Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश संरचनालाई थप सबल बनाउँदै लैजान आवश्यक

प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजान आवश्यक


काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा नेपाली कांग्रेस कानुन विभागद्वारा मंगलबार आयोजित ‘संविधानको एक दशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा उनले हाल देखिएका समस्या र कमजारीलाई सुधार्दै प्रदेश संरचनालाई थप बलियो बनाउन लाग्नुको विकल्प नरहेको बताए ।

यस्तै, उनले समानुपातिक समावेशितालाई पनि थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । ‘कतिपय समुदायलाई समानुपातिक प्रतिनिधित्व गर्नैपर्ने बाध्यता छ । यो देश सबैको हो, त्यसैले समावेशी सिद्धान्तका आकारमा सबै जातजातिलाई राज्यको मूल शासनप्रणालीमा ल्याउन पनि यो समानुपातिक समावेशी प्रणालीको आवश्यकता छ’, उनले भने । संविधानले परिकल्पना गरेअनुसार समानुपातिक विकासका लागि पनि यस व्यवस्थालाई पूर्णरूपमा लागू गर्नुपर्ने भन्दै उनले सोहीअनुसार संविधान संशोधन गरिने बताए । ‘जातीय छुवाछुत अन्त्यका लागि भएको कानुनी व्यवस्था व्यवहारमा लागू हुन सकेको छैन । प्रजातन्त्र स्थापना भएको लामो समय भए पनि अझै धेरै सुधारको खाँचो छ । स्वतन्त्र न्यायपालिकालाई बचाउनु छ’, उनले भने, ‘प्रजातन्त्र नै लोकतन्त्रको मूल कडी हो, प्रजातन्त्रलाई बन्धक बनाउने गरी संविधान संशोधन हुँदैन । प्रधानमन्त्री ओलीजी स्वयं प्रजातन्त्रको लागि लागेको, जेलनेल भोगेको व्यक्ति हो, यसमा सम्झौता गर्नुहुन्नँ भन्ने विश्वास छ ।’

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको जग संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता नै भएकाले त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याइन् । कांग्रेस केन्द्रीय सदस्य एवं कानुन विभाग प्रमुख मानबहादुर नेपालीले जनताले देखेका सपना, अपेक्षा र आशालाई यथार्थमा बदल्न लाग्नुपर्ने बताए । उनले संविधान निर्माणको नेतृत्व गरेको पार्टी कांग्रेस यसमा अझ बढी जिम्मेवार र सचेत हुनुपर्ने बताए । वरिष्ठ अधिवक्ता संविधानविद् पूर्णमान शाक्यले नेपाली कांग्रेसले राजामा निहित अधिकार जनतामा ल्याउन र जनप्रतिनिधिमार्फत संविधान निर्माण गरेर त्यसलाई वैधता दिन खेलेको भूमिका सह्रानीय रहेको र अब त्यसको संस्थागत विकासका लागि काम गर्नुपर्नेमा जोड दिए ।

उनले संविधानले अङ्गिकार गरेको मूल्य मान्यतालाई अझ बलियो बनाउने गरी क्रियाशील हुन आग्रह गरे । ‘सङ्घीय र प्रदेश सरकारस्थिर नभएसम्म स्थानीय सरकार मात्रै स्थिर भएर आर्थिक र पूर्वाधार विकासले गति लिन सक्दैन । स्थानीय सरकारबाट मात्रै जनता सन्तुष्ट हुन सकेका छैनन्’, संविधानविद् शाक्यले भने, ‘हाम्रो शासन व्यवस्थामा केही त्रुटि छ, यसमा सोच्नुपर्ने अवस्था आएको छ । प्रदेश तहमा पनि स्थायी सरकारको परिकल्पना गर्नुपर्छ, त्यहाँ प्रत्यक्ष निर्वाचन गरेर हेरौँ न ! संविधानलाई परिमार्जन गरेर त्रुटि सच्याउँदै अगाडि बढ्न आवश्यक छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x