेत दिएको जानकारी दिए ।


क्याटेगोरी : मधेश प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x