Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी

सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी


काठमाडौँ । खर्च सञ्चालनको लागि पर्याप्त बजेट नभएपछि सरकारले ऋण उठाएर खर्च गरिरहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८१ साउन र भदौमा सरकारले एक खर्ब चार अर्ब पाँच करोड रुपैयाँ ऋण लिएको छ । जसमा आन्तरिकतर्फ ९० अब रुपैयाँ र वैदेशिकतर्फ १४ अर्ब पाँच करोड रुपैयाँ छ । बजेट स्रोतको रूपमा सार्वजनिक ऋणको हिस्सा राखिने र सरकारले त्यसलाई प्राप्त गर्दै आफ्नो खर्चभार अगाडि बढाउने गर्छ ।

हाम्रो जस्तो विकासशील र अल्पविकसित देशहरूमा विकास बजेटको माग बढी हुने तर त्यसका लागि स्रोत कम हुने हुँदा घाटाको बजेट ल्याइन्छ । घाटा बजेट व्यवस्थापन गर्न वैदेशिक सहयोग एवं ऋण र आन्तरिक ऋणजस्ता उपकरणको भर पुर्नपर्ने विज्ञहरू बताउँछन् । अर्कोतर्फ चालू खर्चका लागि आन्तरिक स्रोत परिचालन गरे पनि विकास खर्चका लागि भने सार्वजनिक ऋण आवश्यक रहेको उनीहरूको भनाइ छ ।

सार्वजनिक ऋण बढ्दै जानु सामान्य विषय भएको कार्यालयका अधिकारीहरू बताउँछन् । बजेटले व्यवस्था गरेअनुरूप स्रोत परिचालन गर्नका लागि सार्वजनिक ऋण लिइएको कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा सार्वजनिक ऋण ४२ दशमलव ६५ प्रतिशत हुने र यो जोखिमपूर्ण नहुने कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए । विश्व मुद्राकोषले जीडीपीमा ५५ प्रतिशतभन्दा तलको अनुपातलाई खराब नमान्ने हुँदा नेपालको सार्वजनिक ऋणलाई लिएर समस्या नरहेको कार्यालयका उपसचिव पुडासैनीको भनाइ छ । अर्थतन्त्रलाई स्वःस्फूर्त चलायमान बनाईराख्न, विकास निर्माणका कार्यलाई सुचारु राख्न र आर्थिक सामाजिक दायित्व पूरा गर्न आवश्यक न्यून वित्त परिपूर्ति गर्ने दिशामा सार्वजनिक ऋण परिचालन एक महत्वपूर्ण माध्यम मानिने हुँदा नेपालजस्तो मुलुकलाई सार्वजनिक ऋण आवश्यक पर्ने उनको भनाइ छ । कार्यालयले आन्तरिक ऋण पहिलो त्रैमासमा उठाउने तयारी रहेको छ । पछिल्लो समय ब्याजदर कम भएको कारण आन्तरिक ऋण परिचालन गर्ने तयारीमा रहेको उपसचिव पुडासैनीले बताए ।

कार्यालयका अनुसार सार्वजनिक ऋण प्राप्तिसँगै यसको आकारमा समेत वृद्धि भएको छ । भदौ मसान्तसम्म तिर्न बाँकी जम्मा ऋण २५ खर्ब ३२८ अर्ब ६२ करोड रुपैयाँ छ । जसमा आन्तरिक ऋणको हिस्सा १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ र बाह्य ऋणको हिस्सा १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । कुल गार्हस्थ्य उत्पादनको आधारमा कुल सार्वजनिक ऋण ४४ दशमलव ३२ प्रतिशत रहेको छ, जसमा आन्तरिक २१ दशमलव ६६ प्रतिशत बाह्य २२ दशमलव ६६ प्रतिशत रहेको छ ।

सार्वजनिक ऋणको आकार बढ्दै जाँदाको यसको भुक्तानी दायित्व समेत बढ्ने निश्चित रहेको छ । कार्यालयका अनुसार भदौ मसान्तसम्म सार्वजनिक ऋण भुक्तानी ३९ अर्ब ६७ करोड रुपैयाँ रहेको छ, जसमा आन्न्तरिक ऋणको हिस्सा ३५ अर्ब रुपैयाँ र बाह्य ऋणको हिस्सा चार अर्ब ६७ करोड रुपैयाँ रहेको छ । सरकारले बजेट स्रोतको व्यवस्थापन गर्दै वित्तीय व्यवस्था गरेको हुन्छ जसको प्रयोग भनेको राज्यले लिएको विभिन्न ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि हो । पछिल्ला वर्षहरूमा सरकाले वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरेको रकम पुँजीगत बजेटभन्दा बढी रहेको छ जसले देशको आर्थिक अवस्था कमजोर रहेको जनाउने अर्थविद् केशव आचार्यले बताए । ‘पुँजीगत बजेटभन्दा वित्तीय व्यवस्थापनमा बढी रकम विनियोजन गर्नु भनेको मुलुकको वित्तीय स्थिति समेत निकै कमजोर छ भनेर बुझिन्छ, अर्थविद् आचार्यले भने, ‘त्यसैले गर्दा ऋणको परिचालन सही तरिकाले हुनु आवश्यक छ अझै विकास खर्चमा गर्नु अत्यन्त प्रभावकारी हुन्छ ।’

सार्वजनिक ऋण बढ्दैमा वा लिँदैमा आत्तिनु पर्दैन तर यसको प्रयोग कसरी भएको छ ? भन्ने मुख्य कुरा भएको विज्ञहरू बताउँछन् । अमेरिका, जापानलगायतका विकसित मुलुकहरूले कुल गार्हस्थ्य उत्पादको कयौँ गुण बढी ऋण लिएर आर्थिक विकास गर्नेगरेको हुँदा ऋण परिचालन महत्वपूर्ण कुरा हुने विज्ञहरू बताउँछन् । नेपालको हकमा भने मुलुकको आर्थिक तथा सामाजिक क्षेत्र कमजोर अवस्थामा रहेका छन् । तिनीहरूको सुधार गर्नका लागि स्वदेशी पुँजीले मात्र नपुग्ने भएकाले बाह्य सहयोगको आवश्यकता परेको देखिन्छ ।

सहयोगका अरु माध्यमभन्दा सुलभ माध्यम भनेको ऋण नै भएको विज्ञहरूको भनाइ छ । नेपालले लिएको ऋणको मात्रा सानो भए पनि त्यसको प्रयोगमा भने धेरै दुरूपयोग भएको देखिन्छ । ऋणबाट सञ्चालन भएका अधिकांश आयोजनाहरूमा आर्थिक अनियमितता र भ्रष्टाचार भएका कुरा महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनले देखाएको छ जसले गर्दा सचेत भने हुनु आवश्यक रहेको विज्ञहरूले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x