Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारनेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर ?

नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर ?


काठमाडौँ, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरताबारे चासो व्यक्त गरेका हुन् ।
‘केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अङ्कभन्दा माथि र कारोबार रकम एक दिनमा ३० अर्ब रुपैयाँ हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम पाँच÷छ अर्ब रुपैयाँमा खुम्चिएको छ’, अर्थमन्त्री पौडेलले भने, ‘किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ ।’

वर्तमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजीबजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलको चासो थियो । ‘स्थिर र बलियो सरकार छ । बैंक वित्तीय संस्थामा ब्याजदर घटेको छ । तर, तीन हजारको बिन्दुसम्म पुगेको बजार टिक्न सकेन । यस्तो किन भइरहेको छ भन्ने जवाफ चाहन्छु’, उनले भने । अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विश्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिए ।

पुँजीबजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्नका लागि चनाखो हुन पनि अर्थमन्त्री पौडेलले नेप्सेलाई निर्देशन दिए ।अर्थमन्त्री पौडेलसँगै राजस्व सचिव दिनेशकुमार घिमिरे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यलगायतको टोली नेप्सेको कार्यालयमा निरीक्षण लागि पुगेको थियो । पुँजीबजारको विद्यमान अवस्थाको जानकारी, नेप्सेले गरिरहेका काम कारबाही तथा सुधारका लागि थाल्नुपर्ने पहलका विषयमा कर्मचारीसँग छलफलपछि राजस्व सचिव घिमिरेले पुँजीबजार सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । नेप्सेको आन्तरिक संरचनामा सुधार, दक्ष कर्मचारी व्यवस्थापनलगायतका काममा प्राथमिकतामा रहने उनको भनाइ छ ।

सेयरबजारमा ‘पर्ख र हेर’ रणनीति
सेयरबजार बुधबार सामान्य अङ्कले घटेर बन्द भएको छ । कारोबार सुरु भएको केही मिनेटमै घट्न थालेको बजार करिब आधा घण्टापछि सम्हालिएको थियो । तर, धेरै ठूलो उतारचढाव भने भएन । नेप्से दुई हजार पाँच सय ७६ दशमलव ७६ विन्दुमा कायम भयो ।

भदौ लागेपछि बजारमा लगातार गिरावट आउँदा लगानीकर्ताको मनोबल खस्किदै गएको छ । यही कारण बुधबार बजारमा लगानीकर्ताको उपस्थिति न्यून देखियो । अर्थात् लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा देखिन्छन् । त्यसैले नेप्से जम्मा चार अङ्कले घट्यो भने कारोबार रकम पनि साढे पाँच अर्ब हाराहारी झरेको छ ।

पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार नौ सय ६१ रुपैयाँको एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता सेयर किनबेच भएको छ ।कारोबार भएका दुई सय ४४ कम्पनीमध्ये एक सय ६३ वटाको सेयरमूल्य घटेको छ । ७४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने सातवटाको स्थिर रहेको छ ।

बैंकिङ समूह शून्य दशमलव ७६ प्रतिशत र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह दुई दशलमव ६८ प्रतिशत घटेको छ । त्यसपछि लघुवित्त एक दशमलव शून्य सात प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८३ प्रतिशत, अन्य समूह शून्य दशमलव ६३ प्रतिशत, व्यापार शून्य दशमलव ५७, लगानी शून्य दशमलव ४५, जीवन बीमा शून्य दशमलव ३१, जलविद्युत् शून्य दशमलव १७, विकास बैंक र होटल तथा पर्यटन शून्य दशमलव १२ प्रतिशत घटेका छन् ।कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै आठ दशमलव शून्य आठ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य रहेको छ ।


क्याटेगोरी : शेयर बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x