Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतालिवानको सत्तामा पीडित महिला

तालिवानको सत्तामा पीडित महिला


न्युयोर्क : अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको अफगानिस्तानको तालिबान सरकार महिलाप्रति थप व्रूmर बनेको छ । महिलाका अधिकार खोस्दै अधिकारविहीन बनाएको तालिबानले सार्वजनिक स्थलमा बोल्न र अनुहार देखाउनसमेत प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थानमा सधैँ बाक्लो कपडाले शरीर र अनुहार छोप्न महिला तथा बालिकालाई निर्देशन दिइएको छ ।
तालिबान सरकारले ल्याएको यो नयाँ कानुनलाई सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजाले अनुमोदन गरेसँगै कार्यान्वयनमा आएको छ । यो कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घ र धेरै मानवअधिकार सङ्गठनले तालिवान सरकारको यस निर्णयप्रति आपत्ति जनाएका छन् । राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय मानवअधिकार नियमविपरीत भनेको छ । तालिबानले भने यी कानुनको कारण दिँदै भनेको छ, “महिलाको आवाजले पनि पुरुषलाई विचलित पार्न सक्ने छ । यसबाट बच्न महिलाले सार्वजनिक स्थानमा बोल्नबाट जोगिनुपर्छ ।”

तालिबानले महिलाहरूलाई घरमा ठूलो स्वरमा गीत गाउन र पढ्न पनि प्रतिबन्ध लगाएको छ । नयाँ कानुन उल्लङ्घन गर्ने महिला वा बालिकालाई कडा सजाय दिइनेछ । महिलाबाहेक तालिबानले पुरुषमाथि पनि केही प्रतिबन्ध लगाएको छ । घरबाट बाहिर निस्कँदा पुरुषले पनि आफ्नो शरीर घुँडासम्म छोप्नु पर्नेछ ।

यसै वर्ष तालिबानले ६३ जनालाई समलिङ्गी सम्बन्धको आरोपमा कोर्रा र कुटपिटको सजाय दिएको छ । जसमा १४ जना महिला थिए । यी मानिसलाई समलैङ्गिकता, चोरी र अनैतिक सम्बन्धमा दोषी ठहर गरिएको थियो । तालिबानले समलैङ्गिकतालाई इस्लाम विरोधी मान्छ । उसले मानिसहरूलाई इस्लामको मार्ग अनुसरण गर्न आग्रह गरेको छ । त्यसो नगरे कारबाही गर्ने धम्की पनि दिइएको छ ।

सर्वोच्च नेता अखुन्दजाले यसै वर्ष मार्चमा जारी महिलाविरुद्धको आदेश कुनै पनि महिलाले आफ्नो पतिबाहेक अरूसँग यौनसम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिने उल्लेख छ । अखन्दजादाले लोकतन्त्रलाई चुनौती दिँदै इस्लामिक कानुन सरियालाई कडाइका साथ लागू गर्न आदेश दिँदै भनेका छन् , “ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौँ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ । दोषी महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा र ढुङ्गाले हिर्काइनेछ ।”

अफगानिस्तान कब्जा गरेपछि तालिबानले देशमा सरिया कानुन लागु गर्ने घोषणा गरेको थियो । यो कानुन कठोर र पुरातनवादी छ । वास्तवमा सरिया इस्लाममा विश्वास गर्ने मानिसहरूको लागि कानुनी प्रणाली जस्तै हो । केही अतिवादी इस्लामिक देशहरूमा यसको प्रयोग गरिएको छ । तर पाकिस्तानलगायत अधिकांश इस्लामिक देशहरूमा यसलाई पूर्ण रूपमा लागू गरिएको छैन ।

