दशैँको अग्रिम टिकट बुकिङ खुल्ने टुङ्गो किन लागिरहेको छैन?
काठमाडौं,बहुसङ्ख्यक नेपालीले मनाउने सबैभन्दा ठूलो चाडका लागि यातायातको अग्रिम टिकट बुकिङ खुल्ने समय नजिकिँदै गर्दा यातायात व्यवसायी र सरकारबीच सडकको अवस्था देखि राइड शेअरिङ नियमन समेतका विषयमा मतभेद देखिएको छ।
रोजगारी वा अध्ययनका लागि राजधानी सहितका प्रमुख सहरहरूमा बस्ने मानिसहरू दशैँ मनाउन आफ्नो परिवार भएका ठाउँमा जाने प्रचलनका कारण यो समयमा सडक तथा हवाई यात्रुहरूको चाप हुने गर्छ।
नेपालमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्दै आएका यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दशैँको अग्रिम टिकट बिक्री खुला गर्नु अघि “सरकारले कार्यान्वयन गर्न बाँकी प्रतिबद्धताबारे सम्झाउने” बताएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडबाडको समयमा हुने सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्था सहजीकरणबारे छलफलका लागि बुधवार यातायात व्यवसायीहरूलाई बोलाइएको बताएको छ। यातायात मन्त्री बलराम दाहाल समेत सहभागी हुने त्यही छलफलका क्रममा यातायात व्यवसायीका मागबारे पनि छलफल हुने मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले जानकारी दिए।महासङ्घले सरकारसँगको छलफलपछि मात्रै अग्रिम टिकट बुकिङको मिति तय गरिने जनाएको छ।
बहसमा सडकको अवस्थानेपाल प्रहरीले विगतका वर्षहरूमा तयार गरेको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा हरेक वर्ष दशैँको समयमा ८०० वटाको हाराहारीमा सवारी दुर्घटना हुने गरेका छन्।
सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गति, सडकको दुरावस्था र चालकको अनिद्रा लगायतका कारण चाडबाडको समयमा बढी सडक दुर्घटना हुने गरेको अधिकारीहरू बताउँछन्।
विगतमा वर्षहरूमा भन्दा यो पटक यातायात व्यवसायीहरूले सडकको अवस्थाबारे धेरै चिन्ता लिइरहेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले बताए।
“अहिले प्रमुख राजमार्गहरूकै अवस्था खराब भएका कारण गाडीहरूलाई निर्धारित समय भन्दा बढी लाग्ने अवस्था छ,” स्वाँरले भने।
“बाटोका कारण भनेको समयमा गाडी पुगेन भने टिकट बुकिङ गरेका यात्रुहरूले दोष हामीलाई लगाउँछन्। यो चिन्तालाई सरकारले कसरी सम्बोधन गर्छ, त्यसपछि हामी अग्रिम टिकट बुकिङ खुलाउँछौँ।”भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अहिले देशभर ७०० किलोमिटर भन्दा धेरै सडक विस्तारका आयोजना अघि बढिरहेका छन्।
यसमध्येका कैयौँ आयोजना देशका प्रमुख राजमार्गहरूमा जारी रहेका कारण सडक यात्रा कष्टकर र लामो भएका छन्।
“बाटोको अवस्था उपयुक्त नभएका कारण यो दशैँमा सवारी साधन चलाउने र यात्रा गर्ने दुवैलाई असुविधा हुने देखिएका कारण त्यसलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे पनि छलफलका लागि हामीले सरोकारवालाहरूलाई बोलाएका छौँ,” ढकालले भने।
