Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले २० करोड सामाजिक पहलमा योगदान गर्ने

एनसेलले २० करोड सामाजिक पहलमा योगदान गर्ने


काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । १९औँ वार्षिकोत्सव मनाउन मंगलबार राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा कम्पनीले सो फाउन्डेसनको घोषणा गरेको हो ।

यस्तै, कम्पनीले सो फाउन्डेसनले आगामी ५ वर्षमा कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विगत १९ वर्षमा एनसेलले स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी दुई अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको जानकारी दिए । कम्पनीका सबै राम्रा कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउन फाउन्डेसनको स्थापना गरेको उनले बताए । कार्यक्रममा उनले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान गर्नु फाउन्डेसनको भिजन रहेको उल्लेख गरे ।

२०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको उनले बताए । साथै, सो समयमा कम्पनीले ग्राहकहरूलाई एक अर्ब ६० करोड रुपैयाँ बराबरको सेवा सुविधाहरू निःशुल्क उपलब्ध गराएको उनले स्मरण गरे । यसैगरी कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा कम्पनीले १० करोड रुपैयाँ र गत वर्षको जाजरकोट भुकम्पपछि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ । साथै, भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरूलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो । त्यसैगरी २०७१ सालमा देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गरेको थियो ।

साथै, कार्यक्रममा कम्पनीले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ । कार्यक्रममा जाब्बोरले गत वर्ष एनसेलले कसरी पलेशालाई सहयोग गर्ने निर्णय लियो भन्ने बारेमा पनि बताए । यस्तै, आफ्नो ब्रान्ड बाचा ‘आज, भोलि सधैँसँगै’ र एनसेल फाउन्डेसनको शुमारम्भसँगै एनसेलले आफ्नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लोस्तरमा सामाजिक पहलहरूका साथ धेरैभन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको जनाएको छ ।

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहलअन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरू कार्यान्वयन गरिने छन् । प्रत्येक एक आयोजनाले १० लाख सिड फन्डको रूपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटीन फर एटीन’अन्तर्गत खुला गरिएका परियोजना प्रदेशस्तरमा कार्यान्वयन रहेका छन् । सन् २००५ सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै नेपालमा यात्रा सुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको उल्लेख गरेको छ ।

साथै, कम्पनीले स्थापना कालदेखि हालसम्म तीन सय २० अर्ब रुपैयाँभन्दा बढी सरकारलाई कर तथा शुल्कहरू बुझाइसकेको जनाएको छ । सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्यान्डदेखि प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवादेखि क्लाउड र डेटा सेन्टर सेवासहित नेपाली व्यवसायहरूलाई उनीहरूका सञ्चार आवश्यकताहरू पूरा गर्न सफल बनेको छ । यस्तै, कम्पनीले १९औँ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, रक्तदान कार्यक्रम, स्किल क्याम्पलगायतका विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x