व्याजदर धेरै घट्दा पनि लगानी किन बढेन ?
काठमाडौं । पछिल्लो दिन नेप्से परिसूचक निकै घट्यो । त्यो कस्तोसम्म भने अर्थ मन्त्रालयलाई समेत यसले चासो दिन बाध्य बनायो । निरन्तर घटेको सेयरबजारबारे बुझ्न अर्थमन्त्री आफैँ सम्बन्धित निकायका अधिकारीहरूसँग टेलिफोन वार्ता गर्न बाध्य भए । त्यतिले नपुगेर उनी आफैँ नेप्सेको कार्यालय पुगेर एक घण्टासम्म बसे । त्यहाँ उनको प्रश्न थियो, तीन हजारको हाराहारीमा पुगेको नेप्सेको परिसूचक एकैपटक कसरी २५ सयको हाराहारीमा ओर्लियो ? तर यसको जवाफ दिने कसैले आँटै गरेनन् । यसरी नै समाचारहरू बाहिर आएका छन् । अर्थमन्त्रीको यस्तो छट्पटी स्वाभाविक पनि हुनुपर्छ । उनी अर्थमन्त्री भएको वा हुने सन्दर्भ चल्न थालेपछि । पहिले नेप्से यसरी बढ्यो कि जोकसैले कल्पना पनि गरेका नहुँदा हुन् । यसको कारण के थियो भन्ने आफ्नो ठाउँमा होला । त्यसको समुचित अध्ययन हुन सकेको छैन तर नेप्सेको यस्तो परिसूचकले अर्थमन्त्रीलाई अर्थतन्त्र सुधारिएको भनेर देखाउने एउटा उदाहरण दियो । जब यो घटेको देखिन थाल्यो अनि अर्थमन्त्रीलाई छटपटी हुने नै भयो ।
उता नेप्से यस्तो अचाक्ली बढेको र त्यहीरूपमा घटेको देखिन थालेकै बेला यता बैंकहरूमा पैसा थुप्रिएको थुप्रियै भइरहेको थियो । राष्ट्र बैंकको काम एक प्रकारले तरलता खिच्नेतर्फ मात्रै केन्द्रित हुनुपरेको अवस्था पनि प्रकट भइरहेको थियो । यसबारे भने अर्थमन्त्रीको कुनै चासो देखिएन । वास्तवमा नै अर्थतन्त्र सुध्रिनका लागि वा सुध्रिएको देखाउनका लागि यो विषय महत्वको थियो । निक्षेपका तुलनामा लगानी घटेर आएको यस्तो स्थितिले अर्थलाई प्रभाव नपारी छाड्दैन । तर यो कुरा नेप्सेको सूचनाजस्तो आजको आजै र त्यो पनि क्षणक्षणको अवस्था देखिने देखाउने विषय यो होइन । लगानी बढेको अवस्थामा सरकारका आम्दानीका स्रोत बढ्छन्, रोजगारीका अवसरहरू बढ्छन् । एक प्रकारले देश आत्मनिर्भरतातर्फ लाग्न सक्छ । बैंकहरूले प्रत्येक पछिल्ला महिना व्याजदर घटाएको घटायै छन् । व्याजदर घट्ने यस्तो क्रम प्रत्येक महिना कायम हुँदैछ । पछिल्लो समय त ब्याजदर घटेर न्यूनतम विन्दुमा आइपुग्दा समेत बैंक तथा वित्तीय संस्थामा निक्षेप मात्रै थुप्रिएको देखियो । राष्ट्र बैंकका अनुसार पनि भदौ अन्तिमतिर आइपुग्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनको अंक ६६ खर्बको हाराहारीमा प्रकट भयो । यो हालसम्मकै सबैभन्दामाथि रहेको भनी बताइयो । गएको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप अंक ६४ खर्ब ४७ अर्ब थियो । त्यसपछिका केही दिनमा नै झण्डै ६० अर्बले निक्षेप बढेको देखिनु सामान्य होइन ।
यो बेलासम्म प्रयोग हुँदै आएको निक्षेपलाई घटाउने प्रमुख औजार भनेको व्याजदर घटाउने नै हो । यसलाई अचूक भनिँदै आइने गरिएको थियो । तर यस्तो ब्रह्मास्त्रको प्रयोग भइरहँदा पनि बैंकमा पैसा थुप्रने क्रम रोकिएन । भदौमा मुद्दती निक्षेपतर्फ औसत छ दशमलव ५२ प्रतिशत व्याजदर निर्धारण भएको थियो । २० वाणिज्य बैंकले असोजमा थप घटाएर छ दशमलव ३९ प्रतिशत कायम गर्ने निर्णय गरेर त्यो लागू पनि भयो । विगतको उदाहरण के छ भने बैंक व्याजदर घट्ता लगानीकर्ताले आफ्नो लगानी बढाउने गर्छन् । यसपटक त्यस्तो भएन । जति व्याज घटाए पनि बैंक तथा वित्तीय संस्थाबाट निक्षेप घटेन । निक्षेपको व्याजदर घट्दा पनि अरू त अरू सेयरबजारसम्म लगानी भएन यो भनेको कतै न कतै केही खोट छ भन्ने नै हो । सेयरबजार विस्तारै ओरालो लाग्न थालिसकेको अवस्थामा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी बढ्ला भन्ने त सोच्न पनि सकिँदैन । यसको कारण तत्काल नै खोजिनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया