Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशस्थानीय तहले तोकेका पर्यटन शुल्क खारेज गर्न माग

स्थानीय तहले तोकेका पर्यटन शुल्क खारेज गर्न माग


पोखरा । गत वर्ष कास्कीको माछापुच्छ्रे गाउँपालिकाले कार्यपालिकाबाटै निर्णय गरेर पर्यटन शुल्क तोक्यो । सो पालिका प्रवेशका लागि विदेशी पर्यटकलाई पाँच सय र स्वदेशी पर्यटकलाई एक सय रुपैयाँ शुल्क लिने निर्णय गरे पनि कार्यान्वयनमा जान सकेन । सो निर्णयको सर्वत्र विरोध भएपछि गाउँपालिकाले आफ्नो निर्णय फिर्ता लिएको थियो ।

हाल फेरि गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेको छ । गाउँपालिका प्रवेश गर्ने विदेशी पर्यटकलाई एक हजार र स्वदेशी पर्यटकलाई दुई सय रुपैयाँ तोकिएको छ । गाउँपालिकाको यो निर्णयप्रति ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । पालिकाको यो निर्णयले यहाँको पर्यटक अन्तै डाइभर्ट हुने खतरा बढ्ने टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यको चिन्ता छ । उनले भने, ‘स्थानीय तहले आफूखुसी पर्यटन शुल्क तोक्दै जाँदा यसले पर्यटनमा ठूलै खतरा निम्त्याउँँछ ।’

‘पदयात्रा पर्यटन हुने १३ वटा पालिका छन्’, उनले भने, ‘यसरी एकपछि अर्को पालिकाले पर्यटन शुल्क लिने हो भने यहाँ पर्यटक आउँदैनन्, यहाँ आउने पर्यटक अन्तै डाईभर्ट हुने खतरा हुन्छ ।’ १३ वटा गाउँपालिकाले एक/एक हजार तथा टिम्सबापत पाँच हजार गरेर कुल १८ हजार थप तिरेर पर्यटक नआउने उनले बताए । अध्यक्ष आचार्यले भने, ‘निर्णय सच्चिनुपर्छ । यदि सच्चिएन भने यसले पर्यटनमा नराम्रो धक्का दिन्छ ।’ पर्यटनको राजधानी भन्ने अनि पर्यटक आउने वातावरण बनाउनुको सट्टा झन् खर्चिलो र बोझिलो बनाउने हो भने त्यसको असर पर्यटनमा पर्ने भन्दै उनले निर्णय तत्काल सच्याउन आग्रह गरे ।

पर्यटनको सिजनको मुखमा पर्यटन शुल्क तोक्दा यसले समग्र पर्यटनमा असर पार्ने टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थीले बताउँछन् । यसले गर्दा आउने मुड बनाएका पर्यटक पनि नआउने उनको भनाइ छ । उनले कोभिडपछि थलिएको पर्यटनलाई उकास्न हातेमालो गर्नुपर्नेमा उल्टै पर्यटन शुल्क तोकेर व्यवसायीलाई निराश पार्ने काम गरेको उनको टिप्पणी छ । यसैबीच टान गण्डकीले पर्यटन शुल्क तोक्ने निर्णय खारेजीका लागि पहल गरिदिन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । टान गण्डकीको टोलीले गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा पर्यटन शुल्क खारेज गर्न, पर्यटन गतिविधि बढाउने कार्यक्रम गर्न, प्रवद्र्धनमा जोड दिन आग्रह गरिएको छ । सो अवसरमा मन्त्री बस्यालले कोभिडपछि थलिएको पर्यटनलाई उकास्ने समय भएकाले अहिले हतारिएर पर्यटन शुल्क तोक्न नहुने बताए । उनले सम्बन्धित गाउँपालिकामा बुझेर सो शुल्क फिर्ताका लागि पहल गर्ने आश्वासन दिए । ‘कोभिडका कारण व्यवसाय खत्तम अवस्थामा छ’, उनले भने, ‘यस्तो बेला पर्यटनमा सपोर्ट गर्ने कार्यक्रम ल्याउनुको सट्टा झन् समस्या पर्ने निर्णय गर्नु ठीक होइन, अहिले पर्यटन शुल्क भनेर लिने बेला नै होइन ।’


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x