Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीभक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुर क्यान्सर अस्पताल गठन आदेश पहिलो संशोधन २०८१ सम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

सो प्रस्ताव स्वीकृत गरेसँगै कर्मचारी पदपूर्ति प्रक्रिया सुनिश्चित भएको छ । ‘कर्मचारीको वृत्तिविकासमा लामो समयदेखि देखिएको समस्या सम्बोधन गर्ने उद्देश्यले पेस गरिएको प्रस्ताव स्वीकृत भएको छ’, स्वास्थ्यमन्त्री पौडेलले भने, ‘अब अस्पतालको सेवा सहज र व्यवस्थित ढङ्गबाट अघि बढी क्यान्सर पीडितले राहत पाउने सुनिश्चित भएको छ ।’ यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैँ सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी ऐन संशोधनको अभावमा आवश्यक नियमावली बन्न नसक्दा वृत्तिविकासबाट बञ्चित हुँदै आएको थिए । अब ती कर्मचारीको वृत्ति विकासलगायतका समस्या समाधान भएको मन्त्री पौडेलले बताए ।

सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो । गठन आदेश स्वीकृत भएपछि यसअघि स्थायी भएर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन् । साथै, नयाँ बन्ने नियमावली एवं विनियमावलीअनुसार करारसहित आवश्यक जनशक्ति लोक सेवा आयोगमार्फत स्थायी हुने बाटो समेत खुलेको छ । अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासको प्रक्रिया अघि बढाउन बाटो खुलेको स्पष्ट गर्दै स्वास्थ्य मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीको समस्या समाधान भएपछि आवश्यक स्वास्थ्य जनशक्ति पठाउन सहज हुने वातावरण बनेको जनाएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा रायमाझी नियुक्त
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा अजित रायमाझीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । यसअघि कान्ति अस्पतालका दुईपटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन् ।

न्याम्सका संस्थागत समीक्षा बोर्ड (आईआरबी)का समेत अध्यक्ष रहेका रायमाझी शैक्षिक परिषद्का सदस्य समेत छन् । एमबीबीएस अल इन्डिया इन्स्ट्च्यिुट नयाँ दिल्लीबाट गरेका रायमाझीले बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी तथा बेलायतको लिभरपुल युनिभर्सिटीबाट पीएचडी गरेका छन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x