Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुपथ मूल्य पसलमा भीड

सुपथ मूल्य पसलमा भीड


काठमाडौं । सरकारले अघिल्ला वर्ष जसरी यो वर्ष पनि चाडबाडलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । चाडबाडको लागि आवश्यक पर्ने सामग्रीमा केही मूल्य छुट दिई उपभोक्तालाई राहत दिने उद्देश्यले बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । सुपथ मूल्य पसलबाट दुई दर्जनभन्दा दैनिक प्रयोग हुने सामग्रीहरू छुट मूल्यमा पाउन सक्ने खाद्यले जनाएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याइएको सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन् । उनले विभिन्न प्रकारका चामल, दाल, गेडागुडी, पिठो, चिउरा, नून, चिनी, चियापत्ती, घ्यू र तेजन्य सामग्रीहरू बिक्रीमा ल्याएको बताइन् । उनले खाद्यन्न, दालजन्य र तेलजन्य सामग्रीका साथै ग्यास तथा ग्यास सिलिन्डर समेत बिक्रीमा राखेको बताइन् । ‘चाडबाडको क्रममा दशैँ नजिकिएसँगै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो दशैँपछि आउने तिहार र छठसम्म पसल सञ्चालनमा निरन्तर आउनेछ’, उनले भनिन्, ‘छुट मूल्यमा सामग्री पाउने हुँदा उपभोक्तालाई राहत हुनेछ ।’

खाद्यले प्रतिकिलोग्राम चामलमा पाँच रुपैयाँदेखि सात रुपैयाँ, दालमा पाँच रुपैयाँ, सिमीमा पाँच रुपैयाँ, क्वाँटी, चिउरा, आँटा र चिनीमा पनि पाँच रुपैयाँ छुट दिएको छ । त्यस्तै प्रतिलिटर तेलहरूमा सात रुपैयाँ र घ्यूमा १० रुपैयाँ छुटको व्यवस्था गर्दै बिक्रीमा ल्याएको छ । खाद्यले दुग्ध विकास संस्थानले उत्पादन गरेको घ्यू र साल्ट ट्रडिङले बिक्रीवितरण गर्दै आएको नुन र चिनी पनि सुपथ मूल्य पसलमा बिक्री गर्न लागेको हो भने २८ प्रकारका खाद्य सामग्रीहरू बिक्री गरिन लागेको हो । बिहीबारदेखि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल ४२ जिल्लामा सञ्चालन हुने वाणिज्य मन्त्री दामोदर भण्डारीले बताए । मन्त्री भण्डारीले देशभर रहेका करिब ४२ वटा जिल्लाको ६३ वटा बिक्री केन्द्रहरूबाट सुपथ मूल्य पसलहरूबाट खाद्यन्नलगायतका वस्तु खरिद गरी उपभोक्ता लाभान्वित हुनसक्ने बताए । काठमाडौं उपत्यका, पोखरा, विराटनगरलगायतका सहरकेन्द्रित मात्र नभई धेरै जिल्लाहरूमा सुपथ मूल्य पसल राखी उपभोक्तालाई राहत दिने काम गरेको खाद्यले जनाएको छ । यस्ता पसलहरू आवश्यकतानुसार थप जिल्ला र स्थानहरूमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरूको माध्यमबाट तोकिएबमोजिमको छुट पाउन सकिनेछ । चाडबाडको समयमा निजी व्यापारीहरूले आफूखुशी मूल्य बढाउने हुँदा बजार व्यवस्थित गर्न तथा नागरिकहरू महँगीको चपेटामा नपरुनु भनेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको खाद्यका अधिकारीहरू बताउँछन् । काठमाडौं उपत्यकामा भने ‘होम डेलिभरी’को व्यवस्था गरिएको छ । खाद्यका अनुसार काठमाडौं चक्रपथभित्र ‘होम डेलिभरी’को व्यवस्था गरिएको छ । ‘होम डेलिभरी’को सुविधा लिनका लागि पाँच हजार मूल्यभन्दा माथिका सामान खरिद गर्नुपर्नेछ ।

त्यस्तै खाद्यले मासुका लागि खसीबोका र च्याङ्ग्रा समेत बिक्री गर्ने भएको छ । दशैँका लागि एक हजार पाँच सयवटा खसीबोका र तीन सयवटा चयाङ्ग्रा ल्याउन लागेको हो । उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्रीवितरण गर्ने तयारीमा खाद्य रहेको छ । मूल्य भने निर्धारण नगरेको खाद्यले गत वर्ष भने जिउँदो खसीको मूल्य प्रतिकिलो ग्राम छ सय ७० रुपैयाँ र च्याङग्राको मूल्य प्रतिकिलोग्राम एक हजार दुई सय ५० रुपैयाँ तोकेको थियो । सो मूल्यमा खसीबोका तथा च्याङ्ग्रा बिक्री नभएपछि मूल्य घटाएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x