Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यातभन्दा आयात ११ गुणा बढी

निर्यातभन्दा आयात ११ गुणा बढी


काठमाडौं । सरकारले देशभित्र उत्पादित वस्तुको निर्यात बढाउन ‘वाणिज्य नीति, २०७२’, ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ र ‘नेपाल व्यापार एकीकृत रणनीति, २०८०’ निर्माण गरेको छ । तर, यसको कार्यान्वयन फितलो हुँदा वैदेशिक व्यापारमा आयात र निर्यातबीचको फरक उच्च रहने गरेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातको तुलनामा आयात झण्डै ११ गुणा बढी छ । विभागका अनुसार चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँको आयात भएको छ भने २५ अर्ब नौ करोड ३१ लाख रुपैयाँको निर्यात भएको छ । एक वर्षअघिको तुलनामा आयात एक प्रतिशतले बढेको छ तर निर्यात पाँच प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा आयात दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ र निर्यात २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ थियो ।

नेपालमा भान्सामा प्रयोग हुने उपभोग्य वस्तुदेखि महँगा सवारीसाधन, पेट्रोलियम पदार्थलगायत अधिकांश वस्तुको आयात गर्नुपर्ने अवस्थाका कारण मुलुकको व्यापार सधैँ घाटामा रहने गरेको छ । अर्थशास्त्री केशव आचार्यले सरकारले कृषि, पशुजन्य, उत्पादन, सेवा, प्रविधिलगायतका दर्जनौँ उद्योगहरूमा लगानी नगरेको कारण उपभोग्य वस्तु समेत आयात गरेर खानुपर्ने बाध्यता रहेको बताए ।

समीक्षा अवधिमा वैदेशिक व्यापार एक प्रतिशतले बढेको छ । साउन र भदौमा कुल वैदेशिक व्यापार दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा दुई खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ थियो । सरकारले सहजकर्ता, उत्पेरक र नियामकको भूमिका निर्वाह गर्दै निजी क्षेत्रको सक्रिय सहभागिता अभिवृद्धि गर्ने र विश्वबजारको मागअनुरूपका तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमतायुक्त वस्तुहरूको पहिचान, छनोट, विकास, प्रवद्र्धन र निर्यातका लागि निजी क्षेत्रसँग समन्वय गरिनेलगायतका रणनीति लिई व्यापार घाटा कम गर्ने उद्देश्य सरकारले लिएको छ, कार्यान्वयन भने भएको छैन ।

१४ अर्बको पेट्रोलियम इन्धन आयात
चालू आर्थिक वर्षको भदौमा सबैभन्दा बढी परिणाममा पेट्रोलियम पदार्थको आयात गरिएको छ । समीक्षा अवधिमा १४ अर्ब ४९ करोड ९१ लाख रुपैयाँबराबरको पेट्रोलियम पदार्थको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोल छ अर्ब ८९ करोड ५५ लाख रुपैयाँ, डिजेल पाँच अर्ब ८४ करोड ५६ लाख रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास एक अर्ब ७५ करोड ७९ लाख रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोल इन्जिनका सवारीसाधन (एक हजार सीसीदेखि १५ सय सीसी क्षमतको) एक अर्ब ५९ करोड ८० लाख रुपैयाँ, विद्युतीय सवारीसाधन एक अर्ब ५४ करोड ३१ लाख रुपैयाँ, मोबाइल एक अर्ब २५ करोड आठ लाख रुपैयाँ, मोटरसाइकलका पाटपुर्जा एक अर्ब ५४ करोड ३१ लाख ७० हजार रुपैयाँ, कच्चा सूर्यमूखी तेल एक अर्ब १३ करोड ६५ लाख रुपैयाँ, फलामजन्य सामग्री ९६ करोड ५२ लाख ९६ हजार रुपैयाँबराबरको आयात गरिएको छ ।

करिब दुई अर्बको गलैँचा निर्यात
चालू आर्थिक वर्षको भदौसम्म करिब दुई अर्ब रुपैयाँको गलैँचा निर्यात गरिएको छ । समीक्षा अवधिमा गलैँचा एक अर्ब ९९ करोड ९६ लाख रुपैयाँ, चिया एक अर्ब १४ करोड २४ लाख ३२ हजार रुपैयाँ, उन एक अर्ब सात करोड १० लाख रुपैयाँ, जुसन ९२ करोड ७१ लाख ९९ हजार रुपैयाँ, र्यान ८५ करोड ६१ लाख २६ हजार रुपैयाँ, स्टिल तथा फलामजन्य सामग्री ७९ करोड ८३ लाख पाँच हजार रुपैयाँ, आयल केक ७३ करोड ९३ लाख र रुपैयाँ र जुटजन्य सामग्री ७१ करोड ६० लाख ८२ हजार रुपैयाँ र पस्मिना ६२ करोड २० लाख ६५ हजार रुपैयाँबराबरको निर्यात भएको छ ।

सबैभन्दा बढी व्यापार घाटा भारतसँग
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको भदौसम्म सबैभन्दा बढी व्यापार घाटा नेपालले भारत, चीन र युक्रेनसँग बेहोरेको छ । समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै भारतसँग एक खर्ब ४४ अर्ब ६६ करोड रुपैयाँ, चीनसँग ५१ अर्ब ८० करोड ३९ लाख लाख रुपैयाँ युक्रेनसँग चार अर्ब ७१ करोड आठ लाख रुपैयाँ, कतारसँग चार अर्ब दुई करोड ८१ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । समीक्षा अवधिमा नेपालले अष्ट्रेलियासँग तीन अर्ब ७४ करोड ६४ लाख रुपैयाँ, मलेसियासँग दुई अर्ब ५९ करोड ३५ लाख रुपैयाँ, इन्डोनेसियासँग दुई अर्ब ५८ करोड दुई लाख रुपैयाँ र बहराइनसँग दुई अर्ब ३० करोड ७९ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x