Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुदूरपश्चिम सरकारले सोमबार बजेट ल्याउने

सुदूरपश्चिम सरकारले सोमबार बजेट ल्याउने


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सोमबार परिमार्जनसहित चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर प्रस्तुत गरिने जानकारी दिए ।

उनले भने, ‘जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट निर्माणको तयारी पूरा भइसकेको छ । यही भदौ ३१ गते सार्वजनिक गर्नेछौँ ।’ मुख्यमन्त्रीले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे । सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभई अलपत्र परेको थियो । सोही बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याउन लागेको मुख्यमन्त्री शाहले जानकारी दिए ।

बजेट पारित नहुँदा गत साउन १ गतेदेखि सरकारको राजश्व संकलन, खर्चलगायत अत्यावश्यक काम रोकिएका छन् । शाह नेतृत्वको नयाँ सरकारले अध्यादेशमार्फत राजस्व संकलन कार्य सञ्चालन गरिसके पनि बजेट शून्यताको अवस्था भने अझै हटेको छैन । प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ । केन्द्रमा बनेको समीकरणअनुसार कांग्रेसका नेता शाहको नेतृत्वमा गत साउन २२ गते नयाँ सरकार गठन भएको थियो ।

सोडारी नेतृत्वको तत्कालीन सरकारले चालू आवका लागि ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको थियो । योमध्ये चालुतर्फ ११ अर्ब सात करोड १९ लाख रुपैयाँ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख रुपैयाँ छुट्याइएको थियो । वर्तमान सरकारले ३० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x