Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा इन्टरनेसनल बलुन फेस्टिभल हुने

पोखरामा इन्टरनेसनल बलुन फेस्टिभल हुने


काठमाडौं । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेसनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिस्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव पोखराको लौरुकदेखि चंखपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुने नेपाल बलुन प्रालिका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीहरूको सहभागिता रहने छ । फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरूले अपेक्षा गरेको उनले बताए । कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुने उनको विश्वास छ । आयोजकले हालै राजधानीमा एक कार्यक्रम गरी फेस्टिभल गर्ने घोषणा गरेको हो । सो कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेन्डरमा नयाँ कार्यक्रम थप भएको बताए । महानगर सो कार्यक्रमको संरक्षक र प्रवद्र्धक रहने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीका निर्देशक विवि ढकालले प्राकृतिक स्रोत र साधनले धनी पोखरा पछिल्लो समय साहसिक पर्यटनका लागि पनि गन्तव्य बन्दै गइरहेको बताए । महोत्सवमार्फत कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने लक्ष्य लिइएको उनको भनाइ छ । आयोजकका अनुसार फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरूले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन् । करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ ।

महोत्सवमा करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । फेस्टिभलका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहनेछ । फेस्टिभलमा एकैपटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने विभिन्न स्वादिस्ट खानाका परिकार पनि उपलब्ध हुनेछ । फेस्टिभल आयोजना गर्नका लागि छ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, गण्डकी प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x