Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन

नेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन


काठमाडौं । अब नेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन सुरु भएको छ । भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डस्ट्रिज प्रालिले भिडोल लुब्रिकेन्ट उत्पादनका लागि धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा उद्योग स्थापना गरेको हो ।

सो उद्योगको हालै एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेसनल, युकेका डाइरेक्टर अरिजित वासुले उद्घाटन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री सिंहले मधेश प्रदेश स्रोतमा धेरै धनी भएको र यसको सदुपयोग गरेर नेपाललाई समृद्ध बनाउनका लागि धेरै कार्य गर्न सकिने बताए । दैनिकरूपमा बढ्दो प्रविधि र प्रयोगसँगै अटोमोबाइल इन्ड्रस्ट्रीको दायरा समेत बढ्दै गएकोमा लुब्रिकेन्टजस्तो अत्यावश्यकीय वस्तुको उत्पादन नेपालमै सुरु हुनु ठूलो सफलता रहेको उनले बताए । लुब्रिकेन्ट उत्पादनसँगै नेपालमा रोजगारी सिर्जना र आर्थिक उत्पादनमा कम्पनीले ठूलो सहयोग पुर्याउने उनको विश्वास छ ।

भिडोल इन्टरनेसनल, युकेका निर्देशक अरिजित वासुले नेपालमा लुब्रिकेन्ट बजारमा निकै प्रतिस्पर्धा भए पनि गुणस्तरीय उत्पादन भएपछि सबैको रोजाइमा पर्ने र रोजगारी समेत सिर्जना हुने बताए । उनले यो स्तरको प्लान्ट बनाएर लुब्रिकेन्ट उत्पादन गर्नु नेपालको लागि गौरवको विषय समेत भएको बताए । युनाइटेड लुब्रिकेन्ट इन्डस्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले करिब ५० करोडको लागतमा निर्माण भएको उद्योगबाट उत्पादन हुने लुब्रिकेन्ट, ग्रिज र अन्य उत्पादन विदेशबाट आयात गरेकोभन्दा केही कम मूल्यमै उपलब्ध हुने बताए ।

युनाइटेड लुब्रिकेन्ट इन्डस्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले सो उद्योगबाट हुने लुब्रिकेन्ट उत्पादन प्रक्रियाको समग्र प्रक्रियाबारेमा जानकारी प्रदान गरे । एक लाख ७५ हजार आठ सय ७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिकरूपमा प्रतिसिफ्ट एक लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ । उद्योगले आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्छ र तयारी लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्छ । कारखानाले दुई लाख लिटर लुब्रिकेन्ट स्टोरेज ट्याङ्क बनाएको छ ।

हाल सो उद्योगमा युकेको प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड भिडोलको उत्पादन समेत सुरु भइसकेको छ । योभन्दा पहिले नेपाली ब्रान्ड ‘नेपाल गोल्ड’ लुब्रिकेन्ट समेत यहाँबाट उत्पादन भइरहेको छ । सो उद्योगमा सम्भव भएसम्म स्वदेशी कच्चा पदार्थ नै प्रयोग गरिने बताइएको छ । यहाँ करिब ५० जनाले रोजगारी पाएका छन् । भारत र बेलायतबाट आएका प्राविधिकहरूले उद्योगका कामदारलाई प्रशिक्षण दिइरहेका छन् । बेस आयल र एडिटिभ्सको समिश्रण गरी लुब्रिकेन्ट बनाइन्छ । जसमा एडिटिभ्सको अनुपात गुणस्तरअनुसार ४ देखि १२ प्रतिशत रहन्छ । उत्पादित लुब्रिकेन्ट स्वचालित प्रणालीबाटै प्याकेजिङ हुन्छ ।

विश्वका १२ देशमा भिडोलको ब्रान्ड लाइसेन्सी उपलब्ध भएको र यो लाइसेन्स प्राप्त गर्ने नेपाल १२औँ देश बनेको छ । ती देशका १८ स्थानमा भिडोल लुब्रिकेन्ट ब्लेन्डिङ हुने गर्छ र ७५ भन्दा बढी देशमा यसको उपस्थिति छ । भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ । साथै यसको प्रयोग उद्योगहरूमा पनि हुँदै आएको छ । भिडोललाई विश्वका प्रायः सबैजसो ठूला र प्रख्यात अटो उत्पादकले आफ्नो सवारी साधनमा ओईएम प्रोडक्टमा रूपमा प्रयोग गर्न सिफारिस गरेका छन् ।

साथै, कम्पनीले हालै डिलर मिट पनि आयोजना गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता रहेको थियो । कार्यक्रममा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले कम्पनीको अबको रणनीति र विश्व बजारमा भिडोललाई अझै उल्लेख्यरूपमा पुर्याउने योजनाका बारेमा जानकारी दिए । सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले भिडोल लुब्रिकेन्टको नेपालका लागि फ्रेन्चाइजी युनाइटेड लुब्रिकेन्ट इन्डस्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गरे ।

कार्यक्रममा भिडोल लुब्रिकेन्टमा लामो समयसम्म सेवा गरेकोमा जनरल म्यानेजर दिनेश खनाललाई ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरिएको थियो भने सबै डिलर प्रतिनिधिहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x