सरियाले परिवार, वित्त र व्यवसायसँग सम्बन्धित कानुनहरू समावेश गर्दछ । रक्सी पिउनु, लागुपदार्थको प्रयोग वा बेचबिखन सरिया कानुनअन्तर्गत प्रमुख अपराधहरूमध्ये एक हो । यही कारणले गर्दा यस्ता अपराधका लागि कडा सजायको व्यवस्था छ ।
२० वर्षसम्म लडेको अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएसँगै २०२१ को अगस्ट १५ मा अफगानिस्तान पुनः कब्जा गरेको तालिबानले महिला र सञ्चारमाध्यमको अधिकारलाई सरिया कानुनको दायराभित्र राख्ने बताएको थियो ।

सीमावर्ती पाकिस्तानमा महिलाले पढ्न पाउनुपर्ने अभियानमा सव्रिmय भएकै बेला १५ वर्षको उमेरमा तालिबानको गोलीबाट घाइते बनेकी नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले तालिबानले गर्ने सरिया कानुनको व्याख्या देशमा महिला र किशोरीको सुरक्षाको लागि घातक हुने चेतावनी दिएकी थिइन् ।

“मैले अफगानिस्तानका महिला अधिकारकर्मीसहित केही अभियन्तासँग कुरा गर्ने अवसर मिलेको थियो । उनीहरूले आफ्नो आगामी जीवन के हुने हो भन्दै चिन्ता गरेका थिए,” उनले भनिन् । तीमध्ये धेरैले सन् १९९६ देखि २००१ बिचको तालिबान शासनको अवधिमा के भयो भन्ने सम्झिएका छन् । उनीहरू आफ्नो सुरक्षा, अधिकार, संरक्षण पाउने कुरा र विद्यालय जान पाउने कुरामा धेरै नै चिन्तित छन् ।

व्यभिचारी र हत्यारालाई सार्वजनिक स्थलमै फाँसी दिने तालिबान सरिया कानुनको उग्र व्याख्या गर्ने समूहका रूपमा परिचित छ । सरिया एउटा इस्लामिक कानुनी प्रणाली हो । इस्लामिक धर्मग्रन्थ कुरानसहित सुन्नाह र हदितबाट प्रवर्तित यो कानुन इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको व्यवहार र वचनहरूमा आधारित भएको दाबी गरिएको छ ।

यदि कुनै प्रश्नको उल्लिखित व्याख्याहरूबाट समाधान नभेटिए धार्मिक विद्वान्हरूले त्यस्ता प्रश्नबारे फतवा भनिने आदेश वा निर्देशन दिन सक्छन् ।

सरिया कानुनले सबै मुस्लिम धर्मावलम्बीहरूले गर्ने प्रार्थना, व्रत र गरिबहरूलाई दान दिनुपर्नेलगायत जीवनमा पालना गर्नुपर्ने नियमहरूको समेत काम गर्छ । यसले कसरी हरेक मुस्लिमहरूले आफ्नो जीवनको प्रत्येक क्षेत्रलाई अल्लाहको इच्छा बमोजिम अघि बढाउनुपर्छ भन्ने बुझ्न सघाउने उद्देश्य लिएको हुन्छ ।

सरियाले कसुरलाई दुई वर्गमा छुट्टाएको छ । पहिलो ‘हद’ कसुर जुन गम्भीर अपराधसँग सम्बन्धित छ । यसमा दिइने सजायहरू पहिल्यै तोकिएअनुसार हुन्छन् । कसुरदारको हात काटेर सजाय दिइने चोरी र थप कठोर सजाय हुनसक्ने व्यभिचार लगायतका कसुरहरू यस अन्तर्गत पर्छन् ।

हद कसुरमा सजाय दिइनुअघि कसुरबारे धेरै उच्च तहका प्रमाणहरू सुनिश्चित गरिएको हुनुपर्ने मान्यता छ । केही मुस्लिम देशहरूले हद कसुरमा यस्ता सजायहरू लागु गरेर अभ्यासमा समेत ल्याएका छन् ।

दोस्रो ‘तजिर’ अपराध हो । यसमा दिइने दण्ड न्यायाधीशको विवेकमा भर पर्छ । मुस्लिमहरूबीच नै यस्ता कठोर सजायबारे मत बाझिएको पाइएको छ । अरू कानुनी प्रणालीजस्तै सरिया पनि एउटा जटिल कानुनी अभ्यास हो । अनि यो पूरै विशेषज्ञहरूको तालिम र क्षमतामा निर्भर रहन्छ ।

