Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमनाइयो संविधान दिवस

मनाइयो संविधान दिवस


काठमाडौं । संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ लाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ ।

संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहीबार विशेष समारोह आयोजना गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत नागरिक समाजका तर्फबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । समारोहस्थलमा नेपाली सेनाको हेलिकोप्टरमार्फत ‘संविधान तथा राष्ट्रिय दिवस २०८१’ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो क्रममा शान्तिको प्रतीक सेतो परेवा समेत उडाइएको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, संघीय सांसद, जनप्रतिनिधि, संवैधानिक निकाय तथा सुरक्षा अंगका प्रमुख, विदेशी मित्रराष्ट्र तथा कूटनीतिक नियोगका प्रमुख, सामाजिक जीवनमा लब्ध–प्रतिष्ठित विशिष्ट महानुभाव र राष्ट्रसेवक कर्मचारीलगायत सहभागी थिए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । सो कार्यक्रममा उनले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताए । यस्तै, उनले संसद्मा रहेको सबै राजनीतिक दलको सहमतिबाट संविधान संशोधन अघि बढाइने जानकारी दिए । ‘संशोधन प्रक्रियामा संसद्को गणितीय संख्या मात्रै हेर्ने छैनौँ, सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ’, उनले भने, ‘संविधानलाई समयानुकूल बनाउनुपर्छ, समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो, ‘लिखत र मर्म’अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो ।’

प्रधानमन्त्री ओलीले प्राप्त अधिकारको रक्षा र कार्यान्वयन अबको लडाईं भएको उल्लेख गर्दै राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए । ‘एउटा युवाले देशभित्रै रोजगारी पाउँछु भनेर ढुक्क हुन पाओस्, श्रमिकले मर्यादित काम पाउँछु भनेर विश्वास गर्न सकोस्, नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच होस्, कसैको भोको शरीरले ओछ्यान छुन नपरोस् । बालबालिका सडकमा होइन, विद्यालयमा भेटिऊन्, किसानले कृषि उपजको बजार र मूल्य पाऊन्’ भन्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकार सचेततापूर्वक अघि बढिरहेको स्पष्ट पारे । सो वातावरण बनाउन सरकारले प्रथमतः मौलिक हक कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार पार्ने काम गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए ।

नीतिगतले रूपमा अहिले मौलिक हक कार्यान्वयनका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कार्ययोजना बनाउने कामले तीव्रता पाएको उनले बताए । मौलिक हक कार्यान्वयनका लागि आर्थिक स्रोत जुटाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको उनले जानकारी दिए । अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको जनाउँदै उनले वर्तमान सरकार सबै नागरिकलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न लागि परेको बताए ।

संविधानले सबैलाई प्रतिस्पर्धाका लागि समान आधार तयार गरेको जनाउँदै प्रधानमन्त्री ओलीले सार्वकालिक सामाजिक सुरक्षाबाट ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवासहित संरक्षण थालनी गरिएको स्पष्ट पारे । उनले ज्यालामा आधारित रोजगारीलाई मर्यादित एवं सुरक्षित बनाउने र योगदानमा आधारित सामाजिक सुरक्षामार्फत सेवा निवृत्तिपछि नागरिकको जीवन सहज र सुखी बनाउनेमा सरकार दृढ रहेको बताए । स्टार्टअप, स्वरोजगारी एवं उद्यमशीलतामा लगानी गर्ने र त्यसमा धेरैभन्दा धेरै युवालाई संलग्न गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x