७०० किलोमिटर सडकमा निर्माणको काममन्त्रालयका अनुसार राजधानीबाट बाहिरिने तथा भित्रिने प्रमुख सडक स्तरोन्नतिको काम चलिरहेका कारण बाटोको अवस्था राम्रो छैन। नागढुङ्गा-सिस्नेखोला सुरूङमार्ग निर्माणको काम चलिरहँदा राजधानीबाट बाहिरिने बित्तिकै यात्रुहरूले लामो समयसम्म जाम खेप्नुपर्ने बाध्यता छ। त्यसपछि पनि नागढुङ्गा मुग्लिङ सडक स्तरोन्नतिको काम नसकिएका कारण राजमार्गमा आवतजावत सहज छैन।
पूर्व पश्चिम राजमार्ग विस्तार अन्तर्गत सप्तरीको कञ्चनपुर देखि धनुषाको कमलासम्मको सडकखण्ड विस्तारको काम भइरहेका कारण उक्त सडकको यात्रा कष्टकर हुने यातायात व्यवसायीहरू बताउँछन्।
झापाको काकडभिट्टा देखि सुनसरीको लौकही खण्डमा पनि विस्तारको काम सुरु भए पनि यो क्षेत्रमा सडक “ठिकै अवस्थामा रहेको” उनीहरूले बताए।
पूर्व पश्चिम राजमार्गको काकडभिट्टा देखि गोरुसिङ्गेसम्को क्षेत्र चार लेनको बनाउने योजना अन्तर्गत कमला–ढल्केबर–बागमती खण्ड विस्तारको ठेक्का पनि हालै लागिसकेको छ। तर यो क्षेत्रमा सडकमा निर्माणको काम सुरु नभएको अधिकारीहरूले बताए।चितवनको मुग्लिङबाट पर्यटकीय सहर पोखरा जोड्ने सडक बिस्तारको काम चलिरहेका कारण यो सडकको यात्रा जोखिम पूर्ण हुनुका साथै लामो समय लाग्ने गरेको बताइन्छ। चितवनकै नारायणगढबाट रुपन्देहीको बुटवल जोड्ने सडकको दुरावस्थाका कारण पश्चिमतर्फ जाने यात्रुहरूले सास्ती खेप्दै आएका छन्।
काठमाण्डूबाट पूर्वतर्फ जाने अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायक देखि काभ्रेको धुलिखेल र त्यहाँबाट खावासम्मको सडक विस्तारको काम भइरहेका कारण गाडी फस्ने र जाम हुने समस्या रहेको व्यवसायीहरू बताउँछन्।
दशैँको मुखमा सरकार-व्यवसायी मतभेदयातायात व्यवसायी र सरकारबीच यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन, यातायात ऐनमा संशोधन, राइड शेअरिङ सेवालाई नियमन गर्ने जस्ता विषयलाई लिएर देखिएको मतभेदका कारण यो वर्ष पनि अग्रिम टिकट बुकिङ खुल्न ढिला हुने आशङ्का गरिएको छ।
पूर्व सचिव शरतचन्द्र पौडेलको संयोजकत्वमा गठित कार्यदलले एक वर्ष लगाएर तयार गरेको प्रतिवेदनमा सार्वजनिक यातायात सुधारका कैयौँ विषयहरू समेटिएका छन्।
उक्त प्रतिवेदनले औँल्याएको भाडा समायोजन, सडक इजाजत र राइड शेअरिङका विषयमा यातायात व्यवसायीहरूले सरकारको प्रतिबद्धता खोजिरहेको महासङ्घका अध्यक्ष स्वाँरले बताए।
“सरोकारवाला सबै पक्षले १३ महिना लगाएर तयार गरेको उक्त प्रतिवेदनमा समस्याको पहिचान र समाधानको उपाय सहितका सुझाव छन्। त्यो कार्यान्वयन होस् भन्ने हाम्रो कुरा हो,” स्वाँर भन्छन्।प्रतिवेदनमा भाडा समायोजनबारे दुईवटा सर्तहरू राखिएको छ।
जसमा इन्धनको मूल्यमा निश्चित प्रतिशत घटी वा बढी हुँदा “कुल सञ्चालन लागतमा रहेको इन्धनको अंश अनुसार स्वचालित रूपमा भाडा समायोजन हुने व्यवस्थाको सहज कार्यान्वयन गर्ने” र सञ्चालन लागतका अन्य सूचकहरूको बजार मूल्यका आधारमा समेत “आवधिक रूपमा भाडा समायोजन गर्ने” भनिएको छ।
महासङ्घका अध्यक्ष स्वाँर लामो समयदेखि सार्वजनिक यातायातको भाडा नबढेको कुरा आफूहरूले उठाउँदा दशैँको बहाना बनाइएको आरोप लगाइने गरिएको बताउँछन्।
