Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुद‘थोरै बजेटले खेलकुद क्षेत्रमा सोचेअनुरूपको काम गर्न मुस्किल’

‘थोरै बजेटले खेलकुद क्षेत्रमा सोचेअनुरूपको काम गर्न मुस्किल’


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले हाल संघीय सरकारको २१ वटा मन्त्रालयमध्ये खेलकुद मन्त्रालयमै सबैभन्दा कम बजेट रहेको सुनाए ।

‘खेलकुदमा सबैभन्दा कम बजेट विनियोजन हुन्छ । २१ वटा मन्त्रालयमध्ये सबैभन्दा कम बजेट यसैमा छ । त्यसकारण तालिम सञ्चालन गर्न, खेलाडीलाई तलब दिन त्यति सजिलो छैन । विभिन्न संघहरूले आफ्नै किसिमको तलब निर्धारण गरेर दिइराखेका छन्,’ उनले भने । साथै, मन्त्री चौधरीले मूलपानीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डीपीआर तयार भइसकेको र बहुवर्षीय योजनाका लागि राष्ट्रिय योजना आयोगमा यही हप्ता पेश हुने बताए । सरकारले रकमको सुनिश्चितता गरिसकेपछि कार्यक्रम सुरु हुने उनको भनाइ थियो ।

यस्तै, वर्तमान सरकारले कीर्तिपुर रङ्गशाला तीन सय दिनमा तयारी गर्ने पहिलो निर्णय गरेको बताउँदै उनले त्यसका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । उक्त कामको टेन्डर गर्न बाँकी रहेको र तीन पटकमा काम गर्नुपर्ने सर्तमा टेन्डर गर्न लागिएको उनले जानकारी दिए । सो काम तीन सय दिनमा पूरा गर्न सम्भव नदेखिएपछि खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको उनले बताए । सहरी विकास मन्त्रालयले सो कार्य तीन सय दिनमा सक्ने प्रतिबद्धता जनाएपछि जिम्मा दिएको उनको भनाइ थियो । सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो । दर्शक बस्नका लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माणलगायतका आवश्यक संरचना तीन सय दिनभित्र निर्माण गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा उनले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताए । सो प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा हुनेछ । १०औँ राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा बन्दै गरेको रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । त्यहाँ १० हजार दर्शक बस्ने क्षमताको रङ्गशाला रहेको बताइएको छ । ‘पहिलोपल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाला निर्माण हुँदैछ । कर्णाली प्रदेशका मुख्यमन्त्री, खेलकुदमन्त्री सबैको जोश–जाँगर छ । संघीय सरकारले ६० करोड रूपैयाँ बजेट छुट्याएको छ’, उनले भने ।

रङ्गशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिनअघि आफैंले सम्पर्क गरेर बुझेको बताउँदै उनले दशैं अगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने बताए । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमै ११औँ राष्ट्रिय खेलकुलको घोषणा हुने उनले बताए । मन्त्री चौधरीका अनुसार ११औँ राष्ट्रिय खेलकुद मधेश प्रदेशमा हुनेछ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश गरिएको छ । मन्त्री चौधरीका अनुसार २२ देखि २४ वटा खेल सुर्खेतमा हुनेछ । बाँकी खेल नेपालगञ्ज अथवा काठमाडौंमा हुनेछ ।


क्याटेगोरी : खेलकुद, बैंक बित्त बजार, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x