Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशइस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै


महोत्तरी । इस्लाम धर्मावलम्बीहरुले सोमबार धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।

पर्वका अवसरमा यहाँ मुस्लिम बस्ती निकै चहलपहल छ । मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् । जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र रामगोपालपुरका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् ।

सोमबार बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ । राससका अनुसार पर्वको महत्व नै एकता र आपसी सद्भाव हुने जलेश्वर–६ का स्थानीवासी महमुद आलम बताउछन् ।

पर्वमा एकाबिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ ।

पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष भएको सम्सी–६ का समाजसेवी इम्तियाज अहमद बताउछन् । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।


क्याटेगोरी : मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x