“यही बेलामा भाडाको मोलमोलाइ गरे भनेजस्तो हुन्छ तर सरकारले लामो समयदेखि प्रतिबद्धता जनाएर पनि भाडा समायोजन नगरेका कारण यो विषय हामीले हरेक छलफलमा उठाउँदै आएको कुरा हो,” उनले भने।
राइड शेअरिङको विवाद
यातायात व्यवसायीहरूले राइड शेअरिङका रूपमा निजी सवारी साधनहरूको प्रयोगमा रोक लगाउन लामो समयदेखि दबाव दिँदै आएका छन्।
उक्त प्रतिवेदनमा व्यक्तिगत वा गैरव्यावसायिक स्वामित्वमा रहेका सवारीहरूका माध्यमबाट पनि यातायात सेवा सञ्चालन हुने गरेको सन्दर्भ उल्लेख गरिएको छ। प्रतिवेदनले “विशुद्ध कम्पनी प्रणाली अन्तर्गत मात्र सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने” सुझाव दिएको छ।यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले राइड शेअरिङ सेवालाई सरकारले उद्योगका रूपमा दर्ता गरेर सञ्चालन अनुमति दिएको र आम सर्वसाधारणमा यो सेवा लोकप्रिय देखिएका कारणबाट पनि निजी सवारी साधनको प्रयोगमा रोक लगाउन चुनौती रहेको बताउँछन्।
“राइड शेअरिङलाई कानुनले रोकेको छैन। नियमावली र कार्यविधिहरू बन्न बाँकी रहेकाले त्यसमा थप व्यवस्थित र जिम्मेवार बनाउन सकिएला तर सर्वसाधारणले मन पराएको सेवा उहाँहरूको मागका आधारमा नरोकौँ भन्ने यसअघि पनि भएका हुन्,” उनले भने।
दशैँका लागि गाडीहरू मर्मतमायातायात व्यवसायीहरूका अनुसार दशैँलाई लक्षित गरेर नयाँ गाडीहरू तयार गर्ने र सञ्चालनमा रहेका गाडीहरूलाई मर्मत गर्ने काम सुरु भएको छ।
“हामीले दशैँका लागि गाडीहरूको मर्मत र नयाँ गाडीहरू सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ। सबैलाई घर गन्तव्यमा पुर्याउने जिम्मेवारी हामी पुरा गर्छौ,” महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने।
सरकारले पनि दशैँको १५ दिन सार्वजनिक यातायातलाई कुनै सडक इजाजत अर्थात् रुट पर्मिटको नियम लागु नगरिने जनाएको छ।
यातायात मन्त्रालयका प्रवक्ता ढकालले दुर्घटना कम गर्नका लागि गाडीको अवस्था, लामो दूरीमा दुई जना चालकको नियम तथा क्षमताभन्दा बढी यात्रुहरू भए नभएको विषयमा अनुमगनको व्यवस्था मिलाइने बताए।
“हामीले दशैँको समयमा यात्रुहरूलाई कस्तो ठाउँमा खाना खुवाइन्छ, उनीहरूलाई न्युनतम सुविधा दिइएको छ छैन, तोकिएको भन्दा बढी भाडादर लिइएको पो छ कि भन्नेकुराको पनि अनुगमन गर्छौँ,” ढकालले भने।
अनलाइनबाट टिकट बुकिङयो वर्ष डिजिटल माध्यमबाट दशैँको टिकट बुकिङ लिनका लागि प्राविधिक तयारी भइरहेको यातायात व्यवसायी महासङ्घका अध्यक्ष स्वाँरले बताए।
उनले यसका लागि नयाँ बसपार्कको व्यवस्थापन गर्दै आएको कम्पनीसँग कुरा गरिएको र यो दशैँबाट निश्चित गन्तव्यहरूमा त्यो सुविधा प्रयोगमा ल्याउने तयारी भइरहेको बताए।
यसअघिबाटै डिजिटल माध्यमबाट टिकट बुकिङ गर्ने प्रणालीहरू प्रचलनमा भए पनि सबै यातायात व्यवसायीहरू यस्तो प्रणालीमा आबद्ध भएका छैनन्।
यातायात सुधार सुझाव कार्यदलले पनि अग्रिम टिकट र भाडा भुक्तानीलाई सहज र पारदर्शी बनाउन सुझाव दिएको छ।
“अनलाइन टिकेटिङ्गको सुविधा तथा प्रयोग विस्तार गर्ने,” प्रतिवेदनमा भनिएको छ।
(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया