Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा


नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका शीर्ष राजनीतिक प्रतिद्वन्द्वी अरविन्द केजरीवालले भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएको केही दिनपछि मंगलबार राजधानी दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाललाई मार्चमा उनको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो ।

उनी भ्रष्टाचार अनुसन्धानको सामना गरिरहेका धेरै विपक्षी हस्तीमध्ये एक हुन् । उनको पार्टीले उनको गिरफ्तारीलाई मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले बनाएको ‘राजनीतिक षड्यन्त्र’ भनेको छ ।

सर्वोच्च अदालतले गत साता उनलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने वा आफ्नो कार्यालय नजाने सर्तमा जमानत दिएको थियो । केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिए ।

दिल्लीकी शिक्षामन्त्री आतिशीले अन्तरिमरूपमा उनको स्थान लिनेछन् । ४३ वर्षीया आतिशीले आफ्नो मनोनयनपछि अझै पनि मार्गदर्शनका लागि आफ्ना पूर्ववर्तीलाई हेर्ने बताए । ‘दिल्लीमा एउटै मात्र मुख्यमन्त्री छ, त्यो अरविन्द केजरीवाल हो’, उनले भने ।

आतिशी मुख्यमन्त्री बन्ने
आम आदमी पार्टी (आप)का नेता गोपाल रायले मंगलबार चाँडै निर्वाचनका लागि पार्टीको माग दोहोर्याउँदै जनताले अरविन्द केजरीवाललाई ‘ठूलो’ बहुमतले निर्वाचित नगरेसम्म आतिशीले दिल्लीको मुख्यमन्त्रीको जिम्मेबारी सम्हाल्ने बताएका छन् ।

‘अरविन्द केजरीवालले राजीनामा दिएपछि संसदीय दलको बैठकमा आगामी निर्वाचन नभएसम्म दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी आतिशीले लिने निर्णय भएको छ’ पत्रकार सम्मेलनमा उनले भने, ‘हामी अक्टोबर–नोभेम्बरमा चाँडोभन्दा चाँडो निर्वाचन गर्न चाहन्छौँ र जनताले केजरीवाललाई निर्वाचित गर्नेछन् ।’

उनका अनुसार बैठकमा विधायकहरूले आतिशीलाई दुईवटा जिम्मेबारी दिएका छन् । पहिलो भारतीय जनता पार्टी (भाजपा)को अवरोधका बाबजुद काम जारी राख्नु र अर्को आपले प्रयोग गर्ने सबै रणनीतिबाट दिल्लीका जनतालाई बचाउनु रहेको छ ।

रायले दिल्लीका मुख्यमन्त्री केजरीवालले आज आफ्नो पदबाट राजीनामा दिने र पुनः नयाँ सरकारको दाबी प्रस्तुत गर्ने जानकारी दिए ।

केजरीवालको उत्तराधिकारीका रूपमा आतिशी चयन भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै दिल्ली सरकारका मन्त्री कैलाश गहलोतले भने, ‘सबैले आतिशीको नाममा सर्वसम्मति जनाए ।’ गहलोतलाई मुख्यमन्त्री पदका लागि सम्भावित उम्मेदवारका रूपमा हेरिएको थियो ।

आपका राष्ट्रिय संयोजक तथा दिल्लीका मुख्यमन्त्री केजरीवालले मंगलबार पार्टी संसदीय दलको बैठकमा आफ्नो उत्तराधिकारीका लागि आतिशीको नाम प्रस्ताव गरे । राष्ट्रिय राजधानीमा आफ्नो आवासमा बसेको संसदीय दलको बैठकमा राखेको र उक्त प्रस्तावलाई विधायकहरूले समर्थन गरेका थिए ।

शनिबार केजरीवालले दिल्लीका जनताले आफूलाई ‘इमान्दार’ घोषणा नगरेसम्म मुख्यमन्त्री नबन्ने भन्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए । जनताले पुनः निर्वाचित गरेको अवस्थामा त्यो आफ्नो इमान्दारीको ‘प्रमाणपत्र’ हुने उनले बताए ।

कथित दिल्ली उत्पादन शुल्क नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार मामिलामा सर्वोच्च अदालतले जमानत दिएपछि तिहाड जेलबाट रिहा भएको दुई दिनपछि ५४ वर्षीय केजरीवालले उक्त घोषणा गरेका हुन् । उनले राष्ट्रिय राजधानीमा फेब्रुअरीमा हुने निर्वाचनअघि यसवर्षको नोभेम्बरमा निर्वाचन गराउन आह्वान गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x