यो प्रणालीमा इस्लामिक न्यायाधीशहरूले फतवा र आदेशहरू जारी गर्छन् । फतवा भनेको एउटा औपचारिक कानुनी आदेश हो ।
सरिया कानुनका पाँच फरक सिद्धान्त छन् । सुन्नी मुस्लिमले मान्ने चार मान्यता हनबली, मलिकी, सफी र हनफी हुन् भने एउटा सिया मान्यता जाफरी हो । पाँचै मान्यता सरिया कानुनको उत्पत्तिसँग जोडेर कुन हदसम्म दुरुस्तै व्याख्या गरिएको छ शब्दमा उतारिएको छ भन्ने आधारमा अलगअलग छन् ।

लोकतन्त्रविरोधी तालिबानको अतिवादले अफगानिस्तानमा लोकतन्त्र नहुँदा अहिले सबै क्षेत्र अस्तव्यस्त छ । तालिबान कट्टरपन्थी इस्लामिक समूह हो । यसले लोकतन्त्र मान्दैन । सरियाजस्तो कठोर कानुन लादेर आतङ्कित सत्ता चलाउन चाहन्छ । २० वर्षअघि त्यही ग¥यो । अहिले पनि तालिबान लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्ने पक्षमा देखिएन । सन् २००४ मा बनाइएको लोकतान्त्रिक संविधान विस्थापित गरेर सरिया कानुन लागु गरेको छ ।

२० वर्षसम्म अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेना र अफगान सेनासँग युद्ध गरेको तालिबानले राजधानी काबुल सन् २०२१ को अगस्त १५ मा कब्जामा लियो । देशको अधिकांश भूभाग कब्जामा लिएर तालिबान विद्रोहीले काबुल घेराबन्दी गरेपछि थप रक्तपात नहोस् भनी राष्ट्रपति असरफ घानीलगायतका उच्चअधिकारी सत्ता त्यागी विदेशतिर भागे । तालिबानले सत्ता कब्जाको गरेको यो चार वर्षको अबधिमा एकपछि अर्को कदम चाल्दै कठोर शासन चलाइरहेको छ । अहिले तालिबानलाई चुनौती दिने अर्को शक्ति नहुँदा अफगानिस्तानमा निरङ्कुश अतिवादी सत्ताले जनजीवन अस्तव्यस्त बनाएको छ । महिला र बालिका सबैभन्दा बढी प्रताडित भएका छन् ।

तालिबान शब्द पास्तु भाषाबाट बनेको हो । जसको अर्थ हुन्छ, विद्यार्थी । हिंसात्मक आन्दोलन सुरु गर्नुअघि उनीहरु धार्मिक विद्यार्थीका रुपमा विभिन्न समारोहमा सहभागी हुन्थे । सुन्नी मुस्लिमका धार्मिक मान्यता पढाउन साउदी अरेबियाले प्रायोजन गरेका कार्यव्रmममा उनीहरु सहभागी हुन्थे । तर पछि उनीहरु हिंसात्मक गतिविधि गर्ने समूहमा परिणत भए । सन् १९८९ मा सोभियत सङ्घले आफ्नो सेना फिर्ता गरेपछि तालिवानले फैलने मौका पायो ।

सन् १९९४ मा औपचारिक रुपमा मुल्लाह मोहमद ओमरले तालिबान समूहको स्थापना गरे । ओमरको सन् २०१३ मा मृत्यु भयो । ओमरपछि आएका मुल्लाह अख्तर मन्सुर पनि सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिए । मन्सुर मारिएपछि अहिले मुल्लाह हिबतुल्लाह अखुन्जदा तालिवानको सर्वोच्च नेता छन् ।


क्याटेगोरी : बिबिध, बिशेष, विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x